रात परेपछि राजधानीका सडकमा तेस्रोलिंगीहरु झन् उग्र
राजधानीका केही सडक किनारा तथा चोकमा साँझ परेपछि देखिने तेस्रोलिंगीहरु रात परेपछि उग्र हुने गरेका छन् । सतहमा देखिने उनीहरुको आम्दानीको कुनै स्रोत नभए पनि रात परेपछि ‘इजि मनि’ को निम्ति उनीहरु रंगीविरंगी पोशाक र अचम्मको हाउभाउमा सडकमा आउने गरेका छन् ।ती तेस्रोलिंगीहरुबाट काठमाडौँका सडक, गल्लीमा दैनिक पिटाइ खानेको संख्या क्रमशः बढ्न थालेको छ । त्यसरी पिटाइ खाएकाको संख्या यकिन नभए पनि रगताम्मे भएर पिटाई खाँदासमेत सामाजिक मर्यादाको कारण पीडितहरु प्रहरीमा कमै पुग्ने बताइन्छ ।
काठमाडौँको रत्नपार्क, कोटेश्वरको आकाशे पुल, बालाजु बसपार्क, गौशाला, ठमेल, लाजिम्पाटलगायत दर्जनौँ चोकमा उनीहरु साँझ पर्ने बितिक्कै महिलाको पहिरन र हाउभाउमा सजिएर बस्ने गरेका छन् । मध्य जाडोमा समेत छोटा कपडा लगाउन गरेका उनीहरुलाई स्थानीयले ‘चरण’ को खोजीमा निस्किएको भनेर व्यंग्य गरेको सुनिन्छ ।उनीहरुले नजिकैबाट हिँड्ने वा सवारी साधनमा गइरहेका पुरुषलाई कामुक हाउभाउमा बोलाउने गर्छन्् । मोलमोलाईको कुरो उनीहरुले नै निकाल्ने एक जना भुक्तभोगीले बताए । उनीहरुको भाषामा ग्राहक भनिएका सर्वसाधारणले चित्त नबुझ्ने शव्द व्यक्त गरेपछि सोझै कुटपिटमा उत्रने गरेको उनी बताउँछन् । ती भुक्तभोगीले भने, ‘हाउभाउ देखेर मैले पनि यसो जिस्केँ । पछि भाउको कुरो गरेपछि मैले अस्वीकार गरेँ । त्यसपछि बालकुमारीमा डेरा जाँदै गरेका मलाई उनीहरुले केही महिनाअघि निर्घात कुटे ।’
उनीहरुसँग ठट्टा मात्रै गर्दा पनि सर्वसाधारणले पिटाइ खाने गरेको बताइन्छ । हिजो राति पौने ८ बजेको समयमा कोटेश्वरस्थित बालकुमारी पुलमा जनआस्था संवाददाताले त्यस्तै दृश्य देखेका थिए । तीन जना युुवाले एक जना तेस्रोलिंगीलाई जिस्काउँदा ठाउँको ठाउँ चड्कन खाएका हुन् । त्यसपछि उनीहरुबीच लफडा शुरु भयो । नजिकै रहेका समलिंगीहरुको हुल आएर ती युवालाई निर्घात कुटे । सोही क्रममा एक जना घाइतेको नजिकैको औषधि पसलमा सामान्य उपचार भएको थियो ।
सामान्यतयाः २५ देखि ३० वर्ष उमेरका तेस्रो समलिंगीहरु ग्राहकसँग कुरा मिल्दा भने नजिकैको गेष्ट हाउसमा जान्छन् । ग्राहकको प्यास मेटाइदिने बहानामा खल्ती रित्याइदिएको धेरैको गुनासो छ । केही महिनाअघि पनि उक्त पुलमा नेपाली सेनाका एक जनालाई सोही समूहले निर्घात कुटपिट गरेको थियो । कुनैबेला प्रहरीसँग सोझै जाइलाग्ने गरेका तेस्रोलिंगीहरु अहिले भने प्रहरी देखेपछि हच्किने गरेका छन् । प्रहरी नजिकै आएको सुइँको पाएपछि उनीहरु भाग्ने गरेको देखिन्छ ।
यसबारे काठमाडौँ प्रहरीका प्रवक्ता दिनेशराज मैनालीले यस्ता घटना नियन्त्रणका लागि स्थानीय नागरिकको सहयोग हुनुपर्ने बताए । प्रहरीको टोल फ्री नम्बरमा फोन गरेर जानकारी गराए ५ मीनेटभित्र काठमाडौँका जुनसुकै ठाउँमा प्रहरी टोली पुग्ने मैनालीको दाबी छ ।‘हरेक नागरिक बिना बर्दीका प्रहरी हुन् । सबैले सहयोग गर्नुपर्यो । हामीसम्म सूचना आइपुगे जतिबेला पनि घटनास्थल पुगेर गलत हर्कत नियन्त्रण गर्छौं’, प्रवक्ता मैनालीले भने ।
टिप्पणीहरू