गण्डकीका आर्थिक मामिलामन्त्री कालोसूचीमा
कास्की निर्वाचन क्षेत्र नम्बर ३ का सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका माओवादी केन्द्रका रामजीप्रसाद बरालविरुद्ध उजुरी परेको छ । पोखरा महानगरपालिका–२४ का बोधराज सुवेदीले उनको उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उजुरी दिएका हुन् ।
उनको नाम कालोसूचीमा रहेकाले निर्वाचनमा उम्मेदवार बन्न योग्य नभएकाले उम्मेदवारी रद्द हुनपर्ने उजुरीमा उल्लेख छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एने २०७४ को दफा १३ को खण्ड (ज) मा कानूनबमोजिम कालोसूचीमा रहेको व्यक्तिलाई सो अवधिभर निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै सुवेदीले निर्वाचन कसुर तथा सजाय अनुसार उनलाई कारबाही गरिनुपर्ने माग गरेका हुन् ।
प्रदेशका आर्थिक मामिलाको जिम्मेवारी लिएका मन्त्री बराल सरकारी कोषबाट प्राप्त ३८ लाख २४ हजार बढी कर्जा नतिर्दा कालोसूचीमा परेको बताइन्छ । उनलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ सालमा कालोसूचीमा राखेको जिकिर गरिएको छ ।
टिप्पणीहरू