नमुना मतदानमा औंठा छाप मतपत्र भेटियो
खोटाङमा गरिएको नमुना मतदानमा स्वस्तिक चिन्हको ठाउँमा औंठा छाप लगाइएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा नमुना मतदानको आयोजना गर्दा औंठा छाप भेटिएको बताइएको छ । १० स्थानीय तहमध्ये आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ को माटिकोरे खेलमैदानमा नवौं नमुना मतदान गरिएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउने र मतलाई बदर हुनबाट जोगाउने योजनाअन्तर्गत निर्वाचन कार्यालयले कात्तिक २० गतेदेखि स्थानीय तहका केन्द्रमा नमूना मतदान सञ्चालन गर्दै आएको छ ।
मतदातालाई सु–सूचित गर्ने, मतदाता शिक्षा विस्तार गर्ने, मतदानका क्रममा आइपर्ने समस्या तथा चुनौतीको उचित विधिबाट हल गर्ने अभ्यासका रुपमा नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । हालसम्म बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा नमुना मतदान भइसकेको छ । बाँकी रहेको हलेसी तुवाचुङ नगरपालिकामा पर्सि नमुना मतदान गराइने जिल्ला गौतमले बताए ।
जिल्ला निर्वाचन कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकामार्फत् मतदाता शिक्षा सञ्चालन गराएको हो । तर, नमुना मतदानका क्रममा देखिएको बदर मतको ठूलो संख्याले मतदाता शिक्षाको आवश्यकता देखिएको बताइन्छ । नमुना मतदान कै क्रममा एकभन्दा बढी चुनाव चिन्हमा मत संकेत गर्ने, दुई वा दुईभन्दा बढी चुनाव चिन्हको बीचमा मत संकेत गर्ने, औंठा छाप लगाउने, चुनाव चिन्हको घेराभन्दा बाहिर मत संकेत गर्ने गरेको पाइएको गौतमको भनाइ छ ।
‘सदरमुकाम क्षेत्रमा भन्दा टाढाका गाउँमा मत बदर बढी देखियो । तर, मतदान गर्न सिक्नुपर्छ भनेर चासो राख्ने धेरै पाइएका छ,’ गौतमले भने, ‘स्थानीय तहमा सात वटा चुनाव चिन्हमा मत संकेत गर्ने व्यवस्था थियो, त्यही सम्झिएर हुनसक्छ अहिले पनि बढी चिन्हमा मत संकेत गरेका छन् ।’
टिप्पणीहरू