माओवादी केन्द्र उपत्यकाबाट ‘क्लिन स्वीप’

माओवादी केन्द्र उपत्यकाबाट ‘क्लिन स्वीप’

सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा काठमाडौं उपत्यकाका तीन वटै जिल्लबाट शून्य भएको छ । प्रतिनिधि सभामा काठमाडौं उपत्यकाबाट माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भइसकेका छन् । प्रदेश सभामा उम्मेदवारी दिएका सात जना पनि पराजित भएपछि माओवादी शून्यको अवस्थामा पुगेको हो । जबकि प्रतिनिधि सभा निर्वाचनमा छ जनाले उम्मेदवारी दिएका थिए ।

सत्ता गठबन्धनको सहयोगमा काठमाडौं क्षेत्र नम्बर २ बाट उठेकी माओवादी स्थायी समिति सदस्य तथा पूर्व सभामुख ओनसरी घर्ती राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमसँगको प्रतिस्पर्धामा फराकिलो मत अन्तरसहित हारेकी छन् । गौतमले १५ हजार २२९ मत ल्याउँदा घर्तीले ९ हजार ४४९ मत ल्याएर चौथो स्थानमा झरिन् ।

 
सत्ता गठबन्धनको सहयोगमा काठमाडौं ९ बाट उम्मेदवारी दिएकी पोलिटब्युरो सदस्य कल्पना धमला पनि एमालेका कृष्णगोपाल श्रेष्ठसँग पराजित भइन् । श्रेष्ठले ११ हजार ९५६ मत ल्याउँदा धमलाले ६ हजार ४०२ मत पाइन् । धमलाले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । 

यस्तै काठमाडौं १० मा माओवादीबाट एकल रुपमा चुनाव लडेकी अन्जना बिसंखे पनि काँग्रेसका राजेन्द्र केसीसँग पराजित भएकी छन् । नेपाली काँग्रेसका राजेन्द्र केसीले १४ हजार ४४८ मत ल्याएका छन् । बिसंखेले केवल ४ हजार २६० मत ल्याइन् । चुनावी प्रतिस्पर्धामा बिसंखे पाँचौँ स्थानमा पुगेकी छन् । 

यता काठमाडौं ७ बाट हँसिया हथौडा चिन्ह लिएर लडेकी नेपाल समाजवादीकी मानुषी यमी भट्टराई पनि पराजित भएकी छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । मानुषीले सत्ता गठबन्धनको सहयोगमा चुनाव लडेकी थिइन् । स्वतन्त्र पार्टीका पराजुलीले ८ हजार ७४३ मत ल्याउँदा मानुषीले ६ हजार ६३ मत मात्र पाइन् । सो क्षेत्रबाट पहिले उनकी आमा हिसिला यमीले जितेकी थिइन् ।

भक्तपुर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुनील गोठे पनि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालसँग पराजित भएका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा गोठेले ५ हजार १६५ को फराकिलो मतान्तरमा पराजय भोग्नुपर्यो । 

यता संघीय सरकारमा ऊर्जामन्त्री रहेकी पम्फा भुसालले ललितपुर ३ मा पराजय भोगेकी छन् । भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीसँग पराजित भइन् । कार्की ३१ हजार १३६ मत ल्याएर विजयी हुँदा भुसालले ८ हजार ७६९ मत ल्याएकी हुन् । उनले तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । भुषाल माओवादी केन्द्रकी उपमहासचिवसमेत हुन् । 

प्रदेशतर्फ काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश सभा ‘क’ मा माओवादीका रविन्द्रप्रसाद श्रेष्ठ काँग्रेसकी हरिप्रभा खड्गीसँग पराजित भए भने क्षेत्र नम्बर ६ को प्रदेश सभा ‘ख’ बाट उम्मेदवार बनेका माओवादीका प्रकाश फुयाँल एमालेका अमनकुमार मास्केसँग पछि परे । 

काठमाडौं ३ बाट प्रदेश सभा ‘क’ मा कपिलमुनि उप्रेती काँग्रेसका छिरिङ दोर्जेसँग पराजित भए । प्रदेश सभा ‘ख’बाट उम्मेदवारी दिएका महेश्वर फुयाल पनि काँग्रेसकै विमल ठकुरीसँग पराजित हुन पुगे । 

काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेश सभा ‘क’ मा दिलिप महर्जन काँग्रेसका पुकार महर्जनसँग पराजित भए । क्षेत्र नम्बर १० को प्रदेश सभा ‘ख’ मा उम्मेदवार रहेका माओवादीका गणेशबहादुर कुँवर नेकपा एकीकृत समाजवादीकी रमा आले मगरसँग पराजित भइन् ।
ललितपुर क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा माओवादीका हरि दाहालले उम्मेदवारी दिएका थिए । दाहाल पनि एमालेका मधुसूदन पौडेलसँग पराजित भएका छन् । ललितपुर क्षेत्र नम्बर ३ ‘क’ मा उम्मेदवार रहेका माओवादीका राजकाजी महर्जन एमालेका रघुनाथ महर्जनसँग पराजित भएका हुन् । 

सत्ता गठबन्धनमा माओवादीतर्फ काठमाडौं,ललितपुर र भक्तपुरबाट प्रतिनिधि सभामा छ जना र प्रदेश सभामा आठ जनाको उम्मेदवारी थियो ।

टिप्पणीहरू