अस्पताल पुगेका बिरामीलाई शौचालयमा बेहोस हुने डर

अस्पताल पुगेका बिरामीलाई शौचालयमा बेहोस हुने डर

कोशी अस्पताल सार्वजनिक स्वास्थ्य संस्थाको दयनीय अवस्थाको अर्को उदाहरण बनेको छ । विराटनगरमा रहेको उक्त अस्पतालको हालत त्यहाँको शौचालयले प्रष्ट पार्ने बताइन्छ । उपचारको निम्ति अस्पताल पुगेका बिरामी शौचालयमा बेहोस् हुने डरले पहिल्यै डरउने गरेका छन् ।

लामो समयदेखि अस्पतालका शौचालयको अवस्था प्रयोग गर्न नसकिने छ । तर सम्बन्धित निकायले ध्यान नदिँदा बिरामी र तिनका कुरुवा मर्कामा पर्ने गरेका छन् । शौचालय पुग्ने बिरामी र तिनका कुरुवा उल्टै बिरामी हुने डरले दिसा पिसाब च्यापेर बस्ने गरेको बताउँछन् ।

विराटनगर ४ निवासी शिक्षक कृष्ण साउदले जनआस्थासँग भने, ‘श्रीमती बिरामी भएर कोशी अस्पताल लगेको थिएँ । शौचालय जाँदा आफंै पो बिरामी होइएला जस्तो लाग्यो । शौचालय लथालिङ्ग छ, फोहोर र दुर्गन्धले भित्र छिर्न सकिँदैन ।’

अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बिरामीको चापका कारण शौचालय फोहोर भएको बताए । उनले भने, ‘म काठमाडौँतिर छु । धेरै बिरामी आउँछन्, तत्काल समाधान गर्न सकिँदैन । यस्तै हो, अब नयाँ भवन बनेपछि समाधान होला ।’

सार्वजनिक स्वास्थ्य सेवाको दृष्टिकोणले कोशी अस्पताल मुलुककै एक सय ३० वर्ष पुरानो हो । अहिले बिरामीको उपचारसँगै अस्पताल भवन र शौचालयको पनि मर्मत सम्भार गर्नुपर्ने अवस्था बनेको छ ।

टिप्पणीहरू