आय त बढ्यो तर बिकृति र पारिवारिक बिखण्डन नि !

आय त बढ्यो तर बिकृति र पारिवारिक बिखण्डन नि !

पछिल्लो समय नेपालमा वैदेशिक रोजगारी आय आर्जनको राम्रो विकल्पका साथै एउटा जटिल समस्याको रुपमासमेत स्थापित हुँदै गइरहेको छ । यसले कतिको घर उजाडेको छ त सैयौँको ज्यानसमेत लिएको छ ।  वैदेशिक रोजगारीकै कारण नेपाली समाजमा नकारात्मक असरसमेत परिरहेको छ । वैदेशिक रोजगारी सम्बन्धविच्छेदको मात्र नभई हत्याको पनि कारण बन्न पुगेको छ । 

गत साउनको पहिलो साता चितवनको भरतपुर महानगरपालिका–१० मा एक दम्पत्तिको कारुणिक मुत्यु भयो । यता,राजधानीको काठमाडौँमा पनि त्यस्तै घटना दोहोरियो । तारकेश्वर–२ स्थित एकै परिवारका चार जनाको चक्कु प्रहारबाट हत्या भयो । यो घटना पनि वैदेशिक रोजगारीकै कारण निम्तिएको थियो ।  यो घटना सेलाउन नपाउँदै सुर्खेत पञ्चपुरी नगरपालिका –३ तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आले मगरले आफ्नै ३० वर्षीया श्रीमती मीना आले मगरको हत्या गरेका छन् ।

आर्थिक हिसाब नमिल्दा उनले श्रीमतीको हत्या गरेको खुल्न आएको छ । लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका मगरले विदेशबाट फर्किएपछि श्रीमतीसँग आर्थिक हिसाब मागे । पैसाको कुरा मिलाउँदै जाँदा अपुग भएपछि श्रीमतीको हत्या गरेर टाउको प्लास्टिकको झोलामा बोकी हिँडे ।  प्रहरीले उनलाई बाटोबाटै नियन्त्रणमा लियो । 

"यस्तो कुरा प्रत्येक वर्ष २ हजारको दरले बढ्दै गइरहेको छ । गत वर्ष १७ हजार यस्ता घटना भएका थिए ।’

यस घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताए । उनले भने,‘यो घटना पनि वैदेशिक रोजगारीले नै निम्तिएको विकृति हो ।’  वैदेशिक रोजगारीले दाम्पत्य जीवनको अन्त्य मात्र नभई हत्या हिंसा पनि बढ्दै गएको उनको ठहर छ । 

नेपालमा केही वर्षयता रोजगारीका लागि विदेश जानेको संख्या हवात्तै बढेको छ ।  मुलुकमा रोजगारीका पर्याप्त अवसर नहुँदा कमाउन र परिवार पाल्नका लागि बाध्य भएर पनि विदेश जानैपर्छ । 

जीवन जिउनका लागि रोजगारीको खोजीमा विदेश जाने तर फर्केपछि कि त सम्बन्धविच्छेद गर्ने कि हत्या,हिंसा । अहिलेका युवाहरु बढ्दो महँगी र कम तलब अनि बेरोजगारीका कारण धमाधम विदेश गइरहेका छन् तर विदेशको  रोजगारीले थुप्रैको पारिवारिक समस्या समाधान गर्नुको साटो उल्टै बढाइरहेको छ । दिन प्रतिदिन सम्बन्धविच्छेदका घटनाहरु घटिरहेका छन् ।

लोग्ने स्वास्नीवीच शंका उत्पन्न हुने वा असमझदारी सिर्जना भई त्यसले विभिन्न स्वरुप लिने गरेको छ । प्रवक्ता राईले पछिल्लो समय नेपालमा यस्ता घटना घट्नुको साटो दिनहुँ बढिरहेको बताए । उनले भने,"यस्तो कुरा प्रत्येक वर्ष २ हजारको दरले बढ्दै गइरहेको छ । गत वर्ष १७ हजार यस्ता घटना भएका थिए ।’ 

श्रीमान लामो समयका लागि विदेश जाने र यता श्रीमती एक्लै भएपछि विभिन्न शंका उत्पन्न भई यस्ता घटना घट्ने गरेको उनको बुझाइ छ । पैसाको कुरामा मनमुटाव हुँदा पनि यसले हिंसाको रुप लिने उनी बताउँछन् । आर्थिक,सामाजिक र सांस्कृतिक कारण नै यस्ता घटनाको मुख्य पाटो भएको उनको भनाइ छ । वैदेशिक रोजगारीले उग्र रुप लिइरहेको छ । यस्तै पाराले समाजमा नराम्रो असर पर्ने निश्चित छ । 

यता,अधिवक्ता वसन्त बस्नेत सरकारले स्वदेशमै उपयुक्त अवसर दिन नसक्दासम्म यस्ता घटना घटिरहने बताउँछन् ।
 

टिप्पणीहरू