संसद्मा प्रचण्डले कसको ट्युसन पढ्ने ?

संसद्मा प्रचण्डले कसको ट्युसन पढ्ने ?

सशस्त्र युद्धको बलले २०६४ को संसदमा माओवादी पार्टी र प्रचण्डको शक्ति बाघसमान थियो । ०७० सम्म आउँदा त्यो शक्ति स्यालमा फेरियो । नेपाली राजनीतिको खेलाडी भनिएका प्रचण्ड आफ्नै दिशाहीनता, गतिहीनता, नीतिहीनता र पंगु खालको सम्झौतावादी हर्कतले अहिले आएर खरानी हुने अवस्थामा पुगे । यद्यपि, यतिचाहिँ साँचो हो कि सामन्ती राजतन्त्रको युगमा नेपाली नागरिकलाई राजनीतिक र सामाजिक चेतना दिन उनको ठूलो र महत्वपूर्ण भूमिका थियो । १७ हजारको बलि चढाए पनि उनी र उनको परिवार भने घाइते हुनबाट बच्यो । केही समय अघिसम्म प्रचण्डले जहाँ समर्थन गर्छन् त्यतै सत्ता भन्ने गरिन्थ्यो । तर, आज उनी आफ्नै अलोकप्रिय र संकीर्ण नीति तथा सोचका कारण प्रतिगामी र राजावादीले हप्काउने, पेल्ने र थुक्ने ठाउँमा पुगेका छन् । प्रचण्डमा कम्युनिष्ट आदर्श, सिद्धान्त, दर्शन र विचारको स्खलन यति धेरै भयो कि कुनै विचार र दर्शन बाँकी रहेन । यसै कारण संसद्मै माओवादी आन्दोलन र राजनीतिक परिवर्तनलाई गाली गरेको टुलुटुलु हेर्दै राजावादीबाट ट्युसन पढ्नुपर्ने भएको छ । 

गणतन्त्रले फालेका कुडाकर्कट, प्रेतआत्मा, राजावादी फेरि सल्बलाएका छन् । इतिहास र आन्दोलनको बलमा ल्याइएको राजनीतिक, संवैधानिक, कानुनी र सामाजिक परिवर्तनलाई प्रचण्डको नैतिक पतनले ध्वस्त पारिदिएको छ । सत्ता स्वार्थ, पदलोलुप र निजी चाहना एवं कुण्ठाबाट ग्रस्त प्रचण्डले आफू बाठो बन्ने र कम्युनिष्ट दर्शन तथा शक्तिशाली एमालेका ओलीलाई देखाउनको लागि गैरराजनीतिक र सिद्धान्तहीन गठबन्धन गरेका थिए । जसले उनको साख, संगठन, विचार र चार्म पूरै सखाप पारिदियो । 

जीवनभर राजनीतिक, सांगठानिक, वैचारिक, सामाजिक र जनताको अधिकारको संघर्षमा खारिएका प्रचण्डजस्ता नेतालाई संसदको संख्यात्मक अंकगणितको कारण जनविरोधी एवं प्रतिगामी शक्ति सल्बलाए । तिनले नेपाली राजनीतिमा दिने अर्ति सुन्नुपर्ने ठाउँमा पुगे । संसद्मा अब पशुपतिसमशेर राणा, प्रकाशचन्द्र लोहनीजस्ता प्रतिगामी पञ्चायती मूर्दा र प्रेतहरूले हाकाहाकी गणतन्त्र र जनताको परिवर्तनलाई धारे हात लगाएको कसरी सुन्ने हो ? अर्काेतर्फ आफूलाई स्वतन्त्र नामधारी हुर्दुङ्गा जो राजनीतिलाई हुइँया ठान्छन् तिनको पनि ट्युसन सुन्नुपर्ने भयो । जसलाई राजनीतिक, वैचारिक, दार्शनिक, सामाजिक, ऐतिहासिक, सांगठानिक तथा नागरिक अधिकारको आन्दोलनसँग गोरू बेचेको पनि साइनो छैन । आज तिनै परिवर्तनविरोधीको संसदजस्तो जनताको थलोमा प्रवेश भयो । नेपाली राजनीतिमा योभन्दा विडम्बना अरू के हुन्छ ? 

आफूलाई नेपाली राजनीतिको किङमेकर भन्ठान्ने प्रचण्डको बजार भाउ डुबेको कम्पनीको सेयरको भाउजस्तो बन्यो । एमालेलाई सक्नेभन्दा आफूचाहिँ खरानी भए । सिद्धान्तहीन कांग्रेससँग घाँटी जोडेर ठूलो भाग खान गएका प्रचण्डको कारण जनविरोधी, प्रतिगामी र राजावादी सल्बलाएका हुन् । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र समृद्धिमा पहिलो तत्व राजनीतिक सुधार र परिवर्तन नै हो । राजनीतिक र संवैधानिक परिवर्तन भएको कारण आज राजावादी र हुइँयामा राजनीतिक नेता भइटोपल्न आएकाहरूले गणतन्त्रमै बसेर गणतन्त्र र संघीय संविधानको पनि विरोध गर्न पाएका हुन् ।

गणतन्त्र र लोकतन्त्र भनेको सबै फूललाई फक्रन दिने र पाउने प्रणाली र व्यवस्था भएकाले सबैले आफूलाई लागेको संगठन र विचार दिन पाएका हुन् । राजनीतिक दल खोलेर पनि दल स्वतन्त्र भन्न पाएका छन् । कांग्रेस, कम्युनिष्टलाई गाली गर्न भ्याएका छन् । यो लोकतन्त्रको असल देनचाहिँ हो । यद्यपि, लोकतन्त्र राजनीतिक र वैचारिक अधिकारको प्रणाली मात्र भने होइन । बोल्न, लेख्न र विरोध गर्न मात्र पाएर पनि जनताको पेटमा माड लागेन भने त्यो प्रणाली जनताको बन्न सक्दैन । यसैले विश्वमा गणतन्त्र भएका सबै मुलुक सम्पन्न र धनी छैनन् । राजतन्त्र भएका सबै मुलुक तन्नम पनि छैनन् । विकास र समृद्धि, सुशासन र अवसर आजको अनिवार्य आवश्यकता हो । व्यापक अवसर, अधिकारको सुनिश्चितता र प्रगति भएन भने मानिस देशको झण्डा हेरेर मात्र बस्दैन ।

आर्थिक, सामाजिक तथा समृद्धिका अनेकौं ढोका जहाँबाट खुल्छ, त्यहीँ जान्छ । यसैले राजनीतिक अधिकार मात्रले मुलुक समृद्ध बन्ने होइन । यद्यपि, नेपालको सन्दर्भमा २ सय ४० वर्ष निरंकुश राजतन्त्रले प्रगति र उन्नतिमा भाँजो हाल्यो । नागरिकलाई अधिकारविहीन बनायो । आफू र पञ्चायती आसेपासे मात्र सुकिलामुकिला बने । यसैले जनताले लोकतन्त्र र गणतन्त्र ल्याएका हुन् । आज त्यही गणतन्त्रमाथि प्रतिगामी र अराजक हुलको हमला अनेकौं रूपमा हुँदै छ । नेताले देश बिगारे भन्ने हल्का, सस्तो र आम नारा लगाएर जनविरोधी तत्व पानीमाथिको ओभानो बन्दै छन् । तीस वर्ष पञ्चायतमा तर मारेका पञ्चायती पिचासहरू आफूले गर्ने भन्दै प्रणालीको विरोध गर्दै छन् । यो अवस्था ल्याउन सहयोगी भूमिका खेल्नेचाहिँ फेरि पनि प्रचण्डलगायत दलका नेता हुन् ।

पञ्चायती प्रेत र अराजकले गणतन्त्र, संविधान र लोकतान्त्रिक प्रणालीलाई सरापेको प्रचण्डले कसरी सुन्लान् ? यद्यपि, अरू सबैले सुन्ने हो । प्रचण्डलाई मात्र किन गाली हो त ? भन्ने प्रश्न पनि उठ्छ । किनकि प्रचण्डले जहिल्यै भन्ने गरे कि गणतन्त्र र परिवर्तन उनको सशस्त्र संघर्षको बलमा आयो । जनताको परिवर्तनको संवाहक माओवादी हो । एमालेसँगको नेकपा मात्र होइन उनकै माओवादी दर्जन बढी टुक्रामा विभाजित भए । जताततै कम्युनिष्ट छरिए । त्यसको मूल दोष प्रचण्डले लिनु पर्दैन ? आफूले जनयुद्ध गरेर देशमा ठूलो राजनीतिक र संवैधानिक परिवर्तन गरेँ भन्नेले बिग्रेको र भत्केको अपजस लिनु पर्दैन ? यसै कारण प्रचण्डलाई बढी दोष हो । 
 

टिप्पणीहरू