एकाइ कावागुची कसरी नेपाल आइपुगे ?
– नारायणबाबु थापा
साथीहरू म, एकाई कावागुची हुँ । सन् १८६६ मा जापानमा जन्मिएँ । १२३ वर्षअघि नेपाल टेकेको पहिलो जापानी । नेपालसँग गहिरो लगाव छ । त्यसैले कता कता धेरैको स्मृतिपटलबाट हराइसकेको म तिब्बतको यात्रा सुनाउन खोजिरहेको छु । नेपालसँग पछि पनि जोडिनेछु, अहिले यात्राकै कथाबाट थालनी गरेँ है ! बौद्ध धर्मप्रति लगावको कारण भिक्षु बनेँ, चिनियाँ बौद्ध धर्म अनि पाली भाषा अध्ययन गरेँ । सोहीअनुरूप यात्राको तयारी गरेँ । मेरा शुभचिन्तकले चिन्ता प्रकट गरे । इतो इचिरो जो मेरो जिन्दगीभरका साथी थिए, उनी बढी नै चिन्तित भए मेरो कुराले । धेरैले मलाई बिदाइ गरे ।
खै किन किन म कठिन भनिएको यात्राको लागि दृढ थिएँ । १८९७ को २६ जुनमा ओशाका छाडें, भोलिपल्ट मलाई लैजाने जहाज ‘इजुमी मारु’ तयार थियो । विस्तारै कोङ्गो, सिगी र इकोमा पहाडहरू मबाट टाढा हुँदै दृश्यपटबाट हराए । हंगकंगमा बेलायती थम्पसन भेटिए जो जापानमा १८ वर्ष बसेका रहेछन्, हाम्रो भाषामा पोख्त । १२ जुलाईका दिन सिंगापुरको फुसुकोवान होटलमा बसियो । त्यहाँ रहेका जापानी कन्सुलरले थाहा पाएछन् । तिब्बत कि त मगन्ते जोगी बनेर कि हतियार सहित मात्र जान सकिने बताए । म, जोगी नै बनेर जाने सुरमा थिएँ । २५ जुलाईमा भारतको कोलकाता उत्रिएर महावोधी सोसाइटीमा बसें । चन्द्र बोसले तिब्बत घुमेर आएका राय सरतचन्द्र दास (राय उनको उपाधि) छन्, दार्जिलिङ बस्छन् भनेर चिठी लेखिदिए । रेलको बाटो सिलिगुडी हुँदै पुन हिमाली छुक्छुके रेल बदलेर दार्जिलिङ पुगेँ । र, सरत चन्द्रको ‘ल्हासा भिल्ला’मा हाजिर भएँ । पूर्वी भारतमा भर्खरै गएको भूकम्पले घरहरू तहसनहस पारेको रहेछ । उनले मलाई मंगोलियन भिक्षु सेरा ग्याम्त्सोसँग भेट गराए । हामीले बुद्ध धर्मबारे धेरै कुरा ग¥यौं ।
सरतले तिब्बत जाने इच्छा त गरेछौ, ज्यादै खतरा छ भनेर सचेत तुल्याए । म तिब्बती लामा साब्दुङसँग तिब्बती भाषा सिक्न थालें । लगातारको अध्ययन र संगतको कारण एक प्रकारले भाषामा दखल राख्ने भएँ । खासमा सरत दास भारत फर्केपछि तिब्बती सरकारले उनी ब्रिटिश सरकारको जासुस भएको पत्ता लगाएछ, त्यसकारण उनलाई आश्रय दिने धेरैलाई कडा सजायँ भएछ । ज्यादै प्रसिद्ध विद्वान् लामा सेग्चेन दोर्जेछानलाई त मृत्युदण्ड नै दिएछ १८८७ मा । यसरी उनैको कारणले पो मलाई यस्तो डर देखाएका रहेछन् । हुन पनि तिब्बती सरकारले विदेशीलाई छिर्न निषेध नै गरेको बुझेको थिएँ तर मेरो अठोटले जसरी पनि तिब्बत पुग्न ब्यग्र थिएँ । करिब एक वर्ष बिताएँ दार्जिलिङमा तिब्बती भाषा सिक्दै, त्यहाँको रहनसहन, भूगोल, गुम्बा, संस्कार र अझ जान सकिने नाकाहरू बुझ्दै ।
भाषा राम्रो भयो रातदिनको मिहिनेतले । धेरै कुरा बुझें । नेपालको बाटो मात्र जान सहज छ भन्ने पाएर दार्जिलिङ छाडी कोलकाता आएँ । नेपालको तिब्बत हेर्ने सचिव जीवबहादुर (जितबहादुर) सँग भेट भयो । उनले मायाँ गरेर नेपालमा भेट गर्नुपर्ने भलादमीलाई चिठी लेखिदिए । त्यहाँबाट बौद्धगया आएँ श्रीलंकाका भिक्षु धर्मपालासँग भेट भयो । बुद्धले बुद्धत्व प्राप्त गरेको स्थानमा रातभरि ध्यान गरेर बिताएँ । त्यहाँबाट सुगौली आएँ । तिब्बतबाट आएकाहरू भेट भए स्टेशनमा । मलाई सोधपुछ गरे । मैले चिनियाँ बताएँ, फेरि कुन बाटो आएको भने । चिनियाँहरू समुद्री मार्ग भएर आउन सक्दैनथे, मैले हिँडेर आएको भनें । तिब्बतको कुन भाग भएर आएको त ? ल्हासा । कहाँ बसेको ल्हासामा ? सेरा गुम्बामा भनेँ । नेपालमा कसरी जान्छौ ? जीवबहादुरले चिठी लेखिदिएका छन् भनेँ । उनी त मेरो साथी हुन् भने । बल्ल पटाक्षेप भयो । त्यो चिठी जसलाई लेखिदिएका रहेछन् तिनी उनै रहेछन्, बुद्ध बज्र । मलाई न्यानो मायाँ दिए । सँगै अघि बढियो ।
वीरगञ्ज, सिमरा, भिक्षाखोरी, तीसगढी हुँदै मार्खु स्टेशन आएँ । १ फेब्रुअरी १८९९ मा चन्द्रागिरि चढेर ओर्लिएपछि काठमाडौं उपत्यका आयो । बुद्ध बज्रलाई लिन घोडा ल्याएको रहेछ मलाई पनि घोडाको सुविधा मिल्यो । बौद्ध आइपुगियो । खासगरी नेपालमा युरोपियन, अमेरिकनबाहेक जापानी पुग्ने पहिलो मै होला । सानो गाउँको बीचमा रहेको बौद्धमा ठूलो कश्यप टावर रहेछ त्यसैको कारण बौद्ध भनेर चिनिएको । त्यसको प्रमुख, लामा नै बुद्ध बज्र रहेछन् । कश्यप बुद्ध शाक्यमुनी बुद्धभन्दा धेरै अघि थिए भन्ने रहेछ । प्रत्येक वर्ष सेप्टेम्बर र फेब्रुअरीमध्यसम्म मंगोलिया, तिब्बत, चीन र नेपालको ठाउँ–ठाउँबाट मन्दिरको दर्शन गर्न भक्तालु आउने । मैले त्यहाँ धेरै तिब्बती भेटें । कसरी तिब्बत जान सकिन्छ भनेर पनि बुझें । न्यालम पास र केरुंगबारे थाहा पाएँ । भुटान भएरसमेत जान सहज भए पनि मलाई नेपालकै नाका भएर जान उपयुक्त हुन्छ झैं लाग्यो । मानसरोवर कैलाशको बाटो जान चाहन्थें । लामा बुद्ध बज्रलाई नेपालीले ग्या लामा भनेर चिन्ने रहेछन्, यसको अर्थ चिनियाँ लामा हो । बुबा चिनियाँ लामा र आमा नेपाली रहेछन् उनको । उनले पनि मलाई थोरै मान्छे भएर तिब्बतको बाटो हिँड्न खतरा हुन्छ भनेर सम्झाए । तर, म औपचारिक नाकामा सुरक्षा कडाइ हुने भएकाले मानसरोवर निस्कने गरी जाने सोंचमा थिएँ । ग्या लामाले मलाई विश्वासिलो मान्छे खोजिदिए, एउटा पाकी छोरी मान्छे र अरु दुई जना । तिनीहरू तिब्बतको खामका रहेछन् ।
मार्च १८९९ शुरुको दिन मैले आफूलाई सहारा दिएका लामा र कश्यप बुद्ध टावरबाट बिदा भएर काठमाडौँदेखि पश्चिमको बाटो तताएँ । बेलायती दूतावास, नागार्जुन हुँदै जीतपुर फेदी आइपुगियो । नेपालमा जातीय प्रथा कडा भएकाले विदेशीलाई घरमा बास दिन गाह्रो मान्ने रहेछन् । तेस्रो दिन ४० माइल हिँडेर नुवाकोटको ढुंगे पुगियो, त्रिशुली नदीको किनार । त्यहाँबाट भने केरुङको जम्मा पाँच दिनको बाटो रहेछ तर म भने पोखरातर्फ लागें । भ¥याङ भुरुङ, सेराङ हुँदै आँखु खोला पार गरियो । अनि आयो आरुघाट बूढीगंगा नदी । त्यहाँ ५० जति तिब्बतीयन रहेछन् र यताबाट पनि ब्यापार हुने रहेछ दुई देशको । अरु याद भएन निमारेसी, दरौंदी, लुइँटेल, मानेचौका, सातमाने हुँदै पोखरा पुगियो । पोखरा बजार हैन कि सानो गाउँजस्तो थियो । म ६ दिन बसें पोखरा, वरपरको दृश्य भने सुन्दर । त्यहाँबाट उत्तर लागियो । कतिपय ठाउँ घोडामा हिँड्नै नसकिने डरलाग्दो बाटो । मसँग आएका तीनजना भरिया थिए, जसमा एकजना अधैर्य खालको थियो, एउटी पाकी छोरीमान्छे थिइन् । मलाई एकान्त हुँदा खामको भरिया धेरै अपराध गरेको, जुनसुकै बेला तिमीलाई पनि लुट्न मार्न सक्छ भनेर सचेत पो गराइन् । तिनी ज्यादै इमान्दार रहिछन् ।
उत्तरतिरको बाटो कालिगण्डकीको किनारै किनार १२ दिनमा टुकचे पुगें । गभर्नर अर्थात् मुखिया हर्कमान सुब्बाकोमा बसियो । ग्या लामाको कारणले सहज भयो । दुई जना भरिया दारु पिएर झगडा गर्न थाले । मैले तीनै जनालाई लागेको रकम दिएर बिदा दिएँ । यसरी एउटा खतराबाट पार पाएजस्तो भो । मंगोलियन भिक्षु सेराव ग्याल्त्सेन भेट भयो । उनी चिकित्सक साथै बौद्ध दर्शनका ज्ञाता रहेछन् । हामीले बुद्ध साहित्यबारे ज्ञान आदान प्रदान ग¥यौं । मैले चिनियाँ बुद्ध धर्मबारे बताएँ ।
हामीसँगै उत्तरी लो (लोमान्थाङ्ग) चराङा जाने भयौं । बाटोमा मुक्तिनाथ पनि पुगियो । नेपालमा मुक्तिनाथ र तिब्बतीमा चुमिक ग्यात्सा अर्थात् सय धारा भन्ने रहेछन् । मुक्तिनाथबाट झरेर कालिगण्डकी तीरमा आइयो । नदी तर्न गाह्रो भयो । घोडा तर्नै मानेन । त्यो दिन समर बसियो । घिलिंग, घमी हुँदै मध्य मई महिनामा चराङ पुगियो । गोरखा राज्यमा गाभिनुअघि लो स्वतन्त्र राज्य रहेछ । सेराव ग्याल्त्सेनले त्यहाँका मुखियाको घरमा लगे । मैले त्यहाँ चौबिस घण्टामा १३ देखि १५ घण्टा त पढ्नमा बिताएँ । सेरावले निकै सहयोग गरे । उनी मंगोलियाबाट ल्हासाको सेरा गुम्बामा पढ्न आएका रहेछन् । मैले चराङमै पहाडहरू कसरी चढ्ने भन्ने अभ्यास पनि गरें किनकि मैले निकट दिनमा तय गर्ने बाटो पक्कै कठिन हुनेछन् भन्ने थियो । मैले त्यहाँ आफूसँग भएको औषधिले बिमारीहरूको उपचार पनि गरें । सेरावले मलाई त बसेको घरको कान्छी छोरीसँग बिहे गर भनेर प्रस्ताव पो गरे । कहाँ भिक्षु बनेर हिँडेको मान्छे घरजम गरेर कसरी बस्नु ? चराङमा सबैको प्यारो थिएँ । चराङमै सन् १९०० साल लाग्यो । बुद्ध ग्रन्थ तथा मन्त्रहरू पढेर जापानको उन्नतिको कामना गरें । सवैले मलाई चिनियाँ लामा भनेर चिने । चराङमा अदाम नारिंगसँग भेट भयो । उनी मार्फाका रहेछन् । तिब्बतमा ब्यापार गर्ने उनले बुद्धका किताब ल्याएका रहेछन् । मलाई मार्फा जान भने । मार्चमा मार्फा झरियो । मलाई चराङको ११ महिनामा धेरै घुलमिल भएकाले विभिन्न उपहार दिएर बिदाइ गरे । यसरी झन् उत्तर लाग्नुपर्ने कावागुची त दक्षिण झ¥यो ।
मार्फामैसरत दासको पत्र पाएँ महावोधी जर्नलसहित । मेरो बारेमा अफवाह पनि फैलियो । म कुनै विशेष कार्यको लागि खटिएको जासुस पो हुँ कि भन्ने भयो । मैले अदाम नारिंगलाई प्रष्ट पारेँ । त्यहाँ बुझेअनुसार जुन, जुलाई र अगष्ट महिना तिब्बत जान सहज रहेछ । मैले यात्रामा आवश्यक सामानहरू पाएँ । धवलागिरीको भ्यालीसम्म सहयोगी मिल्यो । सिधै उत्तर गए दश दिनमै तिब्बत पुग्न त सकिन्थ्यो तर मैले तेईस दिन लाग्ने गोप्य बाटो समाउने भएँ । १२ जुन १९०० मा मार्फा छाडें । सान्दा गाउँ आयो । जम्मा दश वटा घर विकट, हिमालको बीचमा । तीन महिना मात्र बाहिरी दुनियाँसँग सम्पर्क हुने रहेछ । मार्फा छाडेको पाँचौं दिनमा तासिथांग पुगियो । कहिले गुफा, कहिले खुला स्थान, कठिन बाटो भएर यात्रा अघि बढ्यो । धवलागिरिको किनारजस्तो लाग्यो । छार्का पुग्यौं । १ जुलाईमा मैले सँगै आएको गाईडलाई मार्फा फर्कन भनें । म एक्लै खाम्बुथाङ निस्कन्छु भन्दा अचम्मै मान्यो, ऊ आँशु निकालेर फर्कियो, ऊ ओझेल नहुन्जेल हेरिरहें सायद मलाई देख्ने अन्तिम मान्छे पनि ऊ नै हुन सक्छजस्तो लाग्यो ।
कठिन बाटो, हिमालका चुचुरा पार गरेर २६ जुन १८९७ मा जापानबाट बाटो लागेको म, करिब तीन वर्षसम्म तिब्बतमा पाइला टेकुँला भन्ने थियो । हुन पनि मैले ४ जुलाई १९०० मा टेकें एक्लै एक्लै । कता हो कताको बाटोमा पालहरू भेटें । छोरी मान्छे रहिछन् । सहारा दिइन् । उनको छोराले गेलोंङ रिम्पोछेकोमा लगिदिने भए । त्यहाँका प्रसिद्ध सिद्ध रहेछन् । चौंरी पनि मिलाए सामान बोक्नको लागि । गुफामा बस्ने रहेछन् सिद्ध । धेरै मानिस दर्शन गर्न आएका थिए । सत्तरी वर्षका रहेछन् भिक्षु । जिन्दगीभरि तपस्या गरेर अनकण्टार स्थलमा बसेका । मैले घुमन्ते भएको बताएँ । दोश्रो पटक पनि दर्शन गरें । मलाई बाटोको लागि खानेकुराहरू दिए ।
त्यहाँबाट एक्लै लागें । एउटा नदी आयो । दुई कुराको डर भयो– एक, चितुवा र अर्को डाँकाहरूको । खामबाट आएका तीर्थालु भेटिए । गेलोङ रिम्पोछेकोबाट आएको भनेपछि सहज भयो । १२ जुलाईमा लद्दाखबाट आएका ब्यापारीहरू भेटिए । आल्चु लामा सँग भेट भयो । उनले त तीन वटा पो बिहे गरेका रहेछन् । हैन भने तिब्बतमा त्यो बेला धेरै भाइले एउटै बिहे गर्थे । आल्चु फरक रहेछन् बूढा त । यात्रामा फेरि पालहरू भेटें । वाङचुक रहेछन् मुखिया । पहिला त शंकाले हेरे, रिम्पोछेको नाम लिएकाले सहज भयो । तामचोक खावाव आयो । १५ दिनको कठिन यात्रापश्चात् मानसरोवर र कैलाश पर्वत अर्थात् काङ रिम्पोछे जाने बाटो भेटियो । कहिले नदी तर्दै, कहिले हिउँको पहाड उक्लंदै फेरि पालहरू भएको स्थानमा पुगें । कुकुरहरूले झण्डै झम्टेका । तीन वटासम्म पालेले वास्ता गरेनन्, चौथोले स्वागत गरे ।
३ अगष्ट भयो । एउटा गाउँमा पुगें । चिनियाँ लामाले ध्यान गरेको, धार्मिक ग्रन्थहरू पढेको देखेर आश्चर्य माने । मलाई कैलाश सँगै परिक्रमा गराउने भए । छोरी रहिछे दावा, भर्खरकी । मलाई मन पो पराउन थाली । प्रेम गर्नै थालीजस्तो लाग्यो । मलाई खाना पकाउने, बस्ने र सुरक्षाको समस्या भएन । कैलाश पर्वत देखियो । मानसरोवर आयो । तिब्बतीले माफाप याम्त्सो भन्ने रहेछन्, संस्कृतमा अनभतप्त । बुद्धिष्ट गुम्बामा आएँ त्से को लो । लामा रहेछन् । खासै ज्ञानको भने कमी पाएँ । चीनमा पनि बुद्धिष्ट भनेर अचम्म माने । श्रीमती पनि राखेर बसेका रहेछन् लामाले । म मानसरोवर तालमा पुगें । नेपाल र भारतबाट तीर्थ गर्न आएकाहरू भेटिए । उनीहरू पवित्र तालमा डुबुल्की लगाउँदै थिए । कैलाश पर्वतलाई भगवान् शिवको अवतार मान्ने रहेछन् । मलाई लामा भिक्षु भनेर उपहारहरू दिए । राक्षस ताल र मानसरोवर देखियो । बढी पानी पर्दा १५ वर्ष जतिमा राक्षस तालको पानी मानसरोवरमा मिसिन्छ र यसलाई बूढाबूढी भेट भएको भन्ने रहेछन् तिब्बतीले । गंगा नदी बुरांग भएर बग्ने रहेछ । बुरांग हुँदै धेरै ब्यापारी आउने रहेछन् सिजनमा । तिब्बत त अझै बार्टर सिष्टममै चलिरहेको रहेछ । हिसाब गर्नै नजान्ने, धेरै हिसाब गर्नुपरे जापानीले एक घण्टामा गर्ने हिसाब तीन दिन लगाउने रहेछन् विचराहरू ।
ग्या निमामा एकसय पचासजति सेता पालहरू, करिब ५–६ सय मानिसको भेला । ब्यापार मजाले चल्ने रहेछ भारतीय, नेपाली अनि तिब्बतीको बीचमा । सेप्टेम्बरसम्म हुने रहेछ व्यापार । ग्या कार्कोमा झन् ठूलो बजार । एउटा भारतीय भेटियो अंग्रेजी बोल्ने उसले मलाई भारतीय ठानेछ । मैले चिनियाँ हुँ भनें । हिमचिम राम्रै भयो । मैले राय सरतलाई तिब्बत छिरेको जानकारी दिएर चिठी लेखें । भित्री खामबाट जापानमा हिगे तोकुजुसो र इतो इचिकोलाई पनि चिठी लेखें । फर्किएपछि थाहा पाएँ कि मेरो चिठी पुगेछ जापान, भारतीय साथी इमान्दार रहेछन् ।
म सँगै साथ दिन आएका, साथै मेरो प्रार्थनाले गर्दा मसँग परिक्रम गर्दा धर्म हुन्छ भन्ने ठानेर दावा छोरीसहित साथमा रहेकाहरू भएकोले सहज भयो । दावाले पो मलाई नछाड्ने भइ । अनेक गरेर फकाउने गर्न थालि बिहे गरौं भनेर । मैले तिम्रो आमा खोइ त भनेर सोंधें । बाबु, काकाहरूसँग तीर्थ गर्न आएको, आमा घरै छिन्, हामी फर्कंदासम्म बाँच्छिन्, बाँच्दिनन् भनी । मैले धर्मका कुराहरू गरेर उसलाई सही बाटोमा ल्याउन प्रयास गरें । अब भने बल्ल मायालु तवरमा हैन कि लामा गुरुको रूपमा देख्न थाली ।
यात्रा अघि बढ्यो । तीनवटा बाटा रहेछन् कैलाश परिक्रमाको । प्रित पुरी आयो । पाल्देन आतिसाले नाम दिएका रहेछन् प्रित पुरी भारतीय भिक्षुले । मेरो मुखियाले कैलाशलगायत चुचुराहरू देखाएर एउटा शाक्यमुनी बुद्ध, अर्को बोधिसत्व मञ्जुश्री अवलोतिश्वर र अर्को भने बज्रपानी हुन् भनी चिनाए । गुम्बाहरू भेटिए बाटोमा । धेरै तिब्बतीयन, युवा युवतीहरू पनि परिक्रमा गर्दै रहेछन् । कहिलेदेखि चलेको होला यो यात्रा ? कोही त लम्पसार परेर पनि परिक्रमा गर्ने रहेछन् । कसरी सकेका ? धर्म हुन्छ भनेपछि शरीरलाई अनेक कष्ट दिएरै पनि मानिस निरन्तर त्यसमा लागिरहेकै छन् जस्तो लाग्यो ।
उचाई पुगियो, डोल्मा ला रहेछ । राजा कुवेर अर्थात् धनको देउताको बासस्थान भने । कालिदासले मेघदूतमा पनि उल्लेख गरेका । मलाई त धेरै गाह्रो भयो श्वास बढेर । याकमा चढें हिँड्न नसकेर । तिब्बतियन योगी जेत्सुन मिलारप्पाले पत्ता लगाएको गुफा भेटियो । ती निकै ठूला कवि रहेछन् तिब्बतका । तिनको बारेमा पश्चिमाहरूले खोज गरेर उनको कविता अरु भाषामा उल्था भएको रहेछ । मैले पछि दार्जिलिङमा रसियनहरूलाई यो प्रसंग बताएँ ।
सेप्टेम्बरको मध्यतिर दावाले मलाई माया गर्छे भन्ने कुरा बाहिरियो । उसको बुबा र भाइहरू झगडा पो गर्न थाले । कसैसँग बिहे गर्दिने सुरमा रहेछन् काका । तिनीहरू त पहिला डकैती, हत्या गरेको पोल खोलाखोल गर्न थाले । त्यही पाप पखाल्न पो यता तीर्थ आएका रहेछन् मोराहरू । ढुंगा हानाहान गर्न थाले । छुट्याउने कोसिस गर्दा मैलाई लागेर घाइते भएँ । भोलिपल्टै सबै अलग–अलग बाटो लागे । बल्ल मैले काउसोबाट छुटकारा पाएँ दावाको । कहाँ यतिबिध्न कष्ट भोगेर बुद्ध धर्मको बारेमा ज्ञान हासिल गर्न, तिब्बतको भ्रमणमा निस्केको मान्छे मानसरोवर, कैलाशको काखमा आएर दावालाई बिहे गरेको भए के हुन्थ्यो होला मेरो ?
क्रमश :.....
टिप्पणीहरू