पढाइ रोकेर विद्यालयमा मेला, विद्यार्थी मर्कामा

पढाइ रोकेर विद्यालयमा मेला, विद्यार्थी मर्कामा

जाजरकोटको भेरी नगरपालिका ३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरेर महोत्सव सञ्चालन गरेपछि विद्यार्थीहरु मर्कामा परेका छन् । जाजरकोट उद्योग वाणिज्य संघले पठनपाठन रोकेर मेलाको आयोजना गरेपछि विद्यार्थीहरु मारमा परेका हुन् । 

तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा परम्परादेखि सञ्चालन गर्दै आएको उत्सव हाल महोत्सवमा परिणत भएको बताइएको छ । आयोजकले एक साताका लागि विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएको विद्यार्थी र अभिभावकहरुको गुनासो छ ।

विद्यालयमा मेला आयोजना गरिँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीको पढाइमा परेको हो । आगामी आइतबारसम्म सञ्चालन हुने ‘कृषि, पर्यटन, कला, वातावरण तथा औद्योगिक व्यापार मेला–२०७९’ का कारण विद्यार्थीको पठनपाठनमा धेरै नोक्सान हुने अभिभावकहरुको बुझाइ छ । 

पढाइ रोकेर व्यवसायिक हितका लागि विद्यालय परिसरमा महोत्सव गर्न दिनु गलत भएको अभिभावकहरुको भनाइ छ । यता, आयोजकले महोत्सव सञ्चालन गर्न नगरपालिकासँग अनुमति नलिएको बताइन्छ । बिना स्वीकृति आयोजकले विद्यार्थीको पठनपाठन रोकेर मेलाको आयोजना गरेको हो । नगरपालिकाका शाखा अधिकृत दलबहादुर घर्तीले अनुमति नलिइ मेला सञ्चालन गरेको बताए । 

कुनै पनि संघसंस्थाले मेलाको आयोजना गर्नपरेको अवस्थामा स्थानीय सरकारबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था छ । कहिँकतै खबर नगरी संघले आफूखुसी मेलाको आयोजना गर्दा स्थानीय सरकारले खोजीनीतिमा चासो देखाएको छैन । त्यस्तै, नगरपालिकाका विद्यालय निरीक्षक अमृतबहादुर पुन यसलाई दुई तरिकाले हेर्नुपर्ने बताउँछन् । विद्यालयको पठनपाठन प्रभावित भएपनि मेलाबाट धेरै कुरा सिक्न सकिने उनको दाबी छ । 

विद्यालयमा वर्षेनी यसरी नै मेला आयोजना हुने गरेको छ । परम्परागत मेला भएकाले यसलाई रोक्न नमिल्ने उनले सुनाए । पहिले दुई–तीन दिन चल्ने मेलालाई बढाएर पाँच दिनसम्म पुर्याइएको निरीक्षक पुनले सुनाए । मेला सञ्चालन गर्न अन्यत्र उपयुक्त स्थान नभएकाले विद्यालयमै सञ्चालन गर्नुपरेको उनको भनाइ छ । विद्यालयमा मेला सञ्चालन गर्दा विद्यार्थीको पठनपाठन चौपट भएको अभिभावक दीपक खत्रीको बुझाइ छ । 

‘विद्यालयमा मेला सञ्चालन गर्न दिँदा पढाइमा डिस्टर्ब भएको छ । यसअघि नगरपालिकाले मेला आयोजना गर्न छुट्टै ठाउँको व्यवस्थापन गरिदिएको थियो’, उनले भने, ‘स्थानीयले विरोध गरेपछि फेरि विद्यालयमै थालियो । अरुलाई सहज भएपनि विद्यार्थीचाँहि मर्कामा परेका छन् ।’

राजनीतिक दल, संघसंस्थाले कुनैपनि बहानामा विद्यालय बन्द गराउन नपाउने, शैक्षिक वातावरण प्रभावित हुने गतिविधि गर्न नपाउने प्रावधान भए पनि यो व्यवहारमा लागु हुनसकेको छैन ।

टिप्पणीहरू