पुल्पुलिएको पुरुषको जात, प्रिय पत्नीमाथि घात

पुल्पुलिएको पुरुषको जात, प्रिय पत्नीमाथि घात

सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा सम्पन्न क्रान्तिबाट नवजनवादी गणतन्त्रमा परिणत हुनुअघिसम्म अधिकांश चिनियाँ भूमि कोमिन्ताङको अधीनमा थियो भने सन् १९४१ मा कोमिन्ताङका सुप्रिम कमाण्डर च्याङ काइसेकका पुत्र च्याङ चिङकुओ दक्षिण जिया¨सीमा थिए । घरमा रुसी पत्नी फैना भाखरेभा उर्फ चियाङ फाङलियाङ उनको प्रतिक्षामा दिनरात सासू र सानो छोराको सेवा गर्दै बसिरहेकी थिइन् । त्योबेला चिङकुओको उमेर ३१ र फाङलियाङ २६ की थिइन् । दक्षिण जिया¨सीको प्रिफेक्चर स्तरको नगर (प्रान्तअन्तर्गत काउन्टीभन्दा ठूलो शहर) गान्झाउ पिछडिएको क्षेत्र र त्यहाँका जनता गरिब थिए । च्याङले छोरोलाई त्यस क्षेत्रमा प्रशासन चलाउन कमिसार नियुक्त गरेर पठाएका थिए । चिङकुओले पत्नी फैनालाई पनि त्यहीँ बोलाए । फैना ६ वर्षको छोरा चियाङ सियाओ वेन र ३ वर्षकी छोरी चियाङ सियाओ चाङकोलाई लिएर गान्झाउ पुगिन् । उनी लोग्नेसित बस्न पाएर खुशी भइन् । लोग्नेको काममा सघाउन थालिन् । खासगरी महिला र बालबालिकासम्बन्धी काममा चिङकुओको ठूलो सहयोगी बनिन् ।

कमिसार भएर गइसकेपछि चिङकुओले जुवा, धूमपान र वेश्यावृत्तिमा पूर्णतः प्रतिबन्ध लगाइदिए । सरकारी स्कुललाई व्यवस्थित पारे र आर्थिक गतिविधिमा तीव्रता ल्याइदिए । वेश्यावृत्तिमा लागेकाहरूलाई कारखानामा जागिर लगाइदिए । शिक्षा, स्वास्थ्य, बालबालिका र खेलकुदको क्षेत्रमा ठूलो सुधार गरे । तर, यसका साथै गान्झाउको रंगीन जीवनबाट पनि अछुतो रहन सकेनन् । चिङकुओको कार्यालयमा सहयोगी थिइन्– चाङ याचुओ । चिङकुओले चाङलाई पहिलोपल्ट जापानविरोधी युवाहरूको प्रतिरक्षक दल बनाउन सञ्चालित एउटा तालिममा देखेका थिए । तिक्ष्ण बुद्धि, सुन्दरता र नरम व्यवहारबाट प्रभावित भएपछि उनले चाङलाई आफ्नो कार्यालयमा सहयोगी बनाएका थिए ।

चाङ विवाहिता थिइन् । उनको बिहे १३ वर्षकै कलिलो उमेरमा सन् १९२६ मा ताङ गिङगाङसित भएको थियो । चिङकुओ फैनालाई औधी माया गर्थे, फैना पनि जसरी हुन्छ लोग्नेलाई प्रसन्न पार्न दिनरात मिहिनेत गर्थिन् । उनले आफ्नो विगतलाई र रुसी संस्कारलाई तिलाञ्जली दिएर औकातले भ्याउञ्जेल शुद्ध चिनियाँँ नारी बन्न कुनै कसर छाडिनन् । तर, लोग्ने–स्वास्नीबीच जतिसुकै मायाप्रेम भए पनि पुरुषको मन न हो, अन्त्यमा चिङकुओले सहायिका चाङसँग लहसिन धेरै समय लगाएनन् । चिङकुओ र चाङबीचको सम्बन्ध एक जना हाकिम र एउटी सहायिकाबीचको सम्बन्धभन्दा धेरै पर पुगेको सबैले महसुस गर्न थालिसकेका थिए, फैनाबाहेक । उनी भने निर्धक्कसित आफ्नो लोग्नेलाई काममा सहज होस् भनेर हरेक काममा सघाउँदै थिइन् । लोग्नेप्रति उनको अपार विश्वास थियो । त्यही विश्वासको भरमा देश छाडेर लोग्नेसँगै चीन पुगेकी थिइन् । हरेक क्षण रुसमा चिङकुओसित बिताएका प्रेमिल–क्षण सम्झी बस्थिन् । स्थिति यहाँसम्म पुग्यो कि चिङकुओले चाङलाई घरमै भिœयाए, शिक्षिकाको रूपमा । चाङले फैनालाई चिनियाँँ भाषा सिकाउँथिन् । यथार्थमा फैनाले थाहा नपाउने गरी घरमै चिंकुुओ र चाङले शारीरिक सम्बन्ध स्थापना गर्थे ।

सोझी फैनालाई लाग्यो सासू, ससुरालाई नदेखेको धेरै भयो । त्यसैले उनले चोङछिङ जाने इच्छा व्यक्त गरिन् । चिङकुओले नाइँनास्ती गरेनन् बरू आफू पनि सँगै हिँड्न तयार भए । उनीहरू चोङछिङ पुगे । पछिल्लो भेटमा च्याङ काइसेक फैनालाई देखेर अत्यन्त प्रभावित बने । उनलाई बुहारी कुनै कोणबाट पनि विदेशी लागेन । प्रष्ट चिनियाँँ, त्यो पनि सिकोउको गाउँले भाषा बोल्ने, चिनियाँँ परिकार बनाएर ख्वाउने भइसकेकी थिइन् । चिङकुओकी सौतेनी आमा सुङ मेइलिङले समेत त्योबेलासम्ममा बनाउन नजानेको गाउँले खाना, जुन च्याङ काइसेकलाई औधी मन पथ्र्याे, बनाएर ख्वाएपछि त च्याङले बुहारीप्रति गर्व नै गरे । शुद्ध चिनियाँ गृहिणी बन्न सफल भएकोमा फैनालाई धन्यवादका साथै आशीर्वाद दिए । फैनाले चोङछिङमा बसुञ्जेल पनि साहै्र मिहिनेत गरिन् । सासू–ससुरालाई नकारात्मक टिप्पणी गर्ने मौका नै दिइनन् । उता, फैनालाई चोङछिङमा छाडेर चिङकुओ कार्यक्षेत्रमा फर्किसकेका थिए । फैनाको अनुपस्थिति उनको र चाङकोनिम्ति स्वर्णावसर सावित भयो । पत्नीप्रति विश्वासघात गर्दै चाङसँग रंगरंगेलिया मनाउन थाले ।

सम्बन्धले एकदिन नतिजा दियो, चाङ गर्भवती बनिन् । चाङ गर्भवती बनेकोमा खुशी थिइन् । चिङकुओको धर्मपत्नी बनेर सदाका लागि उक्त घरमा राज गर्न पाउने सपना देख्न थालिन् । तर, चिङकुओ बच्चा चाहँदैनथे । उनी दुःखी बनेको देखेर चाङ दिनहुँजस्तो रुने, कराउने र आफू परिवारको सदस्य बन्न नपाउने भए बेकारमा अमूल्य समय खेर फाल्नुको अर्थ भन्दै गुनासो गर्न थालिन् । एकदिन पानी परिरहेका बेला चाङ पानीमा रुझ्दै नासपातीको रुखलाई अँगालो हालेर रोइरहेको चिङकुओले देखे । उनलाई साह्रै माया लाग्यो । आफूलाई मरिमेटेर माया गर्ने, सोभियतसंघमा रहँदा कठिन समयमा साथ दिएर नयाँ जीवन दिने पत्नी फैनाको योगदानलाई चटक्कै बिर्से । र, चाङलाई इज्जत दिन हान्निएर चोङछिङ पुगे । बुबा च्याङसमक्ष उभिएर फैनासितको सम्बन्ध अन्त्य गरी चाङसित बिहे गर्ने निर्णय सुनाए । उता, चाङ अब भने साँच्चै श्रीमती चिङकुओ बन्न पाइने भयो भनेर प्रसन्न थिइन् । उनी बेलाबेलामा फुल्दै गैरहेको पेट सुम्सुम्याएर बस्ने गरिन् । तर परिस्थिति सोचेअनुरूप भएन । च्याङ छोराको कुरो सुनेर आगो बने । छोरा र चाङ दुबैलाई तथानाम गाली गरे । यो कुरोले बाबु छोराबीचको सम्बन्धमा फाटो आयो । अन्त्यमा चिङकुओले फैनासितको सम्बन्धलाई पनि यथावत रहन दिने र चाङलाई गुइलिन पठाएर बच्चा जन्माउने प्रस्ताव राखे । यो समय किन हो, च्याङले छोराको यो कुरोमा सहमति जनाए । स्थिति बिकराल बनिसकेपछि बल्ल फैनाले लोग्नेले आफूलाई छाड्न चाहेको र नयाँ प्रेमिकाबाट बच्चा जन्माउन गैरहेको थाहा पाइन् । अर्की एउटी युवतीको लागि लोग्नेले आफूलाई छाड्न गैरहेको खबरले स्तब्ध बनिन् । रोइन् ।

सन् १९४२ को मार्च १ मा गुइलिनको अस्पतालमा चाङले जुम्ल्याहा छोरालाई जन्म दिइन् । आफूलाई सार्वजनिक तवरमै श्रीमती चिङकुओ भनेर चिनाउँदै हिँड्न थालिन् । चिङकुओ पनि जुम्ल्याहा छोरालाई पाएर प्रसन्न बने । उनले फेरि फैनासितको सम्बन्धलाई बिच्छेद गरी चाङलाई बाबुसँग भेटाउन चोङछिङ लाने निर्णय गरे । तर यसैबीच चाङको अकस्मात निधन भयो । धेरैले चाङलाई च्याङको आदेशमा घातक सुइ दिएर मार्न लगाइएको अड्कल काटे । मृत्युको समय चाङको उमेर २९ थियो, पहिलाको लोग्नेको तर्फबाट पनि २ छोरा थिए । चिङकुओ पनि अचानक भएको चाङको निधनले स्तब्ध बने । उनलाई आफ्नै बाबुमाथि शंका थियो, तर बाबुसित भिड्ने सामथ्र्य थिएन । त्यसैले रिसलाई पिएर चुपचाप बसे । चाङको मृत्युपछि जुम्ल्याहा छोराहरू मामा माइजूको घरमा हुर्के । पछि चिङकुओ घर त फर्कन थाले तर, कहिलेकाहीँ मात्र । अक्सर काममै व्यस्त । प्रियसीको आकस्मिक निधनको शोकले एकान्त प्रिय बने । यसबीच फैनाले सन् १९४५ मा तेश्रो सन्तानको रूपमा दोश्रो छोरो जन्माइन् । सम्पूर्ण ध्यान छोराको स्याहारसुसारमा लगाइन् । चिङकुओ पहिलाको चिङकुओ बन्दै बनेनन् । फुर्सदिलो समयमा बरु एक्लै गीत गाएर बस्थे तर सुत्केरी पत्नी र छोराछोरीको हेरचाहमा ध्यान दिनै छाडे । अब भने फैनाले पनि चिङकुओप्रति कुनै आशा गरिनन् । कहाँ जान्छन्, के गर्छन् वास्ता गर्न छाडिन् । सन् १९४८ मा फैना फेरि अर्को एक छोराको आमा बनिन् ।

यसैबीच, सन् १९४९ को अक्टोबरमा माओको नेतृत्वमा चीन नवजनवादी गणतन्त्र बनेपछि र डिसेम्बरमा छन्तुमाथि आक्रमण गरेपछि कोमिन्ताङको सरकार गि¥यो । च्याङ काइसेक, चिङकुओसहित परिवारजन ताइवानतर्फ भागे र त्यहीँ नयाँ सरकार बनाए । फैनासित ताइवानमा लोग्नेकै घरमा बस्नुको विकल्प रहेन । च्याङ परिवारजनसित भने उनको हेलमेल थियो । उनी परिवारको सदस्यहरूसँगै खेल्थिन्, सपिङमा जान्थिन् । चिङकुओको फुर्सदिलो समय नासपातीको बगँैचामा बित्थ्यो । ताइवानमा उनको जीवनशैली राजकुमारको जस्तो थियो । निकै युवती उनको अगाडि–पछाडि झुम्मिन्थे । मौकाको फाइदा उठाएर फेरि एकपटक फैनालाई डिभोर्स दिई पुनर्विवाह गर्ने प्रस्ताव राखे तर यो पटक पनि उनको प्रस्ताव राष्ट्रपति च्याङ र उनकी चौथी पत्नीले मान्न अस्वीकार गरे । त्यसपछि भने उनले यो प्रसंग उठाउनै छाडे । उता सम्बन्धविच्छेद गर्ने र नयाँ प्रेमिकासँग बिहे गर्ने लोग्नेको अडानले फैनाको मन फेरि छियाछिया भयो । लोग्नेले आफूलाई किन हेलाँ गर्न थालेको भनेर कहिल्यै थाहा पाइनन् । बोलचालै हुन छाड्यो, कहिलेकाहीँ मात्रै सँगै भोजन हुन्थ्यो । उनी प्रायः मौन बस्न थालिन्, बाहिर जनतासित पनि बोल्न अनिच्छुक बन्दै गइन् । बरु कहिलेकाहीँ गल्फ र मात्ज्या¨ खेल्थिन् ।

च्याङ काइसेकको निधन लगातार २५ वर्ष ताइवानको राष्ट्रपति बनेपछि सन् १९७५ मा भयो । उनीपछि कोमिन्ताङका अर्का नेता येन चियाकान र उनको कार्यकाल सकिएपछि सन् १९७८ मा च्याङ चिङकुओ राष्ट्रपति बने । उनी यसअघि प्रधानमन्त्री थिए । लोग्ने राष्ट्रपति बनेपछि फैनाले प्रथम श्रीमतीको भूमिका निभाइन् । यद्यपि, कहिल्यै राजनीतिक गतिविधिमा संलग्न भइनन् । शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा मात्र संलग्न भइन् । राष्ट्रपति चिङकुओले ‘मेरो जनताले प्रथम श्रीमती खेल्दी रहिछन् भनेर मेरो खिल्ली न उडाउन्’ भनेपछि लोग्नेको खुशीको निम्ति पनि त्यो खेल्न छाडिन् । फैनाले चिङकुओसित ५२ वर्ष लामो जीवन बिताइन् । यसबीच मात्र ३ पटक देशबाहिर गइन् । फैनाको निष्क्रिय जीवनशैली विस्तारै जनताको सरोकारको विषय बन्यो । धेरैले सोधे तर जवाफ नदिई बस्थिन् । एकदिन भने गज्जब भयो । उनी नांगै घरको कम्पाउण्डभित्र दौडिइन् । यो देखेर चिङकुओलाई फैना बिरामी छिन् भन्ने लाग्यो । उनको मनमा तैपनि प्रेम पलाएन । चिकित्सकले द्विध्रुवीय बिकारले सताएको रिपोर्ट दिए । उपचारपछि बिस्तारै स्वास्थ्यमा सुधार भयो । यसबीच सन् १९८८ मा चिङकुओको निधन भयो । फैनाको मन फेरि एकपटक घाइते भयो, यद्यपि लोग्ने पछिल्लो समय उनको अगाडि आउनसम्म पनि छोडिसकेका थिए । तर उनी धुरुधुरु रोइन् । सन् २००४ मा निधन हुँदा उनी ८८ वर्षकी थिइन् । मर्नुअघि सोधेकी थिइन् ‘म मेरो लोग्नेको चिहानसँगै निदाउन सक्छु ?’

टिप्पणीहरू