गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान

गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान

खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले एक सय २० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरुलाई सम्मान गरेको छ । पोखरामा आज साँझ भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो । भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मीलगायतमा काम गरेर सेवानिवृत भएकाहरुको कार्यक्रममा सहभागिता छ । 

सो क्रममा कम्पनीले वीरता प्रदर्शन गरी भारतमा विभिन्न पदक पाएका इण्डियन आर्मीका रिटायर्ड सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्वीन एलिजावेथलगायत प्रतिष्ठित मेडलबाट सम्मानित ब्रिटिस आर्मीको मेजर पदबाट सेवानिवृत दिलबहादुर गुरुङलाई विशेष सम्मान गरिएको छ ।

कम्पनीको तर्फबाट मानव संशाधन प्रमुख जनकराज रेग्मीले श्रेष्ठ र गुरुङलाई विशेष प्रकारले सुसज्जित खुकुरी उपहार दिई सम्मान गर्नुभएको थियो । कार्यक्रममा सहभागी एक सय २० भन्दा बढी पूर्व गोरखा सैनिक र तिनका पत्नीहरुलाई पनि कम्पनीले टोकन अफ लभले सम्मान गरेको छ ।

गोर्खा सैनिकको वीरता र त्यसको प्रतिकको रुपमा रहेको खुकुरी र सोही नामबाट सर्वश्रेष्ठ रम उत्पादन गर्दै आएको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको उनीहरुको भनाइ छ । कार्यक्रममा कम्पनीले आगामी वर्ष लडाईंको मैदानमा वीरता प्राप्त गर्ने गोर्खा सैनिकका दुई जना बालबालिकालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृत्तिको समेत घोषणा गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका नेपाली सेनाका प्रमुख मेजर जनरल दिपककुमार बानियाँले खुकुरी रमले थालेको नौलो र महत्वपूर्ण प्रयासका लागि धन्यवाद दिएका छन् । उनले आफूले समेत विदेशी साथी तथा आफन्तलाई नेपालको उपहारको रुपमा खुकुरीको कोरोनेसन ब्राण्ड लैजाने गरेको उदाहरण दिँदै भने, ‘गोर्खा सैनिकहरुप्रति कम्पनीले देखाएको सदाशयता प्रशंसनीय छ । आफूहरु पूर्व सैनिकहरुसँग सहकार्य गर्न तयार छौं ।’ 

गोर्खा समाज पोखराका अध्यक्ष लक्ष्मीबहादुर गुरुङले मुलुकले आफूहरुलाई बिर्सिएको तर नेपाल डिस्टीलरिजले सम्झिएर सम्मान गरेकोमा धन्यवाद दिए । सम्मानपछि कम्पनीले पूर्व गोर्खा सैनिक र तिनका परिवारको निम्ति रात्रिभोजको समेत आयोजना गरेको जनाइएको छ ।

टिप्पणीहरू