किसान श्रेष्ठविरुद्ध उठेका बागी उम्मेदवारमाथि काँग्रेसको कारबाही

किसान श्रेष्ठविरुद्ध उठेका बागी उम्मेदवारमाथि काँग्रेसको कारबाही

नेपाली काँग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेलाई कारबाही गरेको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उठेको आरोपमा उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ ।

बागी उम्मेदवार वाग्लेलाई काँग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी अभिलेखबाट हटाइएको जानकारी दिइएको छ । उनका प्रस्तावक, समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीसमेत अभिलेखबाट हटाइएको समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।

सो क्षेत्रमा प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) उम्मेदवार छन् । काँग्रेसले एकीकृत समाजवादीलाई सो क्षेत्र छाडेको भन्दै रुष्ट भएका वाग्लेले गठबन्धन उम्मेदवारविरुद्ध बागी दिएका हुन् । सोही कारण काँग्रेसको अनुशासन समितिले आज उनलाई कारबाही गरेको हो ।

टिप्पणीहरू