गोकर्णेश्वरका बासिन्दालाई अर्थोपेडिक अस्पतालमा छुट

गोकर्णेश्वरका बासिन्दालाई अर्थोपेडिक अस्पतालमा छुट

काठमाडौंको गोकर्णेश्वर नगरपालिका र नेपाल अर्थोपेडिक अस्पतालबीच द्विपक्षीय सम्झौता भएको छ । स्वास्थ्य जाँच र उपचार गराउने सम्बन्धमा सम्झौता भएको हो । 

प्रथम चरणको सम्झौता आगामी वर्षको असोज मसान्तसम्म कायम रहनेछ । यसअनुसार नगरपालिका क्षेत्रभित्र स्थायी रुपमा बसोबास गरिरहेका ६५ वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिक बासिन्दाहरु भर्ना भई स्वास्थ्य उपचार गर्नुपरेमा नगरपालिकाले ज्येष्ठ नागरिक प्रमाणित गरी उपचारका लागि सिफारिससहित अस्पताल पठाउनुपर्नेछ । 

त्यस्तै,अस्पतालले शल्यक्रिया तथा बेड चार्ज (जनरल वार्ड) को कूल खर्चमा ३० प्रतिशत छुट प्रदान गर्नेछ ।  नगरपालिकाले शल्यक्रिया तथा बेड चार्जको कूल खर्चमा २० प्रतिशत शोधभर्ना अस्पताललाई उपलब्ध गराउने सहमति जनाएको छ । 

बाँकी रकम भने बिरामी स्वयमले व्यहोर्नुपर्ने छ । प्रतिव्यक्ति वार्षिक एक लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ । सोभन्दा बढी खर्च लागे बिरामी आफैंले तिर्नुपर्ने स्पष्ट पारिएको छ । त्यसैगरी ल्याब टेष्ट, इम्प्लान्ट र औषधीको शुल्क बिरामीले नै तिर्नुपर्ने जनाइएको छ । स्थायी बसोबास गर्ने प्रत्येक बिरामीलाई नगरपालिकाले अनिवार्य उपचारको लागि सिफारिस गरी पठाउनुपर्नेछ । 

बिरामीको खर्चको विवरण पेश गरेको एक महिनाभित्र नगरपालिकाले अस्पताललाई भुक्तानी दिनुपर्ने जनाइएको छ । पत्रमा भनिएको छ,‘सम्झौतामा भएको बुँदाहरु थपघट वा रद्ध गर्न सकिने छ ।’ साथै, आपसी सहमतिमा अवधि थप गर्न सकिने सहमति भएको छ । 

पत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख दिपककुमार रिसाल र प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् । त्यस्तै, अस्पतालका तर्फबाट अध्यक्ष साम्देन लामा र मेडिकल निर्देशक कैलाशकुमार भण्डारीको हस्ताक्षर छ ।

टिप्पणीहरू