अष्ट्रेलियन पूर्वप्रधानमन्त्री मातृका कोइरालालाई पछ्याउँदै अमेरिकातिर

अष्ट्रेलियन पूर्वप्रधानमन्त्री मातृका कोइरालालाई पछ्याउँदै अमेरिकातिर

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त भएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो नियुक्तिलाई हालसम्मकै उत्कृष्ट रहेको बताएका छन् । ‘पूर्वप्रधानमन्त्री र पूर्वविदेशमन्त्रीको जिम्मेवारीपछि यो पद सम्हाल्न सहमत भएर उनले अष्ट्रेलियाको साखमा ठूलो परिवर्तन ल्याउनेछन्’, प्रधानमन्त्री अल्बानिजले भने । 

धाराप्रवाह मन्डारिन भाषा (चिनियाँ) समेत बोल्ने रुडले सन् २०१३ मा राजनीति छाडेपछि चीनसँगको वैदेशिक सम्बन्धवारे व्यापक रूपमा लेख्दै र बोल्दै आएका छन् । उनी अष्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन् । 

अमेरिकाको लागि राजदूतको जिम्मेवारी उनले आगामी वर्षको शुरुदेखि सम्हाल्ने बताइएको छ । केभिन रुड अमेरिकाका लागि राजदूत नियुक्त भएकामध्ये हालसम्मकै तेस्रो पूर्व प्रधानमन्त्री हुन् । यसअघि पाकिस्तानका मोहम्मद अलि बोग्रा र नेपालका मातृकाप्रसाद कोइराला पनि पहिले प्रधानमन्त्री र पछि अमेरिकाको लागि राजदूत बनेका थिए । 

कोइराला सन् १९६१ जुलाई १३ का दिन राजदूत नियुक्त भएका हुन् । त्यतिबेला नेपालमा प्रधानमन्त्री तुलसी गिरी र अमेरिकामा राष्ट्रपति जोन एफ केनेडी थिए ।

टिप्पणीहरू