सुदूर पश्चिममा कहाँको समाजवादी कहाँ पुग्यो

सुदूर पश्चिममा कहाँको समाजवादी कहाँ पुग्यो

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा राम्रो व्यवस्थापन मिलाउन नसकेको भन्दै पार्टीभित्रै खटपट देखिएको छ ।  अध्यक्ष नेपालले राम्रा व्यक्तिलाई टिकट नदिएको भन्दै नेता–कार्यकर्ता भड्किएका छन् । 

सुदूरपश्चिममा समाजवादीको १४ सीट भएपनि अध्यक्ष नेपालले जम्मा दुई सीट मात्र हात पार्न सके । समाजवादीका डडेल्धुरा अध्यक्ष डा. तारा जोशीलाई पनि टिकट दिलाउन नसकेपछि उनी स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएर जिते पनि । 

नेकपा एमालेले केन्द्रीय सचिव बनाउँछु भन्दै गर्दा उनी समाजवादी प्रवेश गरेका थिए । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समाजवादीले भाग नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा समाजवादीले प्रदेश सभा २  दाबी गरेको थियो । तर,सत्ता गठबन्धनबाट टिकट नपाएपछि डा. जोशीले प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । 

२०७४ सालको चुनावमा पनि उनी प्रदेश सभा उम्मेदवार हुँदा कांग्रेसका कर्णबहादुर मल्लले झिनो मतले हराएका थिए । यता,अर्का कडा प्रतिस्पर्धी भनिएका तारा लामा तामाङ्गलाई पनि चुनावकै मुखमा समाजवादीबाट निकालियो ।   

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका उनलाई बजेट ल्याउने बेलामा निश्कासन गरिएको थियो । एउटा पनि बजेट ल्याउन नपाइकन उनले पद गुमाउनुपर्यो । 

संसदीय चुनावमा पार्टीलाई पोस्न नसक्ने भएपछि उनलाई हटाइएको स्रोतको दाबी छ । समाजवादीका अर्का नेता दीर्घ सोडारी पैसा बटुल्ने मामिलामा सक्षम रहेको भन्दै तारालाई हटाइएको स्रोत बताउँछ । 

ताराको साटो प्रदेश सरकारका बहालवाला आर्थिक मामिलामन्त्री प्रकाश रावललाई टिकट दिइयो । उनी प्रदेशको सबैभन्दा ठूलो चाईनिज ईट्टा व्यापारी रहेको बताइएको छ । समाजवादी प्रवेश गर्नुअघि नेकपा एमालेबाट प्रदेशका उद्योग,पर्यटन तथा वातावरण राज्यमन्त्री थिए । 

भीम रावलले मन्त्री बनाएका झपट रावलमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले हटाउनुभन्दा अगाडि नै उनी बाहिरिइसकेका थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट निर्वाचित भइसकेका छन् । 

त्यस्तै,युवा संघ, बाजुराको केन्द्रीय अध्यक्षसमेत रहेका नरेश शाहीलाई टिकट नदिएको भनेर पार्टीभित्र असन्तुष्टि जनाउनेहरु पनि देखिएका छन् । त्यसपछि उनी गठबन्धनको विरोधमा चुनाव लड्न पुगेका हुन्  । 

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’ का उम्मेदवार अमर साउदले ४० लाख रुपैयाँ पार्टीलाई बुझाएर टिकट लिएको आरोप छ । व्यापारी पृष्ठभूमिबाट आएका विवादित साउदलाई टिकट दिनुहुन्न भनेर पार्टीभित्र आवाज उठ्दा पनि सुनुवाई नभएको स्रोतको दाबी छ ।

जनतासंग घुलमिल नै नभएको, कसैले चिन्दै नचिनेको व्यक्तिलाई टिकट दिएको समाजवादीका नेता- कार्यकर्ताहरुको आरोप छ । पार्टी अध्यक्ष नेपालले डडेल्धुरामा एउटा, कञ्चनपुरमा एउटा,कैलालीमा दुई र बाजुरामा एउटा गरेर प्रदेशभर पाँच वटा सीट आफ्नो भागमा पार्नुपर्थ्यो भन्ने समाजवादीहरुको भनाइ छ ।

टिप्पणीहरू