जिबीको कम्पनीले फेरि पैसा उठाउँदै
बचतकर्ताहरूको करोडौं रुपैयाँ अपचलन गरेको पोखराको सूर्यदर्शन सहकारीले फेरि रकम उठाउन थालेको खबर बाहिरिएको छ । सहकारीमा लाखौँ रुपैयाँँ डुबाएर बिचल्लीमा पारेकालाई बचत रकम फिर्ता गर्ने भन्दै उठाउन थालिएको पीडितले गुनासो गरेका छन् । फसेको रकमको प्रतिशतको आधारमा रकम उठाइरहेको पाइएको छ । यसरी उठाएको रकमको बिल भने दिइएको छैन ।
जिबी राई, कुमार रम्तेल, महेन्द्र गुरुङ (भोटे) लगायतले सर्वसाधारणको १० औं करोड उठाएर अपचलन गरी भागेको अवस्थामा अदालतमा ठगी मुद्दा चलिरहेको बेला हाल आएर पीडितहरूको भेला बसी किरण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बनाइएको छ । त्यही समितिले यतिखेर पीडित बचतकर्ताहरूसँग रकम उठाइरहेको खुलेको हो । नयाँ गठित सञ्चालक समितिको लेखा समिति संयोजक बताउने राजेन्द्र पौडेलले रकम उठाउने कार्यको नेतृत्व लिएका छन् ।
पीडितहरूमाथि पीडा थप्ने गरी किन रकम उठाएको भन्ने हाम्रो जिज्ञासामा पौडेलले भने ‘ऋण उठाउन खर्च चाहिएकोले बचतकर्तासँग रकम मागिएको हो ।’ कार्यालयमा कर्मचारी राख्न र सफ्टवेयर किन्न रकम आवश्यक परेको पौडेलले थपे । बचतकर्ताको रकम डुबेको आधार मानी प्रतिशतको आधारमा रकम उठाइएको उनैले बताए । ८ लाख बचत डुबेको छ, कति रकम बुझाउनुपर्छ भन्ने हाम्रो जिज्ञासामा पौडेलले भने, ‘१५ सय ।’
यसरी रकम उठाएको बारे पोखरा महानगरपालिकाको सहकारी महाशाखा र सहकारी रजिस्ट्रार कार्यालयलाई कुनै जानकारी गराइएको छैन । पोखरा महानगरपालिका सहकारी महाशाखाका कर्मचारी राजु सुवेदी भन्छन्, ‘पीडितसँग पैसा उठाएको कुरा हामीलाई जानकारी छैन, उठाउन पाइँदैन । उठाएको हो भने त्यो गलत हो– हामी कार्यालयमा छलफल गरी नियमन गर्छौं ।’
सूर्यदर्शन सहकारीले यसरी पैसा उठाउँदा ७÷८ लाख बचत डुबेका पीडितलाई ५ लाख रुपैयाँँसम्म फिर्ता गराउने आश्वासन दिइएको छ । ऋण खाएका र अपचलन ठगी गरेकासँग पो रकम उठाएर पीडितको पैसा फिर्ता गर्नुपर्ने होइन र भन्ने हाम्रो जिज्ञासामा उक्त सहकारी लेखा समितिका सयोजक पौडेलले भने, ‘सरकारले बचत फिर्ता गर्न ७ अरब बजेट छुट्याएको छ ।’
– यदुनाथ बञ्जारा
टिप्पणीहरू