‘र’ का नेपाल प्रमुख ढिलोगरी काठमाडौं फिर्ता
भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख हिजाे काठमाडौं फर्केका छन् । नेपाल स्टेशन प्रमुख राघव भट्नागर पुस १३ गते बिहान एयर इण्डियाको उडानबाट नेपालमा उत्पन्न अप्रत्यासित राजनीतिक घटनाक्रमपछि रिपोर्टिङका लागि नयाँ दिल्ली गएका थिए ।
उनी हिजाे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०६ मा नयाँदिल्लीबाट काठमाडौं आएर सोझै बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवास आसपास ग्यालेक्सी टीभीको अफिस छेउछाउ देखा परेका थिए । निगमको उक्त उडान दिउँसो १ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेलगत्तै उनी केही पत्रकार र पात्र भेट्न सोझै बालुवाटार गएका हुन् ।
‘र’ को चिफले रिपोर्टिङ गरेर फर्केपछि ल्याउने प्रतिक्रियाको निम्ति विशेषगरी नेपाली काँग्रेसका एकथरि र अमरेशकुमार सिंहजस्ता तराईका केही सांसद र नेता गत सातादेखि नै व्यग्र प्रतिक्षामा थिए । मुलुकमा अप्रत्यासित ढंगले उत्पन्न पछिल्लो राजनीतिक समीकरणलाई नयाँ ढंगले अघि बढाउन भट्नागरले केही न केही उपाय बोकेर आउने आशमा उनीहरु बसेको चर्चा चलिरहँदा भट्नागर आइतबार बेलुका सेड्युल सारेर आज बल्ल काठमाडौं आएका हुन् ।
टिप्पणीहरू