सरकारका कानुनी सल्लाहकारले खाए शपथ
नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएका हुन् ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो । त्यस्तै, नायव महान्यायाधिवक्ताहरु कृष्णजिवी घिमिरे,पदमप्रसाद पाण्डेय,विश्वराज कोइराला,नेपाली सेनाका रथी सीताराम खड्का, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,नेपाल प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत पनि उपस्थित थिए ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । सरकारको कानुनी सल्लाहकार भनिने महान्यायाधिवक्ता पद प्रधानमन्त्रीको अनुकूलतामा नियुक्त गर्ने अभ्यास रहँदै आएको छ ।
अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रही कानुन व्यवसायमा संलग्न छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बहस गरेका थिए ।
टिप्पणीहरू