रोहिङ्गा शरणार्थीका कारण गोदावरी नगरपालिकामा भाँडभैलो

रोहिङ्गा शरणार्थीका कारण गोदावरी नगरपालिकामा भाँडभैलो

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ वडाध्यक्षले बैठक नै नबोलाई रोहिङ्गा शरणार्थीबारे आफुखुशी निर्णय गरेपछि वडा सदस्यहरु भड्किएका छन् । वडाध्यक्षले सामूहिक निर्णयबिना उनीहरुलाई अस्थायी बसोबासको निम्ति सिफारिस दिएपछि वडा सदस्यहरु उनको विरुद्धमा उभिएका हुन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा सदस्यहरुले वडाध्यक्ष सानुराजा घिमिरेको स्वेच्छाचारी निर्णयप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

वडा सदस्य सन्तोष कुँवर, संगिता तामाङ, दिपक लामा र सबिना नेपालीले संयुक्त विज्ञप्ति जारी गर्दै वडाध्यक्षले स्वेच्छाचारी ढंगबाट राष्ट्र र राष्ट्रियतामाथि आघात पार्ने निर्णय गरेको आरोप लगाएका हुन् ।विज्ञप्तिमा भनिएको छ,‘लोकतान्त्रिक प्रणालीको अवलम्बन गर्दै यसै क्षेत्रको जनताको अत्याधिक मत लिएर निर्वाचित भएका वडा सदस्यहरुको कुनै बैठक नराखी वडाध्यक्षले स्वेच्छाचारी ढंगबाट राष्ट्र र राष्ट्रियतामाथि नै आघात पार्नेजस्ता निर्णयप्रति हामी वडा सदस्यहरुको घोर आपत्ति छ ।’

वडाध्यक्षको एकल निर्णयमा आफूहरुको कुनै सहमति र संलग्नता भएको उनीहरुले स्पष्ट पारेका छन् । चारै जनाले वडा र राष्ट्रको अहित हुने निर्णयमा सदैव प्रतिकार जनाउने प्रतिबद्धता जनाएका छन् । वडाध्यक्षको निर्णयप्रति असन्तुष्ट टोलीले स्वेच्छाचारी निर्णयप्रति गोदावारी नगरपालिकाकोसमेत ध्यानाकर्षण गराएका छन् ।

वडाध्यक्ष घिमिरेले गत असोज २६ गते रोहिङ्गा शरणार्थीका परिवारलाई अस्थायी टहरामा बसोबासका लागि सिफारिस गरिदिएका हुन् । स्थानीय पुरुषोत्तमबहादुर सिलवालको १० रोपनी र मणिकुमार सिलवालको चार रोपनी जग्गा भाडामा लिई अस्थायी टहरा बनाएर बस्न रोहिङ्गा शरणार्थीहरुको परिवारलाई सिफारिस दिएपछि वडा कार्यालयमा भाँडभैलो मच्चिएको हो ।

‘माथि उल्लेखित जग्गाहरुमा रोहिङ्गा शरणार्थीहरुको परिवारहरु असोज ७ गतेबाट अस्थायी टहरा बनाई अस्थायी रुपमा बस्दै आएको व्यहोरा सिफारिससाथ अनुरोध गरिन्छ’, अध्यक्षको पत्रमा भनिएको छ ।

वडाध्यक्षले उनीहरुको हातमा पत्र थमाइदिएपछि वडा सदस्यहरुले विरोध जनाएका हुन् । घिमिरे नेकपा माओवादी केन्द्रका हुन् भने चारै जना सदस्य नेकपा एमालेबाट विजयी भएका हुन् ।

रोहिङ्गा शरणार्थीहरु यसअघि काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको कपन एरियामा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएका थिए । तुलनात्मक रुपमा गोदावरी नगरपालिकामा सस्तो दरमा भाडामा जग्गा प्राप्त भएपछि उनीहरु त्यता सरेको बताइन्छ ।

टिप्पणीहरू