डलर साँट्न एकान्तमा बोलाउने,साँट्ने आउनेलाई ढुंगाले बजाउने ?
डलरको अवैधानिक सटहीका समाचार त नेपाली मिडियाका लागि नौलो होइन । तर,डलर साँट्न बोलाएर नक्कली कागज भिडाउने र डाङडुङ पारी भगाएर लुटपाट गर्ने गरेको नौलो प्रकारको घटना मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।
यसरी डलर साँट्न बोलाएर लुटपाट गर्ने गिरोहका ४ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे ३ का हरि भन्ने सोमबहादुर डुम्जन,सोही स्थानका दिवस डुम्जन, कान्छा भनिने शेरबहादुर तामाङ र त्रिपुरा गाउँपालिका ३ का देवा डुम्जनलाई पक्राउ गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका १७ स्थित सालक पार्कको एकान्तमा अमेरिकी डलर सस्तोमा साँट्नका लागि बोलाएर लुटपाट गर्ने तयारीमा रहेका चारै जनालाई मोटरसाइकल, डलर,नक्कली कागजपत्रसहित पक्राउ गरिएको छ । डिएसपी कार्कीका अनुसार पक्राउ परेकाहरुले रुमालमा पोको पारेर सस्तोमा डलर भन्दै नक्कली कागज दिने र कागज लिनासाथ घटनास्थलबाट भागिहाल्न आदेश दिने गरेका थिए । नमानेमा ढुंगाले हानेर लखेट्ने, प्रहरी आइसक्यो भागौँ भनेर आतंकित पार्ने कार्य उनीहरुले गरेको पाइएको छ ।
विशेष सूचनाका आधारमा पक्राउ परेका उनीहरुबाट १७४१ वटा अमेरिकी डलर, नेपाली नोट ६२१० सहित बा ५०प ९३७२, बा.प्र.०२–०१९ प ९६२६, बा.प्र. ०२–०३४ प ४२८७ नम्बरको ३ वटा मोटरसाइकल समेत बरामद गरिएको छ ।
टिप्पणीहरू