डलर अर्बपतिको चुनावी प्रचार गरेका चलचित्र बोर्डका अध्यक्षलाई स्पष्टीकरण, हदैसम्मको कारवाहीको पत्र

डलर अर्बपतिको चुनावी प्रचार गरेका चलचित्र बोर्डका अध्यक्षलाई स्पष्टीकरण, हदैसम्मको कारवाहीको पत्र

डलर अर्बपति तथा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा तपाईं सहभागी भएकोबारे प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ,’ उनलाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ ।

केसी अस्ति दिउँसो नवलपरासीमा आयोजित चौधरीको आमसभामा सहभागी भएर सम्बोध गरेका थिए । आयोगले सोधेको स्पष्टीकरणमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ र ऐ. दफाको खण्ड (ख) मा ‘राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने’ व्यवस्था जनाउँदै केसीलाई पत्र लेखिएको हो । उल्लेखित कानूनी व्यवस्था रहेको सम्बन्धमा कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने भएकोले स्पष्टीकरण पेश गर्न उनलाई हिजो पत्र बुझाइएको छ ।

यसका साथै आयोगले चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होइन भन्ने आधार प्रमाण के छ ? भन्दै प्रश्नसमेत गरेको छ ।

सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनुभएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारवाही किन हुनु नपर्ने हो ?

तपाईं सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रुपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गर्नुभएको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारवाही समेत हुनसक्ने भएकाले तपाईं उपर उक्त कारवाही किन हुनु नपर्ने हो ?’

टिप्पणीहरू