चीनले दिएको सुविधा उपभोग गर्न उपराष्ट्रपतिको सुझाव
उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले नेपाललगायत अतिकम विकसित मुलुकलाई दिएको शून्य भन्सार नीतिको उपभोग गर्न नेपाली व्यापारी तथा व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । राजधानीमा आयोजित नेपाल चीन उद्योग वाणिज्य संघको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
चीनले यो महिनादेखि नेपालसहित अतिकम विकसित मुलुकबाट निर्यात हुने ९० किसिमका वस्तुको भन्सार शुल्क शून्य बनाएको छ । चीनको उक्त नीति हाम्रा लागि राम्रो अवसर रहेको जनाउँदै उपराष्ट्रपति पुनले भन्नुभयो, ‘नेपालको मुख्य व्यापार छिमेकी मुलुक चीन र भारतसँग छ । निकट भविष्यमा विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु हाम्रा लागि ठूलो अवसर पनि हो ।’
गुणस्तरीय वस्तुको उत्पादन, उत्पादित वस्तुको प्रवद्र्धन, आर्थिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय बजारमा निर्यात जस्ता कार्यबाट हामीले हाम्रो निर्यात व्यापार वृद्धि गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो । त्यसमा कृषिजन्य उत्पादन, जडीबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने उपराष्ट्रपतिको भनाइ छ ।
कार्यक्रमलाई नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर र काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छेनले पनि सम्बोधन गर्नुभएको थियो । नेपाल–चीन यातायात तथा कार्गो ढुवानीमा विशेष भूमिका निर्वाह गरेकाले हिमालय एयरलाइन्स र सिल्क ट्रान्सपोर्टलाई सम्मान गरिएको बताइएको छ ।
टिप्पणीहरू