न्यूयोर्कमा सुर सुधासंग मन्त्रमुग्ध दर्शक
नेपालको लोकप्रिय सांगीतिक समूह सुर सुधाले आफ्नो सुमधुर संगीतमार्फत न्यूयोर्कवासीलाई मन्त्रमुग्ध पारेको छ । न्यूयोर्क उडसाइडस्थित धर्म हाउसमा १२ नोभेम्बर शनिबार आयोजित गाला डिनरसहितको सांगीतिक कार्यक्रममा सुर सुधाले प्रस्तुत गरेको मौलिक गीत संगीतमा नेपालीमात्र होइन,अमेरिकी पनि रमाए ।
उक्त कार्यक्रममा सुर सुधाका संस्थापक सुरेन्द्र श्रेष्ठ (तबला),रमन महर्जन (बांसुरी), सरस्वती खत्री (गायन) र विकास सुनार (गीतार) ले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । आफ्नो प्रस्तुतिका क्रममा सुर सुधाका संस्थापक श्रेष्ठले आयोजकप्रति धन्यवाद दिंदै दर्शकको माया,ताली र प्रशंसा नै आफूहरुको सम्पत्ति रहेको बताए ।
उनले दर्शककै मायाका कारण ३० वर्षदेखि संगीत सृजना गर्ने अवसर प्राप्त भएको पनि उल्लेख गरे । उक्त कार्यक्रम बुद्ध ट्याक्स एण्ड अकाउण्टिङ,नमस्ते ग्रुप, रेभल इभेन्ट्स इंक र नवराज केसीको संयुक्त आयोजनामा भएको हो ।
कार्यक्रममा आयोजकका तर्फबाट पशुपति श्रेष्ठले सुर सुधाको सांगीतिक यात्राबारे बताए । त्यस्तै अन्य आयोजकहरु रेभल इभेन्ट्स इंककी इत्ना कार्कीले स्वागत र नवराज केसीले धन्यवाद मन्तव्य दिए । नेपाली अमेरिकन आर्टिष्ट एसोसिएसनको उपाध्यक्षसमेत रहेकी इत्नाले नेपाली कला संस्कृतिलाई विदेशमा समेत जगेर्ना गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको प्रष्ट्याइन् ।
नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले नेपाल कला, संस्कृतिको धनी देश भएको स्मरण गर्दै सुर सुधाको संगीत सुन्ने अवसर प्रदान गरेकामा आयोजकलाई धन्यवाद दिएका थिए । कार्यक्रममा न्यूयोर्क सिटी डेमोक्रेटिक नोमिनी स्टेभेन रेगासहित सयौं नेपाली तथा अमेरिकी सहभागी थिए । सो अवसरमा हांस्यकलाकार महादेव त्रिपाठीले पनि आफ्नो कलामार्फत दर्शक हंसाएका थिए ।
सुर सुधा समूह झण्डै तीन महिना लामो सांगीतिक टुरमा यतिखेर विभिन्न राज्यमा आफ्नो प्रस्तुति दिन व्यस्त छ ।
टिप्पणीहरू