भक्तपुरमा पनि टाइम कार्ड लागू

भक्तपुरमा पनि टाइम कार्ड लागू

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले आफ्ना सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न टाइम कार्ड लागू गरेको छ । प्रशासन कार्यालयले गत शुक्रबारदेखि टाइम कार्ड लागू गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेवाग्राहीको सहजताका लागि टाइम कार्ड लागू गरिएको बताइन् । उनले भनिन्,‘हामीले अहिले यसको प्रभावकारी कार्यान्वयनमा ल्याएका छौँ । अब प्रशासनले प्रवाह गर्ने सेवामा सेवाग्राहीको गुनासो नरहने गरी प्रत्येक सेवालाई मिनेटमा तोकेर सेवा प्रवाह गर्न थालेका हौँ ।’

सेवाग्राहीलाई प्रशासनले प्रदान गर्ने कुनै पनि सेवा लिन झन्झट नहोस्, छिटोछरितो रुपमा सेवा प्रदान गर्न सकियोस्, सेवाग्राहीले सहज र समयको बचत भएको महसुस गरुन् भन्ने उद्देश्यका साथ जिल्ला प्रशासनमा टाइम कार्ड लागू गरिएको उनको भनाइ छ ।

प्रशासनले नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई ४५ मिनेटभित्र नागरिकता उपलब्ध गराउने, संस्था नवीकरणका लागि ३० मिनेट, जनजाति, दलित, मधेशीलगायत सिफारिसका लागि १५ मिनेट, रहादानीको इनरोलमेन्टका लागि ३० मिनेट, राहदानी वितरणका लागि १५ मिनेट समयावधि तोकेको छ । 

यसैगरी, राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि ३० मिनेट, राष्ट्रिय परिचयपत्र वितरणका लागि १५ मिनेट, मुद्दा पेसी र तारिखका लागि १५ मिनेट, नाबालक प्रमाणपत्रका लागि ४५ मिनेट, पेन्सन सिफारिसका लागि १ घण्टा, हातहतियार नवीकरणका लागि ३० मिनेट र मुद्दा फैसला बढीमा ६० दिनभित्र गरी सक्ने गरी समय निर्धारण गरिएको छ । 

प्रमुख अधिकारी शर्माले सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएको र गुनासो आएमा तत्कालै सुनुवाइ गरिने पनि बताएकी छन् । उनले आवश्यक कागजपत्र पूरा नभएका सेवाग्राहीलाई आवश्यक कागजपत्र के के चाहिन्छ, जानकारी गराएर फर्काइने र कागजपत्र पूरा भएका सेवाग्राहीले तोकिएको समयभित्रै सेवा पाउने जानकारी गराइन् । 

त्यस्तै, अपांगता भएका, अशक्त, ज्येष्ठ नागरिक, दुधे बच्चा बोकेको महिलालगायतलाई टाइम कार्डभन्दा पनि प्राथमिकतामा राखेर पहिलो सेवा प्रवाह गरिने र कार्यालयमा आउन नसक्ने अशक्त, अपांगता भएका नागरिकका लागि प्रशासनले घरमै पुगेर प्रवाह गर्दै आएको अधिकारी शर्माले दाबी गरेकी छन् ।

टिप्पणीहरू