बोसो घटेर हुनु छ स्लिम, सकिएकै छैन अझै अर्को फ्लिम
– दिनेश रायमाझी
यो चुनाव द्विपक्षीय होस् भन्ने चाहना थियोे अध्यक्ष ओलीको र त्यसैकारण एमालेको । तर त्यस्तो हुन सकेन । बरु चुनाव बहुध्रुवीयजस्तो पो हुन गयो । राप्रपा, रास्वपा, जनमतलगायत अरु धेरै नयाँ दलहरू राम्रै हैसियतसहित संघीय संसदमा आएका छन्् । उनीहरूले आशा गरेभन्दा धेरै राम्रो मत पाए तर एमाले भने आफूले दाबा गरेअनुसारको मत पाउन असमर्थ रह्यो । कांग्रेसको कुरा पनि एमालेकै जस्तै हो भन्दा हुन्छ । सिटमा बढोत्तरी हुँदा उसले पनि हौसिएर मेरा बाबै के के नै गरें वा भयो भन्नुपर्दैन, मत संख्या घटेकै छ । एमालेले आफूलाई चौतर्फी घेराबन्दी गरेका कारण परिणाम राम्रो आउन नसकेको भनेको छ अथवा यस्तो प्रतिकूल अवस्थामा पनि यति गर्नु भनेको धेरै राम्रो हो भन्ने दाबी छ । के जातिको तातोलाई न्यानो मान्न सकिने ठाउँ त छ यो तर्कमा । यसैलाई ठूलो उपलब्धि मानिरहेका छन्् मानिसहरू । तर, यथार्थ के हो भने यसपटक पुराना दलहरूको बोसो स्वाट्टै घटेको छ । तिनीहरू स्लिम भएका छन्् । तर, त्योभन्दा पनि ठूलोे कुरा यो छ कि वामपन्थीको लोकप्रिय मतमा उल्लेख्य गिरावट आएको छ । खासगरी शहरी क्षेत्रमा, विदेशमा पढ्न अथवा काम गर्न गएकाहरूको घरपरिवारमा र कलेज तथा युनिभर्सिटीमा अध्ययन गर्दै तर क्रमशःअराजनीतिक बन्दै गइरहेका युवामा वामपन्थीप्रतिको लगावमा गिरावट आइरहेको छ । अब यसलाई अर्थराजनीतिक परिप्रेक्ष्यमा हेरेर समीक्षामा जुट्ने हो कि अथवा बाह्यशक्तिको हात छ भनेर टार्ने हो कि अथवा केही पनि होइन भनेर चित्त बुझाउने ? अबको बाटो कस्तो हुने भन्ने कुरा यहीँबाट छुट्टिन सक्छ । यहीँनिर सबैले जान्नैपर्ने कुरा के छ भने गलत निश्कर्ष समातेर सही बाटो समात्न सकिन्न, गलतै ठाउँतिर पुगिन्छ ।
वामपन्थीले भन्ने गरेको समाजवादको विषय सुन्दा जतिसुकै मन लोभ्याउने भएता पनि अब त्यसमा विश्वास गर्न मानिसले छोड्न थालेका छन्् । समाजवाद भनेको एकमात्र त्यस्तो ब्यवस्था हो, जहाँ डेलिभरी नगरी त्यो हासिल गर्नै सकिन्न । पुँजीवादले जस्तो अर्थतन्त्रको सम्पूर्ण जिम्मा बजारलाई दिएर शान्तिले बसी खान समाजवादमा पाइन्न । जस्तोः देशमा सरकारी स्कुल तथा कलेज सञ्चालनमा छन् तर त्यहाँ सकेसम्म कुनै पनि बाबुआमाले आफ्ना छोराछोरीलाई पढाउन चाहन्नन् । निजी स्कुल धेरै महँगा छन् । तर, दुःखजिलो गरेरै भए पनि युनिफर्ममा टाई र कालो जुत्ता लाइदिएर उतै पठाउँछन् गरिबहरू ! यहाँनिर समाजवाद कहाँनिर देखिन्छ वा महसुस हुन्छ ? राम्रो, समान र गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने कुरा नै डेलिभरी हो । अस्पतालको हालत पनि यस्तै हो । कृषि, उद्योग, रोजगारी, पर्यटन, खेलकुद, सुशासन, पारदर्शिता, जिम्मेवारी कहीँ–कतै समाजवाद झुल्किन्न । यी सबै देखिने, उपभोग वा प्रयोग गर्न सकिने कुरा हुन् । यो कतै पनि नझुल्किएको भनेको डेलिभरी नभएको अवस्था हो । कति दिनसम्म भावनाको गुलियोमा दिन काट्दै समाजवाद पर्खेर बस्छन् जनता ? समाजवादको कुरा बाघ आएको हुँइयाँ चलाउने फटाहा गोठालोको जस्तो बन्दै गइरहेको छ । बराबरी हुन्छ, न्याय हुन्छ, क्षमताअनुसार काम पाइन्छ, रोग र भोकले मर्नु पर्दैन भनेर सधँै भनिरहने तर गरिबले कि त गिट्टी कुटेर कि भने अरबको मरुभूमिमा गएर मात्रै खान, लाउन र उपचार गर्न सक्ने कुराले झुट कुरा गरेको नै ठहर्छ नि होइन र ? अर्को कुरा, महामारी, भोकमरी, आपतविपद पर्दा सत्तामा रहेका वामपन्थीले जनताको निम्ति के गरे अथवा के गर्छन् भन्ने कुरा पनि समाजवादप्रतिको प्रतिबद्धता जाँच्ने आधार हो ।
कोरोना –१९ को महामारी आयो । देशमा लकडाउन भयो । जनता सयौं किमि हिँड्न बाध्य पारिए । विदेशी भूमिमा रहेका मजदुरमाथि चर्को भाडा असुल्ने काम भयो वामपन्थी सरकारबाट । अरु त अरु जहाज खाली उडायो तर मजदुरलाई त्यसमा चढाएर उद्धार गरेन । निजी जहाजलाई चर्को भाडा असुल्न लगाएर मन्त्रीहरूले भयंकर ठूलो आम्दानी गरे । औषधिमा कालोबजारी गरे । विवशतामा बाँच्नु एउटा कुरा हुन्छ । यस्तो अमानवीय काम गरेपछि कसरी भर पर्छ ? यस्तो कुकार्य गरेपछि कसको मन फेरिन्न ? साथै अविश्वास पनि पैदा गराउने नै भयो । यति, ओम्नी यस्तै महामारीको अवस्थामा वामपन्थी भनिनेको सरकारका छत्रछायाँमा जनता चुस्न बनाइएका ब्ल्याक बक्स हुन् । अतः डेलिभरीबिनाको समाजवाद कुनै पनि हालतमा चल्दैन । घनश्याम भुसालले भन्न खोजेको देखिने जबज यस्तै होला ।
के वास्तवमा हामीले मानेका मान्छे समाजवादी हुन् त ? यिनीहरू समाजवादी भएनन् भने समाजवादतिर जान सकिन्न । यसका केही मानक हुन्छन् जाँच्ने । पहिलो अवयव भनेको ती मान्छेको सम्पत्तिप्रतिको दृष्टिकोण हो । जीवनशैली, चालचरित्रमा बुर्जुवा कम, शालिन र भलाद्मी हुन्नन् । उनीहरूलाई प्रतिक्रियावादी मान्ने मूल आधार भनेको उनीहरूको सम्पत्तिमाथिको दृष्टिकोण नै हो । चुनावका दौरान हो कि अल्लि पहिले हो आफूले बनाएको ट्रष्टलाई आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति दिएको र अरुलाई पनि दिन चुनौती दिएको कुरा सुनियो । तर, त्यति धेरै सम्पत्ति कसरी जोडियो, किन जोड्न आवश्यक प¥यो र त्यति धेरै सम्पत्ति बाँचुञ्जेल किन चाहिन्छ भनेर कसैले सोधेनन् र प्रष्ट पनि पारिएन । चितवनमा कठ्ठौंमा सभागृह जस्तो आवास किन चाहियो अथवा अरुलाई पनि किन चाहिन्छ ? यस्तै उसको धर्मप्रतिको मतले पनि ऊ के हो भनेर जान्न सकिन्छ । हुँदाहुँदा त अब कम्युनिष्ट पार्टीको सम्बन्ध रहेको कार्यालयभित्र स्वस्तिवाचन गरेर प्रधानमन्त्री बन्न आशीर्वाद लिने अथवा चुनाव जितेर पहिले मन्दिरमा गई माथा टेकाउने काम गरिएको छ । यस्तो कामले विज्ञानको कहाँनिर पक्षपोषण गर्छ ? यो त अन्धविश्वास भयो । अन्धविश्वासमा भर गर्ने कोही पनि समाजवादी हुनै सक्दैन । हुन त यो विषय निजी मामिला हो व्यक्तिको तर यो निजी मामिला भन्ने कुरा जनताको निम्ति हो राजनीतिक नेतृत्व र त्यो पनि वामपन्थी हुँ भन्नेहरूको निम्ति होइन । नेतृत्व जे हो त्यस्तै देखिनुपर्छ ।
जे सुकै कारणले भए पनि राष्ट्रिय राजनीतिमा नयाँ समूहले प्रवेश पाएको कुरालाई स्विकार्नुपर्छ । ती समूह को हुन्, कस्ता छन् र तिनले के गर्न चाहेका छन्् भन्ने कुरा कसैबाट लुकेछिपेको छैन । सारा देशभरि उम्मेदवार उठाउने समूहले केही ठाउँमा उम्मेदवारी नदिने कुरा, खासखास मानिस पराजित हुने कुरा सरल रेखाजस्तो सिधा र चानचुने होइन । यसको तन्तु एमाले महासचिवले भनेजस्तो अन्त्यतिर जोडिएको पनि हुन सक्छ । अनि यस्तो भन्दै पनि गर्ने र आफू फेरि उही पुरानै ढर्रामा, बदनाम चालचरित्र बोकेर, पुरानै शैली लिएर हिँड्ने, नसच्चिने हो भने नयाँ प्रवेशीले रंगको क्रान्ति घटित गराउन सफलता पाउन सक्छन् । त्यसकारण अब वामपन्थीले मात्रै होइन अन्य धर्मनिरपेक्ष, सेक्युलर तथा प्रोग्रेसिभ शक्ति र व्यक्तिले पनि विचार पु¥याउनु जरुरी छ । किनभने चुनाव जितेर आएको मान्छे नेतृत्वमा रहिरहने लालचमा कसरी देशको अस्तित्व मेटाउन पनि तयार हुँदारहेछन् भन्ने कुरा युक्रेनलाई हेरेर बुझ्न सकिन्छ । काठमाडौंको डोजर आतंक पनि चानचुने होइन भनेर बुझ्नुपर्छ ।
अबको बाटो के त उसोभए ? अबको बाटो भनेको एमालेले अहिले अँगाल्न खोजिरहेको दरबारिया तथा हिन्दूवादी राजनीति परित्याग गरेर वास्तविक समाजवादको बाटोमा फर्किने हो । यो भनेको जे भनिन्छ त्यही गर्ने, त्योभन्दा अर्थोक नगर्ने र वाम आन्दोलनको पुनर्गठन गर्न लाग्ने हो, दक्षिणपन्थी बाटो परित्याग गर्ने हो । एमालेसहित माके, एसलगायत अरु पनि वामपन्थी दल एउटा कित्तामा नआएसम्म वामपन्थी शक्तिशाली बन्न सक्नेछैन । वामपन्थी कमजोर हुने भनेको नजानेको, नचिनेको नयाँ शक्ति उदाउने हो । कांग्रेसले पनि आफूभित्र घुस्दै गरेको शक्तिको पहिचान गरी त्यसलाई आफूबाट अलग गर्ने हो । यो किन जरुरी छ भने एमाले र कांग्रेसले राष्ट्रिय राजनीतिमा खेल्ने भूमिकाले नै देश कता जान्छ र देशमा कस्तो शक्तिको उदय हुन सक्छ भन्ने थाहा हुन्छ ।
टिप्पणीहरू