ग्लोबल बैंकको जताततै स्वास्थ्य शिविर

ग्लोबल बैंकको जताततै स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान थाल्ने भएको छ । बैंकले महिला सशक्तिकरणको प्रयासस्वरुप देशव्यापीरुपमा अभियान गर्न लागेको हो । 

अभियानअन्तर्गत बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्दैछ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा (स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण) निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका पाँच जना गम्भीर बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका एक जनाको पहिचान गरिने छ । स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा उनीहरुको शल्यक्रिया गरी उपचार गरिने जनाइएको छ ।

नेपाल परिवार नियोजन संघसँगको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका÷नगरपालिकाको समन्वयमा सम्पन्न हुने उक्त कार्यक्रमअन्तर्गत इलाम नगरपालिका–१ साँखेजुङ्गस्थित वडा कार्यालयको प्राङ्गणमा र रौतहटको फतुवा विजयपुर नगरपालिका–७ स्थित रौतहट प्राथमिक उपचार केन्द्रमा पुस आज निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

त्यस्तै, दोलखाको कालिन्चोक गाउँपालिक–६ लापिलाङ्गस्थित पारच्याङ स्वास्थ चौकीमा पनि आज, बागलुङको निसिखोला गाउँपालिका–३ झिवाखोलास्थित बोहोरा गाउँ स्वास्थ चौकीमा पुस १६ गते, रोल्पाको रुन्टीगढी नगरपालिका होलेरीस्थित होलेरी प्राथमिक स्वास्थ केन्द्रमा आज, सुर्खेतको लेकबेसी नगरपालिका–६ कल्याणस्थित कल्याण स्वास्थ चौकीमा आगामी सोमबार र डोटीको जोरायाल नगरपालिका–५ खहडास्थित गडशेरा स्वास्थचौकीमा भोलि निःशुल्क शिविर राखिएको हो ।

ग्रामीण तथा अर्धशहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति स्वास्थ्य शिविर प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित भएका वा पहुँच नभएका दुर्गम स्थानमा यस किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा सञ्चालन गर्दै आएको यस्ता स्वास्थ्य शिविरहरुबाट विशेषतः ग्रामीण भेगका महिला तथा आमनागरिक प्रत्यक्षरुपमा लाभान्वित हुँदै आएका छन् ।

टिप्पणीहरू