समाज परिवर्तनका वाहक गुरु फाल्गुनन्द
-लेखनाथ सिकारु
आज किराँत धर्मगुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती । १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक लिङदेनको १३८ औं जन्मजयन्ती धुमधामका साथ विभिन्न कार्यक्रम गरेर मनाइयो । यस अवसरमा उनको कर्मभूमि पाँचथरसहित देशका विभिन्न भागमा थुप्रै कार्यक्रमको आयोजना गरिएका छन् ।
वि.सं. १९४२ कात्तिक २५ गते इलामको साविक इभाङ–५ चुक्चिनाम्बा (हाल माङसेवुङ–२) मा बुबा जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनको साँहिला छोराका रुपमा उनको जन्म भयो । उनको न्वारनको नाम नरध्वज लिङदेन हो । जन्मिनुभन्दा अगाडि धेरै सन्तानको मृत्यु भएकाले उनका बाबुआमाले फलामको चुरा लगाइदिएका थिए ।
जसले गर्दा उनको नाम ‘फलामंसि’ रहन गयो । १६ वर्षको उमेरमा बृटिश सैन्यमा भर्ना भएका उनले युद्धमा भएको काटमार र मानव हत्या र हिंसा देख्न सकेनन् । मानव–मानवबीचको लडाईंबाट विश्वमा शान्ति नफैलने भन्दै उनी फर्किएर नेपाल आए ।
उनी पहिलेदेखि नै पाँचथरको फिदिम नगरपालिका–३, चोकमागुलगायतका क्षेत्रमा लिम्बू समुदायमा भएको धर्मसंस्कार र संस्कृतिमा देखापरेका विकृति विसङ्गतिलाई सुधार गर्नुपर्ने भन्दै सचेतना जगाउने काममा लागेका थिए ।
उनले लोप हुने अवस्थामा रहेको लिम्बूहरूको सिरिजंगा लिपीको खोजी गरी संरक्षण सम्वद्र्धनका साथै लिम्बूहरूको जन्म, विवाह, मृत्यु संस्कारलाई समयानुकूल परिवर्तनका कामहरु गरेको पाइन्छ ।
आठ वर्षकै उमेरबाट नै उनले हत्याहिंसा गर्न नहुने, झुठो बोल्न नहुने, नारीहरू सृष्टिकर्ता भएकाले उनीहरुलाई समाजमा उच्च सम्मान दिनुपर्ने, आफ्ना कुल देवतालाई चोखो भई बिहानबेलुकी पूजा आरधना गर्नुपर्ने, मासु तथा मदिरापान गर्न नहुनेलगायतका कुराहरु सुनाउँथे ।
साथै, देवीदेवतालाई मासु र मदिरा चढाउन नहुनेजस्ता कुराहरु अभियानकै रुपमा सञ्चालन नै गरेका थिए । त्यतिखेर धर्मसंस्कार र संस्कृतिका रुपमा देखिएका विसङ्गति र कुरीतिहरुलाई संशोधन गरी राम्रा रीतिरिवाजको संरक्षण र खराब कुराहरुलाई सच्याउनुपर्नेमा उनको निरन्तर जोड थियो ।
वि.संं. १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बूवान १७ थुमका सामाजिक व्यक्तित्वको भेला गराएर पाँचथरको फिदिमस्थित लब्रेकुटीमा धर्मसंस्कार र संस्कृतिमा देखापरेका विकृति र कुसंस्कारविरुद्ध १० बुँदे सत्यधर्म मुचुल्का तयार गरी प्रचारप्रसारका साथ लागू गरेका थिए ।
ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिमशृङ्खलालाई किराँतीहरुको पवित्र धार्मिकस्थल तथा तीर्थस्थलको रुपमा विकास गरेका हुन् । सोहीअनुरूप अहिलेसमेत किराँतीहरुले कुम्भकर्ण हिमाललाई पवित्रस्थलको रुपमा आरधना गर्ने गरेका छन् ।
उनले त्यतिखेर पनि आन्तरिक तथा वाह्य पर्यटनलाई बढावा दिने प्रयास गरेको पाइन्छ । किराँती मौलिक धर्म र संस्कृतिको प्रचारप्रसार गर्दै भारत, भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तत्कालीन अवस्थामा देशद्रोहीको आरोपसमेत खेप्नुपरेको थियो ।
वि.सं. २००५ मा पाँचथरको इम्बुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका–२) हाङयकमा उनको मृत्यु भयो । किराँत धर्मसंस्कार र संस्कृति मान्दै समाज सुधारको उनको अभियानलाई संघ संस्थाले कार्तिक २५ गते यो जन्मजयन्ती मनाउँदै आएका हुन् ।
समाज सुधारको महान कार्यको सम्मान गर्दै नेपाल सरकारले २०६६ साल मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । उनको समाज रुपान्तरणको अभियानलाई पनि उत्तिकै महत्व दिइएको छ । सरकारले उनको स्मरणमा २०५० सालमा १५ रुपैयाँको हुलाक टिकट प्रकाशनमा ल्याएको थियो ।
यस्तै, उनको सम्मानमा पाँचथर जिल्लामा एउटा गाउँपालिकाको नाम फाल्गुनन्द गाउँपालिका राखिएको छ । दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि सरकारले फाल्गुनन्द राजमार्ग घोषणा गरेको छ ।
समाजको आर्थिक, सामाजिक, संस्कृति सुधारमा लागेका फाल्गुनन्दले पापले मान्छे सकिन्छ भन्दै आएका थिए । बोलेन भने झगडा हुँदैन्, हजारौं तारा भएर के हुन्छ, एउटा जुनले काम चल्छ, खराब धेरै छोरा भएर के हुन्छ, एउटा असल सन्तानले घर सुहाउँछलगायत उपयोगी र समयसापेक्ष उपदेशहरु उनले दिएका छन् ।
आफ्नो मौलिकतालाई बिर्सेर पथ भ्रष्ट हुनुहुन्न भन्ने उनको मान्यता थियो । आफ्नो गच्छेअनुसार संस्कार र संस्कृति मनाउनुपर्ने, मदिरा सेवन गर्नु नहुने, नैवेद्य तथा फलफूल चढाएर पूजाआजा गर्नुपर्नेलगायत समाज सुधारका नीति आज पनि विश्वसामु अनुकरणीय छ ।
राष्ट्रिय विभूति किराँत धर्मका पथ प्रदर्शक अहिंसाका पूजारी मानव कल्याण र विश्व शान्तिका पक्षधर तथा दार्शनिक फाल्गुनन्दको कर्मभूमि तथा तपोभूमि पाँचथरको लब्रेकुटीमा समाधिस्थल छ । यसलाई किराँत धर्मका अनुयायीहरुले पवित्रभूमिको रुपमा लिने गरेका छन् ।
सरकारले राजा जनक, सीता, गौतम बुद्ध, अंशु वर्मा, राम शाह, पृथ्वीनारायण शाह, भीमसेन थापा, अमरसिंह थापा, बलभद्र कुंवर, भक्ति थापा, त्रिभुवन, कलाकार अरनिको, युवाकवि मोतिराम भट्ट, आदिकवि भानुभक्त आचार्य, समाज सुधारक शंखधर साख्वा, महिला पर्वतारोही पासाङ ल्यामु शेर्पापछि समाज सुधारक महागुरु फाल्गुनन्दलाई १६ औं राष्ट्रिय विभूतिको रुपमा घोषणा गरिएको हो ।
पर्वकै रुपमा फाल्गुनन्द जयन्ती मनाइँदै
किराँत धर्मावलम्बीहरुले महागुरु फाल्गुनन्दको जन्म भएको दिनलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । फाल्गुनन्दको १३८ औँ जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लासहित काठमाण्डौँ र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन् ।
फाल्गुनन्दका प्रमुख कार्यहरु
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भए पनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले उनीप्रति समान श्रद्धा र आस्था राख्छन् । उनले तयार पारेको सत्यधर्म मुचुल्का तत्कालिन अवस्थामा सबैभन्दा महत्वको विषय हो ।
लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारहरुलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बूवान क्षेत्रका शासक, विद्वान र धार्मिक÷सामाजिक अगुवाहरुलाई वि.सं. १९८८ बैशाख १० गते पाँचथरको फिदिममा भेला गराई फाल्गुनन्दको अगुवाईमा सत्यधर्म मुचुल्का खडा भएको थियो ।
त्यस्तै, सत्यधर्म मुचुल्कामा छोरीचेलीको विवाह गर्दा सोत–रीत (पैसा) लिन नहुने, भगवानको पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मादक पदार्थ र मासुको सेवन कम गर्दै लैजाने, मृत्युसंस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक÷साँस्कृतिक पक्षहरु समेटिएका छन् ।
मुचुल्का र समाज सुधार
सत्यधर्म मुचुल्का निर्माण भएको दिन वैशाख १० गतेलाई समाज सुधार दिवसको रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारस्पारिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवा बताउँछन् ।
यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडापछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोत–रीत लिने चलन अन्त्य हुँदै गएको पाइन्छ । लैङ्गिक विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नुपर्ने विषयलाई मुचुल्काले जोड दिएको पाइन्छ ।
मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानको रुपमा व्याख्या गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिबारे पनि मुचुल्कामा उल्लेख गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि यसको सान्दर्भिकता झनै बढेको हो ।
टिप्पणीहरू