यस्तो छ, मतदान अधिकृतलाई निर्वाचन आयोगले दिएको कोड
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने मतदान अधिकृतलाई सूचना र जानकारी सम्प्रेषण तत्काल गराउन निर्वाचन आयोगले विभिन्न कोड दिएको छ । निर्वाचनका क्रममा हुने विभिन्न क्रियाकलापबारे जानकारी दिन आयोगले मतदान अधिकृतलाई सांकेतिक कोड उपलब्ध गराएको हो ।
मुलुकभरका सबै मतदान अधिकृतले विभिन्न कोड प्रयोग गरेर अनिवार्य रुपमा निर्वाचनसम्बन्धी विवरण आयोगले दिएको ११०२ नम्बरमा मेसेज पठाउनुपर्ने छ ।
मतदान अधिकृतले २०१ कोड प्रयोग गरेर आफू मतदान स्थल र केन्द्रमा पुगेको जानकारी आयोगलाई दिनेछन् । यस्तै, मतदान केन्द्र निर्माण गर्ने कार्य सम्पन्न गरेको कोड नम्बर २०३, मतदान कार्य शुरु भएको २०४, मतदान कार्यको प्रगति २२२, मतदान सम्पन्न भएको २९९ र मतदान केन्द्रको जीपीएस लोकेसनको विवरण ३३३ नम्बर कोड लेखेर पठाउन आयोगले निर्देशन दिएको छ ।
आयोगले निर्वाचन क्रियाकलापको कैफियतसमेत उल्लेख गर्नुपर्ने बताएको छ । कुनै मतदान केन्द्रमा अवरुद्ध, पुनःसूचारु, स्थगित र असामान्य घटना सम्बन्धी विवरण पठाउन पनि मतदान अधिकृतलाई आयोगले छुट्टै कोड नम्बर दिएको बताइएको छ ।
टेलिफोन नम्बर प्रयोग गरेवापत लाग्ने शुल्कको लागि आयोगले उनीहरुलाई छुट्टै रकम उपलब्ध गराएको छ ।
टिप्पणीहरू