जाडो बढेपछि मध्य तराईका विद्यालय धमाधम बन्द

जाडो बढेपछि मध्य तराईका विद्यालय धमाधम बन्द

बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण चार दिनदेखि तराईको जनजीवन प्रभावित छ । चिसो अत्यधिक बढेपछि मधेश प्रदेशका धेरैजसो स्थानीय तहले धमाधम विद्यालय बन्द गरेका छन् । 

कलिला विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै स्थानीय तहले वर्षे र हिँउदे बिदाबाट कट्टा हुने गरी बिदा दिने निर्णय गरेका हुन् । महोत्तरीको मटिहानी नगरपालिकाले आजदेखि जाडो बिदा दिएको छ । 

नगरपालिकाले सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरुलाई आँउदो शुक्रबारसम्मका लागि बिदा दिएको हो । त्यस्तै, भंगहा नगरपालिकाले पनि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ । 

नगर क्षेत्रभित्रका विद्यालयहरु चार दिनका लागि बन्द रहने शिक्षा अधिकृत नरबहादुर पाख्रिनले जानकारी दिए । मनराशिसवा नगरपालिकाले पनि एक साताका लागि विद्यालय बन्द गरेको छ । जलेश्वर नगरपालिकाले हिजोदेखि जाडो बिदा दिएको छ । 

बढ्दो चिसोले विद्यार्थीको पठनपाठनमा असहज भएपछि नगरपालिकाले आउँदो मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

टिप्पणीहरू