गृहमन्त्रीकाे जिल्लामा खुलेआम तस्करी (फोटो फिचर)

गृहमन्त्रीकाे जिल्लामा खुलेआम तस्करी (फोटो फिचर)

मुलुकभर निर्वाचनको माहौल बढेको छ । सुरक्षाकर्मीहरू पनि निर्वाचन केन्द्रित बनेका छन् । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । अधिकांश गृहमन्त्रीको सेवामा लागेको मौकामा सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको बताइन्छ ।

यतिखेर भारतीय बजारबाट लुकिछिपी मल ल्याइएको छ । यसको फाइदा तस्करहरूले उठाइरहेका छन् । उनीहरूले खुलेआम मोटरसाइकलले थेग्न नसक्ने गरी सुरक्षाकर्मीकै अघिल्तिरबाट तस्करी गरिरहेको देखिन्छ ।

गृहमन्त्री बालकृष्ण खाँण पछिल्लो समय गृह जिल्लामा हुनुहुन्छ । उहाँ निर्वाचन प्रचार प्रसारमा खट्नुभएको छ । यहि मौकामा मर्चवारस्थित कदमहवा नाकाबाट ट्याकटरमै तस्करी हुने गरेको छ । चिनीको मुख्य तस्करी नाकाको रूपमा परिचय बनाएको मर्चवारकै दुर्गौलियामा सीमा टाँसिएर रहेका घरहरूमा चिनीको गोदाम छ । पारिबाट ल्याएर गोदाममा राख्ने र आवश्यकतानुसार भैरहवा, बेथरी, अमवा, मणिग्राम बुटवलसम्म मोटरसाइकलमा लोड गरी दैनिक रूपमा लैजाने गरिएको बताइन्छ ।

त्रिलोकपुर नाकाबाट मोटरसाइकलमै अवैध माछा भित्र्याइएको छ । चिनी, माछा, कपडा मात्रै होइन पछिल्लो समय दैनिक उपभोग्य वस्तु, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रिकलगायत सामान दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई, सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनियालगायतका नाकाबाट तस्करी हुने गरेको स्थानीय बताउँछन् । उनीहरुले पिकअप, ट्याक्टर, मोटरसाइकल र साइकल ठाउँअनुसार तस्करहरूले प्रयोग गर्ने गरेका छन् ।

केही महिनाअघि यही नाकाबाट भारतीय एसएसबी र कस्टमको संयुक्त टिमले तीन वटा कपडासहितको पिकअप नियन्त्रणमा लिएको थियो । मंगलबार भैरहवा भन्सार कार्यालयमा दुई करोड बढीको सामान नियन्त्रणमा लिइएको थियो । बरामद वस्तुमा सुर्ती, कपडा, जुत्ता र गुटखा उद्योगका कच्चा पदार्थ र प्याकिङका सामान धेरै छन् ।

रुपन्देहीको पश्चिम क्षेत्रमा पनि तस्करी मौलाएको खबर छ । सीमा क्षेत्र नजिक रहेका गल्ला भण्डारहरूले धान, गहुँ र चामल अवैध रुपमा ल्याएर वैध बनाउने गरेका हुन्् । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन भन्दै खुला रूपमा विभिन्न सहरमा पठाउने गरिएको छ ।

बेथरी, पिपरहिया, मैनहिया, बगहा, दुर्गौलिया, मर्यादपुर, मेउडिहवालगायतका चौकीको अगाडिबाटै तस्करीका सामान निर्धक्क साथ आउने गरेको तल्ला तहका सुरक्षाकर्मीहरुको भनाइ छ । खुला सीमाबाट जे जस्तो अवस्थामा ल्याए पनि ती सामान प्रहरी पोष्टकै अगाडिबाट जाँदासमेत प्रहरीले वास्ता नगर्नु मिलेमतोमा तस्करी भइरहेको आशंका गरिएको हो ।

यता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा क्षेत्रमै तस्करी नियन्त्रण गर्ने रणनीति बनाएको बताएका छन् । रुपन्देहीमा प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षकको कमान्डामा १३ वटा इलाका प्रहरी कार्यालय, सई र असईको कमाण्डमा ४६ वटा प्रहरी चौकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको कमान्डमा जिल्लामा कुल ७८ वटा प्रहरी युनिट छन् । ठाउँठाउँमा अस्थायी चेकपोस्ट र मोबाइल टोली, तस्करी नियन्त्रण गर्न, अनुसन्धान र सूचनाहरू लिन जिल्लाले सादा पोसाकका प्रहरी पनि खटिने गरेका छन् । तर, तस्करी खुलमखुल्ला भइरहेको छ ।

सीमा सुरक्षा र तस्करी नियन्त्रण भन्दै जिल्लाको सुरक्षाका लागि सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वार्टर पनि रुपन्देहीमा छ । सीमाको सुरक्षा तथा अन्य गरेर अहिले जिल्लामा सशस्त्र प्रहरी बलको १५ वटा युनिट छन् । एउटा गण, छ वटा बोर्डर आउट पोष्ट र गुल्म, सुरक्षा बेस, जिल्ला कमाण्ड पोष्ट सुख्खा बन्दरगाह र आईसीपी क्याम्प नौडिहवालगायत स्थानमा सशस्त्र प्रहरीकै युनिट राखिएको छ । भारतसँग ५९ दशमलव ७ किमी लामो सिमानासहित समग्र जिल्लाको सुरक्षा तिनै सुरक्षा निकायले गर्दै आएका छन् । तर पनि तस्करी रोकिएको छैन, झन् बढ्दो छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्वाचनलाई लक्षित गर्दै तीन हजार ९५ म्यादी प्रहरी, १७ सय ३५ नेपाल प्रहरी, आठ सय ८८ सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको २८ र नेपाली सेनाको आवश्यकताअनुसार परिचालन गरिएको बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा एक करोड ७५ हजार ५ सय २१ रुपैयाँ बराबरको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपायलगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालयमा पठाइएको छ । पाँच लाख ४९ हजार ४११ रुपैयाँ बराबरको सुन बरामद गरी भन्सार पठाएको दाबी गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरले पनि साउनदेखि हालसम्म दुई करोड दुई लाख ४४ हजार ८३४ रुपैयाँ बराबरको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालयमा बुझाएको बताएको छ ।

टिप्पणीहरू