भीमकाय बर्दिवालले भ्याए भसक्कै
नीति छ सलक्क परेको ज्यानको । तर, बालुवाटारको आदेश छ, ‘झ्याम्म खान्की, टम्म भुँडी’ भएकाहरूको उद्दार गर्नु । अवसरको न्यायोचित वितरण होस् भन्नका लागि सशस्त्र प्रहरीका आइजी राजु अर्यालले कमाण्डरका रूपमा मौका पाउनेहरूको सूची नै तयार पारेका छन् । अल्छी हुने कारण भ्यात्त भुँडी हल्लाउनेहरूलाई कमाण्ड नदिने नीति भर्खर बनेको छ ।
तर, ‘कताको नीति–कताको सितिमिति ?’ भनेजस्तो बालुवाटारबाट आदेश गएपछि भिजेको बिरालोजस्तो लुसुक्क मान्नुपर्ने बाध्यता छ । दार्चुला राशन काण्डमा आफूले बदमासी गरी सहायक हवल्दारलाई जेल हाल्ने एसपी त्रिभुवन बिष्टलाई कारबाही गर्नुको सट्टा भानु देउवाको जोडबलमा फेरि त्यहीँ पठाउने प्रयास सफल नभएपछि कैलालीको टीकापुरस्थित शिक्षालयको समादेशक बनाएर गुपचुपमै पठाइएको छ ।
ज्यानमात्रै हैन, ध्यान पनि भद्दा भएका त्रिभुवनले तालिम केन्द्रमा बसेर सशस्त्रका कर्मचारीलाई कस्तो ज्ञान र नैतिक प्रवचन देलान् ? कौतुहलको विषय बनेको छ । त्यहाँ कहिलेकाँही तालिमेसँगै दौडिनुपर्छ, तर भ्यात्त भुँडी फुलेका उनी दौडिएर कहाँ पुग्लान् ?
अर्का मोटाघाटा इन्स्पेक्टर पश्चिम नवलपरासीस्थित भुजहवा बिओपीमा कमाण्डर भएर पुगेका छन् । प्रधानमन्त्री हुनुअघिदेखि नै शेरबहादुर देउवाको सुरक्षार्थ खटिएका इन्स्पेक्टर रामहरि श्रेष्ठको ज्यानले सशस्त्रको बिएमआई नीतिलाई उल्लंघन गर्छ । तर, बालुवाटारको आदेश आइदिएपछि सिंगो संगठन नै निरीह बनेको छ, आफ्नो नीतिको आफैँले बर्खिलाप गर्नुपरेर ।
असई हत्या प्रकरणमा त्यति धेरै दोषी नभएर पनि सप्तरीका एसपी प्रदीप खड्का कारवाहीमा पर्ने भएका छन् । तर, दार्चुला राशन काण्डमा हवल्दारलाई थुनाएर आफू मुक्त भएका एसपी त्रिभुवनलाई छानीछानी–रोजीरोजी मालदार ठाउँमा पठाइन्छ । महंगो राशनमा ढलिमली गर्न पाइने लोभमा उनले फेरि दार्चुला जान चाहेका थिए । आदेश पनि गराए । तर, आइजीले मानेनन् ।
तर, अर्को आदेशानुसार टीकापुर पठाइएका छन् । त्यहाँ छुट्टीमा पठाइने तालिमेका राशन कमाण्डेन्टले खाने चलनै छ । उनी दार्चुला जान नसकेपछि सिसं ३ का डिएसपी डम्बर बिष्टले पहिलोपटक कमाण्ड गर्ने अवसर पाएका छन् ।
उनी जानुअघि टीकापुर शिक्षालयमा कमाण्डेन्ट (समादेशक) सुशील सुवेदी थिए । केही दिनमा अवकाश पाउने अवस्थाका उनले त्यहीँबाट घर जान चाहेकोमा पछि हल्ला हुन्छ र त्रिभुवनले जान नपाउलान् भनेर हत्तपत्त हेडक्वार्टर तानेर बिष्टलाई पठाइएको छ । टीकापुर काण्डमा रक्तपात मच्चिँदा नोपल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलाई मृत्युको मुखमा छाडेर भागेका तत्कालिन एसपी र अहिलेका डिआइजी लक्ष्मणसिंह बागमती प्रदेशको प्रमुख छन् ।
टिप्पणीहरू