कोरोना, कोइ नहीं रोना
कोरोना भाइरसले मानवजातिलाई अँगालो मार्न आएको लगभग ६ महिना हुन लागिसक्यो, अझ पनि शान्त हुने संकेत छैन । यत्रो २१औँ शताब्दीको वैज्ञानिक युगमा विश्वलाई नै तहल्का मच्चाउने गरी आएको यो कस्तो भाइरस हो, ठुल्ठूला डाक्टर र वैज्ञानिकले पनि पत्ता लगाउन नसक्ने । कहाँबाट आयो, कहाँ जान्छ, यसको अवधि कतिसम्म हो ? मानवले मानवलाई स्पर्श गर्न नहुने, मानवले मानवलाई नाश पार्ने कस्तो संक्रमण आयो र फैलियो ? बूढो मानेर सहानुभूति छैन, बालक, केटाकेटी भनेर हृदयमा ममता छैन, कसैलाई पनि छाड्दैन । आज कुन जन्मको फल हरेक प्राणीले विश्वभरि भोगिरहेछ !
कविशिरोमणि लेखनाथ पौडेलले भन्नुभएजस्तै आयो टप्प टिपी लग्यो … कस्तो विडम्बना हो यो । दुई हात जोडेर अंकमाल नगरी, हात नमिलाई, दुई मिटरको दूरीमा उभिएर, मुखमा मास्क र सेनिटाजर लगाएर, साबुनपानीले हात राम्रोसँग धोएर, दुई हात जोडेर भन्छु, अब ज्यादै भयो, विश्वमा सबैलाई आतंकित नगराऊ । साम्य भएर शान्ति देऊ ।
पाँच लाखभन्दा बढी मानिसले आफ्नो जीवन तिमीलाई समर्पण गरेर यो संसार छाडी गइसके । तिमीलाई मानवको अलिकति पनि दया लागेको छैन ? तिम्रो ध्येय के हो ? पहिलेका बूढापाका, ज्ञानी, ध्यानीले शास्त्रमा लेखेका कुरा मान्ने हो भने पनि सबै कुराको सीमा हुन्छ तर तिम्रो हद र सीमा कतिसम्म हो ? चार युगमध्ये कलिको चपेटामा परेको हौ कि क्या हो ? यो सत्य हो– जन्मपछि मृत्यु । तिमी पनि अब धेरै थाकिसक्यौ होला ।
अब के भगवती माता, जगत् जननी नै प्रकट भएर यो रक्तबीजको संहार गर्ने समय आएको हो त ? रक्तबीज वधेदवी नमः तस्त्यै नमः तस्मै नमोः नमः । तिमी संसारकै जननी जगतमाता । अब हरेक प्राणीको उद्धार गर्नुप¥यो । माता जननी, सबै हजुरकै सन्तान हौँ । रक्षा गर्नुहोस् । आमालाई आफ्ना सन्तानको दुःख, कष्ट भोगेको हेर्न गाह्रो हुन्छ होला । अब हजुरको पालो हो दुःख नाश गर्ने र सुखको अवतरण गर्ने । यो भयावह परिस्थितिमा हजुरको मायाममता सबैलाई चाहिएको छ । सबैको रक्षा गरेर भयत्रास हटाउनुहोस् । माता जगदम्बे जगत् जननी, यो सबैको हृदयदेखिको पुकार हो । माता, विलम्ब नहोस् ।
कोरोनाबाट प्रेमीप्रेमिका सबै छटपटाइरहेका छन् । धेरैको मिलन आत्मीयताबाट टाढा भएको छ । डर र एक्लोपनले जीवनलाई सताइरहेछ । माता, कोरोनासँग लडाइँ गरेर यसलाई हराएर भगाउने शक्ति प्रदान गर । भगवान्, हामी हरेक दिन तिम्रो आराधना गर्छाैँ । धर्मकर्म गर्छौं । दुःखमा र सुखमा पनि तिम्रो भक्ति र आराधना गर्छाैँ, तिम्रो आस्थामा जीवन बिताउँछौँ । यो घडीमा पनि हामी मौन बसेका छौँ । हे भगवान्, अब केही गर्ने र भन्ने बेला आयो । विलम्ब नगर । अब साकार रुप लिएर आऊ । हैन भने तिम्रो आश्वासनले मात्र जीवन अड्याउन गाह्रो पर्नेछ । यो संसारलाई बताइदेऊ, देखाइदेऊ, तिमी कहाँ बस्छौ, के गर्दै छौ ? यो कोरोनाको नाश गर, सबै प्राणीको रक्षा गर ।
– नक्साल, नारायणचौर
(लेखिका महाकवि लक्ष्मीप्रसाद देवकोटाकी भाञ्जी, इञ्जिनियर शंकरनाथ रिमालकी पत्नी तथा नारी साहित्य सेवा केन्द्रका संस्थापक सदस्य सचिव हुनुहुन्छ ।)
टिप्पणीहरू