अबुधाबीमा नेपाली कामदारको बिचल्ली, पीडितलाई सञ्चालकले उल्टै धम्काए

अबुधाबीमा नेपाली कामदारको बिचल्ली, पीडितलाई सञ्चालकले उल्टै धम्काए

काठमाडौंको बसुन्धारामा रहेको लिंक इन्टरनेशनल प्लेसमेण्ट कम्पनीले वैदेशिक रोजगारीमा पठाएका कामदारहरुको बिचल्ली भएको छ । बढी पारिश्रमिक पाउने आशमा मोटो रकम बुझाएर वैदेशिक रोजगारीमा गएका उनीहरु अप्ठेरोमा परेपछि यतिखेर ‘रुनु न हाँस्नु’ को अवस्थामा देखिन्छन् । 

चार महिनाअघि रोजगारीका लागि युनाइटेड अरब इमिरेट्सको आबुधाबी पुगेको टोलीको समस्या दिनहुँ जटिल बनेको छ । सेक्युरिटी गार्डका लागि गएका छ जनाको टोलीले हालसम्म पनि पारिश्रमिक पाएका छैनन् । फराह कन्ट्रर्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा कार्यरत उनीहरु बिहान–बेलुकी आधा पेट खाएर ड्युटीमा खटिएका छन् । 

नेपाल सरकारले खाडी मुलुक जाने कामदारका लागि निःशुल्क टिकट र भीसा भने पनि लिंकका सञ्चालक कमल काफ्लेले पीडित सुनिल गुरुङ्ग, आइतमान तामाङ, सुरज गुरुङ्ग, राम गुरुङ्ग, उद्धव माझी र हुमनाथ सापकोटाबाट जनही दुई लाख ६० हजार असुलेको उनीहरुको भनाइ छ । 

आफूहरु नियमित ड्युटीमा खटिँदा पनि पारिश्रमिक नपाएको कम्पनीका सञ्चालक काफ्लेलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको तीमध्येका एक जनाले बताए । सञ्चालक काफ्लेले ‘तिमीहरुलाई काम गर्न मन छ भने गर, नत्र भए राजीनामा दिएर फर्क । अन्त कतै गुनासो गरिएमा जे पनि हुन सक्छ’ भन्दै धम्काएको पीडित कामदारहरुको भनाइ छ । 

काफ्लेले कुराकानीको क्रममा आफूलाई नचिनेको भए राम्रोसँग चिन्न भन्दै डरत्रास देखाएको पीडितले सुनाए । आबुधाबी पुगेर ड्युटी गरेदेखिकै तोकिएको पारिश्रमिक नपाउँदा परेको समस्याबारे जानकारी गराउँदा उल्टो म्यानपावर कम्पनीले थर्काएपछि पीडितहरु निराश देखिन्छन् ।

म्यानपावरका एकाउन्टेण्ट प्रकाश पौडेलले एक हदसम्म सान्त्वना दिएको उनीहरुको भनाइ छ । पीडितहरुले आफ्नो पारिश्रमिक तुरुन्त दिलाइदिन आग्रह गर्दै आएका छन् । अन्यथा, उद्धार गरिदिन भनेका हुन् । पीडितहरुका अनुसार लामो समयदेखि उक्त कम्पनीमा पारिश्रमिक नपाएर समस्या झेल्ने थुप्रै कामदार अहिले आन्दोलनको तयारीमा देखिन्छन् । 

यता, लिंकको बदमासी दिनहुँ बढ्दै गएको छ । म्यानपावरका सञ्चालकको दम्भले सीमा नाघिसकेको छ । उनीमाथि युरोप पठाउने नाममा करोडौं ठगी गरेको आरोपसमेत यसअघि नै लागिसकेको छ । 

सञ्चालक काफ्ले नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हुन् । आफ्नै गृह जिल्लाको भएकाले काफ्लेले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको नाम लिएर सबैलाई धम्काउने गरेको समेत पाइएको छ ।

 

टिप्पणीहरू