राप्रपा अध्यक्षलाई मन्त्री बन्ने/नबन्नेबारे सिमरा बोलाएर सल्लाह गरे पूर्वराजाले, देउवाको त्यो विश्वास जसले चुर्लुम्म डुबायो
सत्ता राजनीतिमात्र दुर्घटित भएको छैन, त्यसले बोकेको एजेण्डा, जितेका मुद्दा र बाँकी कार्यभारहरू पनि घानमा परेका छन् । कारण हो, शेरबहादुरले आफ्नो माग संबोधन हुने एक थान प्रधानमन्त्री पदमात्रै देख्नुभयो, देशभरिको सयौं सत्ता देख्नुभएन । उता प्रचण्डले पनि तेस्रो पटक प्रधानमन्त्री नबनी नछाड्ने रहरका अगाडि सारा राजनीतिक ध्येय बिर्सिनुभयो ।
पुरानै सत्तारुढ गठबन्धनलाई पात्र र नेतृत्वकर्ता तलमाथि पार्दै निरन्तरता दिने भनेर शनिवार दिनभरिसम्म चलेका संवाद सकारात्मक दिशातर्फ नै उन्मुख थिए । रातभरि पलाएका अग्राखले अकस्मात् आइतवार कुरा बिगा¥यो । प्रचण्ड शनिवारको बसाइमै ‘अब कांग्रेससँग पार लाग्दैन’ भन्ने बुझेर अर्को तयारीमा जुट्नुभएको थियो । भोलिपल्ट ‘एकचोटि कोशिस गरी हेरौँ त’ भनेर मात्रै बालुवाटार छिर्नुभएको हो ।
प्रचण्डको ‘मुभ’ बुझेर सकेसम्म कुरा नबिग्रियोस् भन्ने चाहनासहित माधवकुमार नेपाल शेरबहादुर र प्रचण्डसहितको वार्तामा भित्रिनुभयो । आफूले मात्र नपुग्ला भनेर झलनाथलाई पनि बोलाउनुभयो । तर, राष्ट्रपति र प्रधानमन्त्रीका प्रसंग निस्किनासाथ ‘हुँदै हुँदैन’ भन्ने देउवाको एकोहोरो रटानले त्यहाँ कुरै मिल्न दिएन । तै, प्रचण्ड निस्किएपछि शेरबहादुरलाई मनाउन सकिन्छ कि भनेर माधव–झलनाथ थप केही मीनेट त्यहीँ रहनुभयो । फेरि पनि उहाँहरूको केही चलेन । यसपछि दिनमात्रै ढलेन, कुराहरू पनि छिप्पिँदै गए ।
शेरबहादुरलाई लागेको थियो, ‘प्रचण्ड गए पनि केही बिगिँ्रदैन †’ तर, कुरा बिग्रिन थालेपछि परिस्थिति तासको घरजस्तो ढल्दै गयो । भनिन्छ, पश्चिमी विश्वले गगनलाई संसदीय दलको नेता बनाए पनि उनलाई प्रधानमन्त्री बनाएर जान नसकिने भएपछि शेरबहादुरलाई टिक्नबाट रोक्नेतिर सबै लागे । बाहिरकै उत्पादन भनी एमाले–माओवादीद्वारा आरोपित रवि लामिछाने र सिके राउतहरूलाई प्रचण्डभन्दा अगाडि नै बालकोट पठाइयो । शेरबहादुरले भनेअनुसार, रविले उनीसँग मन्त्री मात्रै मागेका थिए । तर, प्रचण्ड–ओली उपप्रधानसहित सबभन्दा शक्तिशाली मन्त्रालय उनलाई दिन बाध्य भए ।
देउवा नेतृत्वको सत्ता गठबन्धनविरुद्ध ‘प्लान ए–बी–सी’ गरी थरिथरिका अभ्यास तय गरिएको थियो । तर, गठबन्धन जोगाउनुपर्ने कांग्रेस नेताहरू आ–आफ्नै धुनमा थिए, मानौँ कि केही भएकै छैन । प्रचण्ड बालकोट पुगिसक्दा पनि ‘खाना खान खुमलटार जानुभएको हो, खाएर आइहाल्नुहुन्छ’ भन्दै गलल हाँसी बसिरहेका थिए । प्रचण्डसँग कुरा नमिल्दा एस, जसपा, स्वतन्त्र, उन्मुक्ति र जनमतलाई मिलाएर लानुपर्छ भन्ने कुराको तयारी त टाढाको भयो, यतातिर सामान्य सोच पनि बनाइएन । नत्र, आइतवार १२ बजेपछि बालकोटमा विभिन्न पार्टीहरूको जुन लर्को लाग्यो, त्यस्तो लर्को बालुवाटारमा बिहानैदेखि लागेको हुनुपथ्र्यो । फेरि बालुवाटारमा यति गहिरो कुरा सोचेर तयारी गरिदियोस् कसले ?
अलिक सुझबुझ भएका रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, कृष्ण सिटौलाहरू अलमलमा परिरहेका थिए । सिटौला त आजित भएर मनकामना केबलकारका साहुजीको विशालनगरस्थित घरमा गएर बसिदिए । यस्ता कुरा मिलाउन माहिर मानिने डा.मीनेन्द्र रिजाल चुनावमा टिकट नपाएपछि देउवासँग ३६ को आँकडा बनाएर बसेका छन् । विश्वप्रकाश–गगन थापाहरू यसै पनि संसदीय दलको चुनावबाट घाइते नै थिए । यदि बालुवाटारबाट वैकल्पिक अभ्यास हुन पाएको भए एमालेसँग माओवादी र राप्रपामात्रै हुने थिए ।
प्रचण्डले शनिवार सम्मानजनक पावर शेयरिङ हुँदा देउवा प्रधानमन्त्री हुने कुरामा आफूलाई आपत्ति नभएको भन्दै ‘साथीहरूसँग सल्लाह गर्छु’ भन्नुभएको थियो । देउवाले जसरी नै ‘साथीहरूसँग सल्लाह गर्छु’ भन्ने नाममा उहाँले गठबन्धन तोड्ने निश्कर्ष निकाल्नुभएको रहेछ । आइतबार एकछिन प्रधानमन्त्री हुन जोडबल गर्नुभयो, कुरा नमिलेपछि ‘गठबन्धन टुट्यो’ भन्दै निस्किनुभयो । कांग्रेसचाहिँ अन्तिमसम्म पनि ‘कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय’ भन्दै प्रधानमन्त्री नछोड्ने मै रह्यो ।
यसबीच, एमालेको दोस्रो, तेस्रो तहका नेताले एकीकृत समाजवादीका नेताहरूसँग ‘मिलौँ’ भन्ने कुरा गर्न थाले । तर, ठोस प्रस्ताव नभएका कारण कुरा अघि बढ्न पाएन । प्रचण्ड चित्त दुखाएर रिसाउँदै बालकोट जान लागेको सूचना पाएपछि एकीकृत समाजवादीका नेताहरूमार्फत् कांग्रेस लौ त लौ उसो भए, उहाँलाई नै छाडिदिऊँ, मिलेरै जाऊँ भन्ने तहमा ओर्लियो । माधव नेपालले भन्नुभयो, ‘हामीले भनेर हुँदैन, तपाईंहरू आफैँ कुरा गर्नुस् †’ यसपछि बालुवाटारबाट सीधै फोन गयो । बाटैबाट प्रचण्डले जवाफ दिनुभयो, ‘अब सम्भव छैन । हामी शीतल निवास जान थाल्यौँ ।’
देउवालाई लागेको थियो, प्रचण्ड गए पनि एमाले या अन्यत्रबाट उहाँले सरकार बनाउन सक्नुहुने छैन । र, यस्तै स्थितिमा साँझ ५ बजेपछि संविधानको धारा ७६ उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको हैसियतले आफूले सरकार बनाउन पाइनेछ । तर, परिस्थिति त्यहाँसम्म पुग्न दिँदैनन् भन्ने सोच्न पनि भ्याउनुभएन । स्थिति बिग्रन नपाओस्, थप छलफलका निम्ति राष्ट्रपतिसँग समय मागौं भन्दा पनि मान्दै मान्नुभएन । उहाँ कि प्रचण्ड सबैतिरबाट निराश भएर फर्कने या ओलीले आफूलाई साथ दिनेमा ढुक्क देखिनुभयो । या त उहाँलाई आफ्नो कोटरी या एमाले बृत्तबाट भुलभुलैयामा पारियो ।
यसरी देउवाले पदको लोभ गरेर सत्ता गुमाउनुभयो र त्यही गरेर प्रचण्डले राजनीतिमा धेरैतिरको विश्वास गुमाउनुभयो । प्रचण्डले पहिले केपी ओलीको प्रस्तावमा प्रधानमन्त्री हुन्न भन्नुभयो । कांग्रेसलाई लाग्यो, ‘ओलीबाट पार लाग्दैन प्रचण्ड कतै जाँदैनन् ।’ त्यसमाथि देउवालाई ‘छोड्नै हुँदैन’ भनेर उकास्ने आरजु राणा, ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधीसहित दक्षिणका शक्तिहरूका कारण यतिबेला नेपाली कांग्रेस बेहुली अन्माएको घरजस्तो उदास बन्न पुगेको छ । पत्नीको पेलान, ज्योतिषको गफ र ओलीको छर्रामा देउवा ०६१ मघ १९ मै राजाबाट गलहत्याइए झैं चपरीमुनि पुग्नुभएकोे छ ।
यसबीच हिजो मंगलबार पूर्वराजा ज्ञानेन्द्रले नयाँ सरकारलाई समर्थन जनाएको आफू पक्षधर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल समशेरलाई सिमरा बोलाएर मन्त्रिमण्डलमा सामेल हुने नहुनेबारे सल्लाह गर्नुभएको बुझिएको छ । त्यत्तिकै सरकारमा सामेल हुँदा हिन्दु राज्य र राजतन्त्रको एजेण्डाबाट च्युत भएको अर्थ लाग्ने पूर्वराजाको भनाइ रहेको स्रोत बताउँछ ।
– विश्वमणि सुवेदी
टिप्पणीहरू