मामला जेरी र शंकरको, हमला अनलाइनर र युट्युबरको
तिहारअघि लोकगायक, गायिका बबिता बानियाँ जेरी र उहाँको श्रीमान् शंकर क्षेत्रीको दाम्पत्य जीवनमा खटपट भएको विषय एकाएक बाहिर आयो । जेरीका अनुसार श्रीमान्को बढी इच्छामा सम्बन्धविच्छेदको निवेदन दर्ता भएको हो ।
जेरी र शंकरको सम्बन्धमा उत्पन्न विग्रहलाई केही सञ्चारमाध्यमले सर्वप्रथम बाहिर ल्याए । त्यसलगत्तै यसलाई मसला बनाएर पस्किरहन अनलाइन मिडिया, युट्युबर, अनलाइन टिभी, कतिपय व्यक्तिहरू अझै सक्रिय छन् । चर्र्चित हुने र भ्युअर्स बढाउने नाममा झूट, भ्रम र अफवाहलाई नै सञ्चारकर्म ठान्ने केहीले त जेरी र शंकरबीच डिभोर्स नै भइसकेको भनी स्वघोषणा नै गरिदिए । यसको परीक्षण र पुष्टि नगरी, सत्य तथ्य नजाँची धेरैले जस्ताको तस्तै सम्प्रेषण गरे, गरिरहेका छन् । उत्तरआधुनिकताको प्रभाव, उपभोक्तावादी सोच र पुँजीवादी व्यवहार, शैलीका कारण आज समाजका विभिन्न सम्बन्ध भत्कँदै गएका छन् । समाज हिजोजस्तो बलियो छैन आज । घरमा नै अनमेल, द्वन्द्व, झैगडा, वैमनस्यता बढेको छ । यस्तो विग्रह श्रीमान्, श्रीमतीमा समेत सरेको छ । चाहे श्रीमान् वैदेशिक रोजगारीमा गएको बहाना होस् या एकअर्कामा माया नभएको, मिल्न नसकेको आदि कारण देखाई सम्बन्धविच्छेद हुने क्रम बढेको तथ्यबाट नै देखिन्छ । भन्न त श्रीमान् श्रीमतीको झगडालाई परालको आगो भनिन्छ । यो जतिबेला पनि मिलनमा परिणत हुन सक्छ । समाजमा दिनहुँ यस्ता सयौँ घटना भइरहेका हुनसक्छन् । त्यही भएर त सम्बन्धविच्छेदको अधिकार राखियो ।
प्रेम एउटा कुरा हो । विवाह अर्काे कुरा । प्रेम र विवाहको मुड एउटै हुँदैन । प्रेममा जति उत्साह, उमंग हुन्छ, विवाहपछि विस्तारै घट्दै जान्छ । प्रेममा छँदा त्यो जोडीले संसार बिर्सन्छ । विचारमय (बायाँ) दिमाग होइन, भावमय (दायाँ) दिमाग चल्छ । त्यसैले उनीहरू सँगसँगै मर्न तयार हुन्छन् तर विवाहपछि सन्तान उत्पादनसँगै आफूहरू र परिवारलाई व्यवस्थापन गर्न नसक्दा डिभोर्स मात्र होइन एकले अर्कालाई मार्न पनि पछि हट्दैनन् । किनकि वैवाहिक जीवन व्यवहारमा जोडिन्छ । हाम्रोजस्तो समाजमा सामाजिक जिम्मेवारी र पारिवारिक सम्बन्धको व्यवस्थापन गर्न श्रीमतीलाई भन्दा श्रीमान्लाई गाह्रो छ । एकातिर प्रेमीले प्रेममा फस्दा प्रेमिकासँग गरेको अन्धप्रतिवद्धता पूरा गर्न सक्दैन भने अर्काेतिर परिवार र श्रीमती(पे्रमिका)लाई मिलाउन नसकेपछि ऊ अन्तरद्धन्द्धमा फस्छ । परिवारसँग व्यावहारिक रूपमा हेलमेल नगर्ने र श्रीमान्को दुःख नबुझ्ने, डिमान्ड मात्र गर्ने श्रीमती भइदिइन् भने श्रीमान् दोहोरो तनावमा पर्दछ । अर्काेतिर श्रीमान् श्रीमतीबीच विश्वास र समझदारी नभएपछि, प्रेम घट्दै गएपछि सम्बन्ध बिग्रन्छ । सामाजिक परिवेश, महत्वाकांक्षा, लोकप्रियता आदिका कारण जेरी र शंकरको वैवाहिक सम्बन्धमा पनि यस्तै भएको हुन सक्छ । तर यस्ता विषयलाई हाम्रा सबैजसो समाचार माध्यम र पत्रकारले यसरी उठाएको पाइँदैन । तिललाई पहाड बनाएर आँसु, भ्रम बाँडेर यसैको व्यापार गरिरहेको देखिन्छ । यस्तो घटना किन भइरहेको छ भनेर अध्ययन, अनुसन्धान, विश्लेषण नगरी सतही रूपमा छताछुल्ल पार्नुलाई ठूलो बहादुरी ठानेको पाइन्छ ।
वैयक्तिक गोपनीयताको हकविपरीत घरायसी विषय र लोग्ने, स्वास्नीका सम्बन्धलाई सामग्री बनाएर दिनु कुनै पत्रकारिता होइन । यस्ता विषयमा सञ्चारकर्म गर्न पनि आवश्यक छैन । लोकचर्चा भएका कारण समाचारको मूल्य हुने भएकाले यस्ता निजी मामला पनि समाचार बन्न सक्लान्, तर सार्वजनिक व्यक्ति भन्दैमा जेरी र शंकरहरूका घरायसी विषय छताछुल्ल पार्न पर्छ भन्ने छैन । किनकि उनीहरूलाई पनि स्वतन्त्र भएर गोपनीयतापूर्वक हिड्ने, बाँच्ने अधिकार छ । हाम्रो कानुनको कडा पालना नहुँदा केही अनलाइन मिडिया र फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालले यस्ता विषयलाई उदांगो पारेर समाजलाई नै जबजसर््त दुई पक्षमा विभाजन गरिदिएका छन् । जेरी र शंकरको मामलामा मात्र हैन, पल, सन्दीपको प्रसंगमा पनि वास्तविक विषय पुष्टि भएर बाहिर नआउँदै समाज दुई खेमामा छुट्टिन बाध्य भएको छ । जसका कारण समाजमा फितला कुरामाथि मात्र अनावश्यक बहस हुन्छ । सुशासन, विकास, समृद्धि, राष्ट्रिय एकता भन्दा झिनामसिना विषयमा बरालिएको छ समाज । यसमा घ्यू थप्ने काम यस्तै सञ्जाल र धेरैजसो युट्युबरबाट भएको छ । यति हुँदाहुँदै पनि आजको नेपाली समाजले मूलप्रवाहका समाचार माध्यम र पत्रकारलाई भन्दा युट्युबलाई नै वास्तविक समाचार माध्यम र युट्युबरलाई खाँटी पत्रकार भनेर चिन्ने गरेको छ । अन्य समाचार माध्यमका भन्दा यस्ता सञ्जालका विषय बढी छिट्टै भाइरल हुने गरेका छन् । गैर जिम्मेवार युट्युबहरूले सामाजिक द्वन्द्व निम्त्याउन खोजेको धेरै नै भइसक्यो तैपनि यसतर्फ राज्य, सरकार हुनुपर्ने जति गम्भीर भएको देखिएको छ्रैन । यस्तै आफूलाई सही समाचार माध्यम र पत्रकार बनाएर समाजमा चिनाउन नसक्नुमा यी समाचार माध्यम र पत्रकारका आचरण, अभ्यास र व्यवहार अनि सरोकारवाला निकाय, व्यक्तिका काम गराइमा पनि कमजोरीहरू छन् । यसमा सबैले मःम भन्दा राम्रो हुन्छ ।
आजको अवस्थामा चाहे पनि नचाहे पनि युट्युब सञ्चार साधनका रूपमा जबर्जस्त स्थापित भइसक्यो । हरेक व्यक्ति, संस्था, संगठनले यसको प्रयोग गर्न थालिसके । त्यसैले राज्यले यसलाई निषेध गरेर जान सक्ने अवस्था छैन । हुन त सिद्धान्ततः सामाजिक सञ्जालबाट पत्रकारिता हुनै सक्दैन र यसको उद्देश्य, प्रकृति पत्रकारिता गर्ने पनि होइन, लिंक सेयर गर्ने मात्र हो तापनि पत्रकारिता कर्म गर्ने शैलीमा आफूलाई उभ्याएका र पत्रकार आचारसंहिताको घेरामा बाँधिने प्रतिवद्धता जनाएकालाई प्रेस काउन्सिलले हेर्न सक्ने हुँदा राज्यले अध्ययन, अनुसन्धान गरी अन्यलाई व्यवस्थित गर्नुको विकल्प छैन । साथै, पत्रकारिताको कसीमा रहेर चल्न चाहनेलाई अनुगमन, कारबाही गर्ने जिम्मा प्रेस काउन्सिल नेपाललाई कानुनी रूपमा नै दिइनुपर्छ । कानुनको स्पष्ट व्यवस्था नहुञ्जेलसम्म सरकारको निर्णयबाट काउन्सिललाई यस्तो अधिकार प्रदान गरिनुपर्छ ।
टिप्पणीहरू