मल बिक्रेताद्धारा पनौती नगरपालिकाको कर्मचारीमाथि दुर्व्यवहार
पनौती नगरपालिकामा मलको विषयलाई हिजो भाँडभैलो मच्चिएको छ । मल बिक्रेता सुवास थापाले कर्मचारीमाथि हातपात गर्न खोजेका हुन् । छिमेकी सहकारी संस्था प्रालि तथा सुस्मा खाद्य तत्वका मल बिक्रेता थापाले नगरपालिकाको कर्मचारी अनिशा आचार्यलाई भलिभाँती गाली गरेका हुन् ।
मल लिनका लागि आवश्यक कागजात नपुगेपछि नगरपालिकाका कर्मचारीले उनलाई कागजात मिलाएर ल्याउन आग्रह गरेका थिए । कर्मचारीले त्यति भन्नेबित्तिकै उनी जंगिएको बताइन्छ । पहिलोचोटि पनि कागजात नपुर्याएपछि फर्काएको उपप्रमुख गीता बन्जाराले बताइन् । ‘यसअघि पनि मलका लागि प्रमाणीकरण गर्न आउनुभएको थियो । तर, कागजात नमिलेपछि फर्काएका थियौं । योचोटि पनि त्यस्तै गर्नुभयो । कागज पुगेन भन्दा उहाँ सिँधै जंगिनुभयो’, उनले भनिन् ।
उनले नगरपालिकाको महिला कर्मचारी आचार्यलाई मनलाग्दी गाली गरेका हुन् । मल लिनका लागि वडाबाट सिफारिस, किसानलाई मल वितरण गरेको प्रमाणीकरणलगायतका कागजातहरु चाहिन्छन् । तर, उनले वडाको सिफारिस मात्र ल्याएको कर्मचारी आचार्यको भनाइ छ ।
‘उहाँले वडाको सिफारिस मात्र ल्याउनुभएको थियो । तरपनि सम्बन्धित व्यक्तिबाट हस्ताक्षर गराउनुभएको थिएन्’, उनी भन्छिन्,‘तापनि किन दोहोर्याइतेहर्याइ दुःख दिनु भनेर एकचोटिलाई होस्, अर्कोचोटि मिलाएर ल्याउनुभन्दा उहाँ आक्रामक शैलीमा प्रस्तुत हुनुभयो ।’
थापाले टेबलकुर्सी ठोकेपछि नगरपालिकामा रहेका प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले नगरपालिकाका अन्य कर्मचारीमाथि पनि दुर्व्यवहार गरेको बताइएको छ । उनले सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीलाई जुत्ताको माला लगाउने भन्दै धम्की दिएका हुन् ।
हाल उनी प्रहरी नियन्त्रणमा छन् । यसअघि उनले वडा नम्बर ४ का कर्मचारीलाई कुटपिट गरेका थिए । थापामाथि सार्वजनिक अपराधको मुद्दा लगाइएको थियो । धरौटीमा छुटेका उनले फेरिपनि उही हर्कत दोहोर्याएका हुन् ।
टिप्पणीहरू