भारतीयद्वारा ससुराली नजिकैकी महिलाको हत्या
गत आइतबार सुनका गरगहना लुट्नुअघि अर्घाखाँचीमा महिलाको हत्या गरेका सुशान्त सिंहको ससुराली नेपालमै रहेको खुलेको छ । शीतगंगा नगरपालिका–१० बस्ने ६० वर्षीया राधा थापाको स्थानीय जंगलमा आइतबार बिहान टाउकोमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती भारतीयको ससुराली पनि सोही वडामा रहेको देखिन आएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी मुकुन्द रिजालका अनुसार ससुराली हो भनिए पनि अझै उनको श्रीमतीको माइतीको पूरै विवरण र ठेगाना भने खुल्न बाँकी छ ।
राधाले लगाएका सुनका गरगहना लुट्न सिंहले आइतबार बिहान उनी दूध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहारबाट हत्या गरेको खुलेको थियो । इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको टोलीले घटनामा संलग्न सिंहलाई शीतगंगा नगरपालिका–११ मुन्द्रीबासस्थित जंगलमा लुकेको अवस्थामा पक्राउ गरेको गरेको हो । उनीविरुद्ध जिल्ला अदालत अर्घाखाँचीबाट सात दिन म्याद थपको अनुमति लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू