कश्मिर क्रमशः फूलमा खुल्दाको कथा
फूलै—फूलको ‘संसार’मा कैयौँ मानिस रमाइरहेका छन् । उनीहरू मनोरम ‘ट्युलिप’मा खेल्न आउँछन् । हिउँले ढाकिएको हिमालय घुम्न आउँछन् । ‘डल’ तालमाथि तैरिन मन पराउँछन् ।
मानिसहरू प्राकृतिक सौन्दर्यको लागि यहाँ आउँछन् । ‘हिन्दू राजा र मुगल सम्राट’को इतिहास नियाल्न आउँछन् । नदी—नाला तर्दै पहाडको खोचसम्मै आउँछन् ।
आतंकवादले थलिएको श्रीनगर जुरमुराउँदै छ । जम्मु—कश्मिरमा फेरि एकपटक पर्यटकहरू फर्किएका छन् । वर्षौदेखि अँध्यारो ‘वाद’भित्रै रुमल्लिएको ‘जम्मु—कश्मिर’ले रुप बदलिएको संकेत गर्दैछ ।
हिमाली भेगको सुन्दर उपत्यका श्रीनगर,जहाँ दशकौंदेखि हिंसात्मक पृथकतावादी गतिविधि सक्रिय छ । वादविवाद सहँदै,चोटपटक खप्दै हुर्किरहेको जम्मु—कश्मिरमाथि तीन वर्षअघि भारतीय ‘मोदीतन्त्र’को आँखा लाग्यो ।
भारतको केन्द्र सरकारले एउटा अचम्मको कदम उठायो । नरेन्द्र मोदी नेतृत्वको हिन्दू राष्ट्रवादी सरकारले मुस्लिम बहुल इलाकालाई नियन्त्रणमा लियो । स्थानीयमाथि गोली बर्सायो । नेतृत्वलाई नजरबन्दमा राख्यो तर अहिले त्यहाँबाट आतंकवादी धपाइँदैछ । श्रीनगरमा चहलपहल बढ्दैछ ।
भारतका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह भन्छन्, ‘जम्मु—कश्मिर क्षेत्र आतंकवादको केन्द्र थियो । अब पर्यटकीयस्थल बन्दैछ ।’ श्रीनगर आगन्तुकलाई आफूतिर तान्दै सुस्त लयमा हिँडिरहेको छ ।
श्रीनगरबासी मुस्कुराउँदै छन् । उनीहरू आन्तरिक वा विदेशी पर्यटक भेट्दा ‘चैनको सास’ लिन खोज्छन् । तर ‘जम्मु—कश्मिर’ डर,वैराग्य र अनिश्चितताको गम्भीर चक्रमा फसेको छ ।
श्रीनगरको ट्युलिप बगैंचाले सुनौलो सुगन्ध बाँडिरहेको छ । लाखौं फूलको सौन्दर्यमा हजारौँ मानिसहरू रमाइरहेका छन् । पारिवारिक जमघट गर्छन् । सेल्फी खिच्छन् । बगैंचाभित्र फूलसँगै खेल्छन् । तर बगैंचा बाहिर डरको भावना छ ।
उपत्यका छिर्नुपूर्व भारतीय सेनाको चेकपोइन्ट छ । हात—हातमा बन्दुक छन् । सेनाले केरकार गरिरहेको छ । हिमालमा ‘मानसिक शान्ति छैन ।’
संसारका अन्य भागजस्तै,यहाँपनि उपत्यका छ । समाज छ। मान्छे छन् । त्रास छ । प्रेम छ । पत्रपत्रिका छन् । जेल छ । जेलभित्र निर्दोष नागरिक थुनिएका छन् ।
एक समय कोरोना थियो । त्यो सकियो । श्रीनगरमा सबैथोक छ। तर मानवता हराएको छ । नयाँ दिल्लीले राज्यको अर्धस्वायत्तता खोस्यो । संसारसँग सञ्चार बन्द गर्यो । त्यो एक समय थियो ।
अहिले कश्मिर बेग्लै छ। सामान्य छ । बदलिएको छ । कश्मिरीहरू आफूलाई बन्दुकले ढाकेको बताउँछन् । आतंकवाद र केन्द्र सरकारको आतंकभित्र भेटाउँछन् । निरन्तर निगरानीले आतंककारी आक्रमण त घटेको छ तर अल्पसंख्यक हिन्दूको हत्याको लहर उस्तै छ।
सन् १९९० को दशकतिर आतंकवादको चरम समयमा कश्मिरबाट हिन्दू पलायन रोकिएन । त्यो बेला हजारौं मानिस मारिए । अन्ततः ‘जम्मु—कश्मिर’ सुक्यो । आतंकवादको जालोमा फस्यो ।
तर दशकौंपछि उपत्यकामा शान्तिको लहर आउँदा पर्यटनले गति लिएको छ । पर्यटकहरू भित्रिँदै छन् । श्रीनगरमा सन् २००७ मा ट्युलिप बगैंचा स्थापना गरियो । बगैंचा ३० हेक्टर जमिन ओगटेर ‘डल ताल’ वरिपरि छरिएको छ।
ट्युलिपभित्र दर्जनभन्दा बढी रङका फूलहरू छन् । भारत—पाकिस्तान युद्धविरामपछि पर्यटकहरू बढ्दै छन् । कश्मिर उपत्यकामा यसवर्ष २० लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । जो अघिल्लो वर्षको तुलनामा तीन गुणाले बढी हो ।
भारतीय दक्षिणी शहर बैंगलोरबाट श्रीमतीसहित बगैंचामा भेटिएका एक जना पर्यटकले भने, ‘सुन्दर छ श्रीनगर । असाध्यै सुन्दर लाग्यो उपत्यका । राम्रो छ बगैंचा,धेरै सुन्दर छन् रङहरू।’
टिप्पणीहरू