‘मैले चालिस लाख खाएको छैन’

गत माघ १६ गते जनआस्था साप्ताहिकमा प्रकाशित ‘चालिस लाख खाए, मुद्दा पनि डुबाए’ शीर्षकको समाचारमा मेरो गम्भीर विमती छ । सो समाचारमा उल्लेख भएजस्तो मैले चालिस लाख रकम खाएको छैन र मुद्दाको विपक्षीसँग मिलेर बिगार्ने काम गरेको छैन ।
काठमाडौं महानगरपालिका–१४ बस्ने सेनाका पूर्व ठेकेदार बिपिनबहादुर कर्माचार्यको निधन भएपछि के एण्ड एस इन्टरप्राइजेज प्रालि छोरा विक्रमले नामसारी गरेर चलाइरहेका रहेछन् । भाइ विनयकी श्रीमती त्रिशुला न्याछ्योँले काठमाडौं जिल्ला अदालतमा अंश, मानाचामल, दूषित लिखत बदर र जालसाजीको मुद्दा दायर गरेकी थिइन् ।
उनले ४२ आना घरजग्गा धितो राखेर हिमालयन बैंक लिमिटेड ठमेल शाखाबाट २० करोड रुपैयाँ ऋण लिएका थिए । मुद्दाले सम्पूर्ण घरजग्गा रोक्का भएपछि विक्रम तनावमा थिए । भाइबुहारीले आठ करोड रुपैयाँ दिएमा मुद्दा मिलापत्र गर्ने भनेका रहेछन् । यता, बैंकले पनि पटकपटक घरजग्गा लिलामीको सूचना निकालेपछि विक्रमलाई साह्रै पीर परेको थियो ।
उनकै घरमा मोटरपार्टस पसल सञ्चालन गरेर बसेका सुनोज थापाले मसँग चिनजान गराइदिएका हुन् । त्यसपछि उनले आफ्नो मुद्दा हेरिरहेकी वरिष्ठ अधिवक्ता सविता भण्डारी (बराल) बाट फाइलहरु मेरो अफिसमा ल्याए । मैले कानुन व्यवसायीको हैसियतमा उनको मुद्दा हेरेको हुँ । वादी विक्रम र प्रतिवादी एसडिजी ग्लोबल इम्पोर्टस् भएको मुद्दामा मिलापत्र गराइदिएँ । त्यो मात्र नभई अन्य थुप्रै मुद्दामा उनले राहत पाएका छन् ।
उनलाई आफ्नो झैं सोचेर बारम्बार होमसर्भिस दिएँ । उनले जतिबेला फोन गरे पनि उठाएर परामर्श, सल्लाहसुझाव दिन्थें । दिनरात नभनिकन जहाँ बोलाउँथे, त्यहीँ जान्थें । घरजग्गा लिलाम गर्नुभन्दा पनि बेच्यो भने केही पैसा हात पर्छ भनी मैले नै सुझाव दिएको हुँ । घर किनबेचको क्रममा निराजन बस्नेतमार्फत केदार अर्यालसँग चिनजान भयो । तर, उनले लामो समयसम्म घर किन्न सकेनन् । ३५ करोड रुपैयाँमा बेच्ने भनिएको घर अन्तिममा ३२ करोडमा खरिदबिक्री भएको हो । घर बिकेको रकमले बैंकको साँवाब्याज तिरी पाँच करोड रुपैयाँ बुहारीलाई बुझाए । घरजग्गा खरिदबिक्री गर्ने क्रममा म स्वयंम् धेरैचोटि मालपोत कार्यालय पुगेँ । मैले दिएको साथ–सहयोगको समेत ख्याल नगरी उनले एउटा मुद्दाको विषयमा विवाद निकालेका हुन् ।
अदालतले एकतर्फी रुपमा जग्गा फुकुवा गरेको विषयलाई लिएर उनले विपक्षी वकिल सविता र मुकुन्द श्रेष्ठलाई कारबाहीका लागि लेख्न भनेका थिए । तर, मैले नमानेपछि उनले विपक्षीसँग मिलेको आरोप लगाए । मेरो सहयोगी प्रभाकुमारी चौधरीलाई समेत हप्कीदप्की गरे । जबकि, उनी पुनरावेदनमा जाने म्याद गुजारेर बसेका हुन् । मैले दूषित धितो बन्धक लिखत बदर मुद्दा हाल्नुपर्छ भनेको थिएँ । उल्टै फाइल लिएर गए । मैले अंश दपोटको मुद्दा हाल्न भनेको छैन । यता, विक्रमसहित उनकी श्रीमती निप्सा र भाइ विनयले ममाथि हातपातको प्रयास गरे । आफूलाई असुरक्षा महसुस भएपछि मैले जिल्ला प्रहरी परिसर, काठमाडौंमा अभद्र व्यवहार र जिल्ला प्रशासन कार्यालयमा शान्तिसुरक्षाको माग गर्दै निवेदन दिएँ ।
पछि जाहेरी फिर्ता लिएँ । केदारले जाहेरी र शान्ति सुरक्षाको निवेदन पठाइदिनु, म सम्झाउँछु भनेपछि ह्वाट्सएप गरिदिएँ । तिनै फोटोहरुलाई आधार बनाएर मविरुद्ध उच्च अदालत, पाटनमा निषेधाज्ञा मुद्दा दायर गरेका हुन् । मैले अदालतको सम्मान गर्दै त्यसको जवाफ दिएको हुँ । आफूले भनेअनुसार हुँदासम्म भगवान् ठान्नु र हुन छोडेपछि लाञ्छना लगाउनु मानवीय स्वभाव हो । मेरो हकमा पनि त्यही नै भएको हो ।
– कुमार आचार्य
टिप्पणीहरू