नेताको फोटो बेचेर जितिन्छ र निर्वाचन ?

नेताको फोटो बेचेर जितिन्छ र निर्वाचन ?

राजनीति परिणामयुक्त भएन भने त्यसले जनतामा वितृष्णा जन्माउँछ भन्ने कुरालाई पटक–पटकका घटनाक्रमले पुष्टि गर्दै आएको छ । चाहे पञ्चायतकालमा नानीमैयाँ दाहाल र गोल्चे सार्कीलाई अनुमोदन गरेर होस् या अहिले काठमाडौं महानगरमा बालेन्द्र साहजस्ता निर्दलीय मेयर चुनेर नै किन नहोस्– यी घटनाक्रमको स्रोत राजनीतिक व्यवस्था वा प्रणालीलाई सही ढंगले परिचालन गर्न नसक्ने अहिले खुल्ला या त्यतिबेला प्रतिबन्धित दलहरु नै हुन् ।

यति हुँदा पनि नेपालको राजनीतिमा व्यक्तिपूजक संस्कृतिले बढावा पाइरहेको छ । जनताका आवश्यकता, चाहना र मुलुकका प्राथमिकतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने दलहरु नेताका फोटो र मूर्ति देखाउँदै आफ्नो प्रचार गर्न मग्न भएका कारण उही मम र उही चाउचाउको स्वाद चाख्न विवश जनता झनै दिक्दार छन् । ०५१ को सरकारबाट लोकप्रियता हासिल गरेपछि एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले बालबालिकासँग खिचेका फोटो राखेर प्रचार गरियो । बृद्धभत्ता दिने प्रधानमन्त्री र उनको पार्टी भनेर एमालेले मनमोहनको फोटो प्रशस्तै खपत ग¥यो । यो स्वाभाविक पनि थियो । यसर्थ कि, परिणाममूलक कामको अगुवाई गर्ने प्रधानमन्त्रीको पार्टीले फेरि पनि त्यस्तै काम गर्छ भनेर जनसमक्ष सन्देश प्रवाहित गर्ने माध्यम थियो त्यो ।

नेपाली कांग्रेसले बीपीको, माओवादीले माक्र्स, लेनिन, माओको फोटोसँगै प्रचण्डको पनि फोटो राख्ने गर्दछ । तर, आजको एमालेले माक्र्स, लेनिन, मनमोहन, मदन र पुष्पलालजस्ता सिद्धान्त, इतिहास र आदर्शको विरासत बोकेका व्यक्तित्वलाई ओझेलमा पार्ने काम झन् झन् गरिरहेको छ । र, केपी ओलीको व्यक्तिगत ब्राण्डिङ हुँदैछ । दलको प्रवद्र्धन दलीय आधारमा, विचारक र सिद्धान्तकारका आदर्शमा आधारित भएर गर्नुपर्ने हो । तर, एमालेको नाम, झण्डा, त्यसको इतिहासका पात्र र आदर्शलाई समेत बिर्साउने गरी ओलीभक्ति यति चरम चुलीमा पुगेको छ कि देख्नेहरु दिक्क भइसके । यसरी शुभचिन्तकहरु नै दिक्दार छन् भने विरोधी वा विरोधका बहानाबाजी खोज्नेहरु त झनै उत्तेजित हुने नै भए । जसरी अहिले पुराना नेता, विचार र कार्यशैलीविरुद्ध ‘नो नट अगेन’ अभियान शुरु गरिएको छ, त्यसलाई बल पुग्ने तहको व्यक्तिवाद एमालेमा देखिन्छ ।

विश्वशान्तिका अग्रदूत गौतम बुद्धले पनि ‘मलाई पूजा नगर, मेरो मूर्ति नबनाऊ’ भनेका थिए । तर, संसारमा सबभन्दा बढी बिक्री हुनेमध्येको मूर्ति उनैको हो । जिसस क्राइस्ट, पैगम्बर मुहम्मदजस्ता धार्मिक प्रतीकहरु त्यसरी नै मूर्तिकृत छन् । त्यसो त धर्मान्धहरु मूर्ति र चित्रमा विश्वास गर्छन् । उनीहरुमा वैज्ञानिक तथ्य र निश्कर्षले हैन, ‘प्रभु वा भगवानले भन्नुभएको’ भन्ने कुराले बढी अर्थ राख्छ । भौतिकवादी दर्शनमा आधारित माक्र्सवादका अनुयायी भनिने कम्युनिष्टहरुले विज्ञानमा विश्वास गर्नुपर्ने हो तर पछिल्लो शैलीले भन्दैछ, नेपालका कम्युनिष्टहरु व्यक्तिपूजक संस्कृतिमा तल्लिन छन् । उनीहरुलाई समाजवाद, साम्यवादको व्यावहारिक संसारभन्दा राम, सीता, अयोध्याको धार्मिक भावना भजाएर जसरी पनि चुनाव जित्नु छ ।

जसरी बजार अर्थतन्त्रमा उपभोक्ताकेन्द्रित संस्कृति विकास गरिन्छ, त्यसका निम्ति उत्पादनभन्दा त्यसको बजारीकरण (मार्केटिङ) लाई बढी महŒव दिने गरिन्छ, अहिलेको राजनीति त्यस्तै छ । अझ नेपालको सन्दर्भमा काम गर्नेभन्दा अनुहार बेच्ने होडबाजी छ । अनुहार पनि आफ्नै बेच्ने † आफ्नो अनुहारसँग जनमानस कसरी परिचित छ वा कस्तो प्रभाव छ भन्ने कुराको ख्यालै नगर्ने र अनुहार बेचिरहने प्रवृत्ति प्रत्युत्पादक बन्छ भन्ने कुरालाई राजनीतिक वृत्तमा ख्याल गरिएको छैन । अहिले जनताले विकास र समृद्धि चाहेको समय हो । जनताले विकासका गफ सुन्न हैन, काम गरेको हेर्न चाहेका छन् । तर, देखाइँदैछ, नेताका फोटो । यसले नेपालको राजनीतिक क्षितिजमा नयाँखाले, शालीन विद्रोहको वीजारोपण गर्दैन भन्न सकिन्न । मंसिर ४ मा जनताले गर्ने मतदानमा देखिएला, आजका जनता के चाहन्छन् । जनताको मनोभावना बुझेर दलहरु हिँड्न सकेनन् भने परिणाम अपेक्षा गरिएजस्तो नहुन पनि सक्छ । फोटो बेचेर मात्रै चुनाव जितिन्न भन्ने कुराको सानो झाँकी वैशाख ३० कै स्थानीय निर्वाचनले पनि देखाइसकेको हैन र !

– विश्वमणि सुवेदी

टिप्पणीहरू