काठमाडौंपछि ललितपुरमा पनि लागु भयो ‘टाइम कार्ड’

काठमाडौंपछि ललितपुरमा पनि लागु भयो ‘टाइम कार्ड’

जिल्ला प्रशासन कार्यालय, ललितपुरले राष्ट्रिय परिचयपत्रमा ‘टाइम कार्ड’ लागु गरेको छ । प्रशासनले राष्ट्रिय परिचयपत्र विवरण दर्ताको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि टाइम कार्ड कार्यान्वयनमा ल्याएको हो । 

सेवाग्राहीको चाप र कार्यालयको जनशक्तिलाई मध्यनजर गर्दै टाइमकार्डसहितको टोकन प्रणाली लागु गरिएको प्रशासनका प्रशासकीय अधिकृत दीपेन्द्र पौडेलले बताए । आइतवारदेखि शुक्रवार बिहान कार्यालयको गेटमा टोकन वितरण गरिने उनको भनाइ छ । 

बिहान १० बजेदेखि ११ बजेसम्म नागरिकता रुजु हुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्रको काम शुरु हुने प्रशासनले बताएको छ । त्यस्तै, अशक्त,अपाङ्ग र ज्येष्ठ नागरिकहरु नागरिकता रुजु र बायोमेट्रिक लिनको लागि लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै,राष्ट्रिय परिचयपत्र विवरण दर्ता (ललितपुर जिल्ला,कर्णाली प्रदेश,सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशको सर्लाही,सप्तरी जिल्लाका नागरिकता प्रमाणपत्र भएका नागरिकहरु) को कार्य नियमित भइरहेको वारे प्रशासनले सुसूचित गराएको छ । 

यता,जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि सेवाग्राहीको सहजताका लागि टाइम कार्ड लागु गरेको छ ।

टिप्पणीहरू