ठेकेदार कस्दै ललितपुर, काम नगर्नेमाथि धमाधम कारबाही

ठेकेदार कस्दै ललितपुर, काम नगर्नेमाथि धमाधम कारबाही

ललितपुर महानगरपालिकाले समयमै काम नगर्ने ठेकेदार कम्पनीमाथि धमाधम कारबाही गर्न थालेको छ । तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि निर्मम हुने नीति लिएको महानगरले कारबाही सुरु गरेको हो । 

महानगरले समयमा काम सम्पन्न नगर्ने एउटा ठेकेदार कम्पनीलाई सम्झौताबमोजिम क्षतिपूर्ति तिराएको छ । अर्को कम्पनीलाई जरिवाना तिराउने प्रक्रिया अघि बढाएको छ । महानगरका विभिन्न स्थानमा सडक कालोपत्रे गर्ने सम्झौता गरी पटक–पटक म्याद थप्दासमेत काम सम्पन्न नगरेको भन्दै महानगरले पि.एस.सुनकोशी जेभी ललितपुरलाई २३ लाख १३ हजार रुपैयाँ जरिवाना तिराएको जानकारी दिइएको छ ।

महानगरभित्रका विभिन्न स्थानका सडक कालोपत्रे गर्ने योजनाअन्तर्गत २०७७ जेष्ठ २७ गते बोलपत्र आह्वान गरिएको थियो । सोहीबमोजिम सुनकोशी जेभीले सडक कालोपत्रे गर्ने ठेक्का पाएको हो । तर, ठेक्का सम्झौताअनुरुप काम नगरेपछि सुनकोशी जेभीलाई सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) को नियम १२० बमोजिम कारबाही गरिएको महानगरले जनाएको छ ।  

त्यस्तै, बिरुवा कन्सट्रक्सन काठमाडौँले समेत महानगरसँग ठेक्का सम्झौता भएका सडक आयोजनाको काममा पटक–पटक सम्झौताका प्रावधानहरु उल्लंघन गरेकाले सम्झौताअनुसार कारबाही गर्ने महानगरको निर्णय छ । पुस २१ गतेदेखि लागू हुनेगरी उक्त कम्पनीलाई पूर्वनिर्धारित क्षतिपूर्ति भराउने महानगरले निर्णय गरेको हो ।

साथै, उक्त निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्ने कबुलियत गराइएको र कबुलियतअनुसार कार्य सम्पन्न नगरेमा सम्झौता रद्द गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने महानगरको चेतावनी छ ।

टिप्पणीहरू