बागलुङमा चुनाव बहिष्कार सभाबाट मशाल कार्यकर्ता समातिए
आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गरेका नेपाल कम्युनिष्ट पार्टी (मशाल) का १३ नेता कार्यकर्तालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । आज कुश्मिसेरा बजारमा नेकपा (मशाल) ले आयोजना गरेको चुनाव बहिष्कार सम्बन्धी कोणसभाबाट पार्टी पोलिटब्युरो सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङका एसपी दयानिधी ज्ञवालीका अनुसार कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका नेता–कार्यकर्ताको साथबाट निर्वाचन विरोधी पर्चा बरामद भएको उनले बताए ।
पक्राउ परेकामा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष देवबहादुर लामिछाने, केन्द्रीय सदस्य ४६ सूर्यबहादुर थापा, जैमिनी नगर सदस्य वर्षीय रमाकान्त शर्मा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दलबहादुर विक छन् ।
नेकपा (मशाल) का कास्की जिल्ला प्रवक्ता विक्रम थापा, बागलुङ जिल्ला सदस्य दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष खगेश्वर शर्मा, समर्थक लालबहादुर नेपाली, सागर कुँवर, आकाश गौतम, पहाड विष्ट र पार्टी केन्द्रीय प्रतिनिधि नारायण सापकोटा पक्राउ परेका छन् । उनीहरूलाई कुश्मिसेरा प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू