अनेरास्ववियूले तेर्सायो नौ बुँदे माग, चुनावको मुखमा आन्दोलनको चेतावनी
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले १६ महिनाअघि लिइएको स्नातक तह प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशन गर्न सात दिनको अल्टिमेटम दिएको छ ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले परीक्षाको नतिजा हालसम्म प्रकाशन नहुनुको कारण र सत्यतथ्य बाहिर ल्याई सात दिनभित्र नतिजा सार्वजनिक गर्न भनेको हो ।
स्नातक तेस्रो वर्ष र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाफल प्रकाशनमा भएको ढिलासुस्तीको अन्त्य गर्न, बिए एलएलबीको ट्रान्सक्रिप्ट तत्काल उपलब्ध गराउन पनि अनेरास्ववियूले जोडदार माग गरेको छ ।
परीक्षा प्रणाली निकै पुरानो र प्रविधिमैत्री नभएको उल्लेख गर्दै अनेरास्ववियूले प्रणाली विकासका लागि विज्ञसहितको कार्यदल बनाएर अघि बढ्न सुझावसमेत दिएको छ ।
केन्द्रीकृत संरचनाले विद्यार्थीलाई सेवासुविधा लिन झण्झटिलो भएको अनेरास्ववियूको ठम्याइ छ । साथै, सम्बन्धित शैक्षिक संस्थाहरुले नै ट्रान्सक्रिप्टको व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
परीक्षा फाराम र ट्रान्सक्रिप्ट ट्रान्सफरजस्ता सेवाहरु अनलाइनबाट आवेदन भर्ने प्रबन्ध मिलाउनुपर्ने, प्रत्येक शैक्षिक वर्ष वा सेमेस्टरमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने, परीक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित गर्नुपर्ने, एलएलबिको तेस्रो वर्षको नतिजा तत्काल प्रकाशित गर्नुपर्नेलगायतका माग राखिएको छ ।
एक हप्ताभित्र माग पूरा नभएमा विश्वविद्यालय र परीक्षा नियन्त्रक कार्यालयका सम्पूर्ण पदाधिकारी असक्षम भएको घोषणा गरी सशक्त आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
टिप्पणीहरू