हारेपछि बिदेशीलाई दोष

हारेपछि बिदेशीलाई दोष

बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री  धवलसमशेर राणामाथि गम्भीर आरोप लागेको छ । नेपालगन्ज नगरपालिकाको पूर्वमेयरसमेत रहेका उनलाई जनता समाजवादी पार्टीबाट पराजित पूर्वमन्त्री मोहम्मद इस्तियाक राइनले आरोप लगाएका हुन् । धर्मको सहारा लिएर धवलसमशेरले चुनाव जितेको उनको दाबी छ । जनआस्थासंग बोल्दै राइनले भने,‘देशी विदेशी दुइटै शक्ति मलाई हराउन सक्रिय थिए ।’

नेपालगन्जमा विदेशीको उत्तिकै सक्रियता रह्यो । नेपालमै कुनै समय सम्बन्धित देशका लागि मुकाम बनाएर काम गरिसकेका व्यक्तिहरु आफूलाई हराउन लागिपरेको राइनको ठम्याई छ । यो भनाइ छिमेकी मुलुक भारतीय पक्षसंग जोडिएको स्पष्ट हुन्छ । त्यसमा पनि हिन्दूवादी समूहहरु सक्रिय रहेको उनको बुझाइ छ । 

आफू निर्वाचित भएको खण्डमा अर्को २० वर्ष कसैको पालो नआउने सोच धेरै ईर्ष्यालु राजनीतिक दलका नेतामा देखिएको राइन बताउँछन् ।  उनकाअनुसार विभिन्न पार्टीका झण्डै १५ हजार मत धवललाई गएको छ । कांग्रेसीसहित रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ संगै शिवसेना नेपालको मतसमेत धवलतिर ‘ट्रान्सफर’ भएको छ । 

गत आमनिर्वाचनमा धवलले २९ हजार मत ल्याएका थिए भने कांग्रेसका उम्मेदवार सुदीप नरसिंह राणाले जम्मा चार हजार चार सय मत प्राप्त गरेका छन् । राप्रपाले त्यत्रो मत ल्याउनुको कारण यस्तै भएको उनको भनाइ छ । ‘कांग्रेसको मत कता गयो भनेर त यहीँबाट प्रष्ट हुन्छ’,उनले भने । 

त्यस्तै,राइनले २३ हजार मत ल्याएका छन् । चुनावअघि त्यहाँको रिपोर्टिङ गर्न जनआस्था प्रतिनिधि आफैं नेपालगन्ज पुगेका थिए । त्यतिबेला राइनले आक्रामक रुपमा चुनावी माहौल खडा गरिरहेका थिए । त्यहाँको प्रशासन,नागरिक समाज र स्थानीयले बढीमा एक हजारको मतान्तर देखिने बताएका थिए । तर, परिणाममा ६ हजार मतान्तर देखियो । 

धवलले हिन्दूत्वको नारा दिए राइनलाई अप्ठ्यारो पर्ने त्यतिखेर नै आकंलन लगाइएको थियो ।  राप्रपा पक्षले चुनावी बुथमा समेत हिन्दूले राप्रपालाई भोट हाल्नुपर्छ भन्दै नाराबाजी गरेको राइनको गुनासो छ । सोही क्षेत्रबाट विगतमा कांग्रेस सभापति सुशील कोइराला निर्वाचित भएका थिए ।

चुनावमा जेजस्तो भएपनि अहिले हिन्दू र मुस्लिमलगायत सबै नेपालीबीच एकता र सद्भावको खाँचो त्यहाँका सबैले औंल्याएका छन् ।

टिप्पणीहरू