यो वर्ष पनि जंगी अड्डाले फोटो प्रतियोगिता आयोजना गर्ने
नेपाली सेनाले ‘नेपाली सेना फोटो प्रतियोगिता–२०७९’ को आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई फोटोको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताएको छ ।
गत वर्षझैं यो वर्षको प्रतियोगितामा पनि गैरसैनिक व्यक्तिहरुसमेत सहभागी हुनसक्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सहभागीहरुले आवश्यक विवरण आगामी मंसिर १४ गतेभित्र सेनाको वेबपेजमा अपलोड गर्नुपर्नेछ ।
प्रतियोगितामा २०७८ देखि हालसम्म खिचिएका तस्बिरहरुलाई मात्र समावेश गरिने निर्देशनालयले स्पष्ट पारेको छ । प्रथम, द्वितीय, तृतीय हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः नगद ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने जानकारी पनि दिइएको छ ।
सैनिकतर्फका सात र गैरसैनिक दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई पुरस्कारस्वरुप १० हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको पनि निर्देशनालयले जनाएको छ ।
टिप्पणीहरू