झापाबाट जसले घनश्यामलाई पर्खंदै छन्

झापाबाट जसले घनश्यामलाई पर्खंदै छन्

झापामा एमाले पार्टीबाट निराश हुनेको संख्या बढ्दो छ । उनीहरू एमालेबाट विद्रोह गरेका घनश्याम भुषालको कदमलाई पर्खी बसेका छौँ भन्छन् । नेतृत्वप्रति चित्त दुखाउनेमा नरेश खरेल, पवित्रा निरौला, मनकुमार तामाङ, मनकुमार गौतम, रविन कोइराला, रोमणी भट्टराई, भद्रपुरका पूर्वमेयर जीवन श्रेष्ठ, शिवसताक्षी नगरपालिकाकीे पूर्वउपमेयर भोजकुमारी नेपाललगायत रहेको स्रोतको दाबी छ । उनीहरू भुषालले रोज्ने राजनीतिक पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका झापा आन्दोलनकालीन सहकर्मी नरेश खरेल निष्क्रिय अवस्थामा यतै छन् भने पवित्रा खरेल २ छोरी भेट्न अष्ट्रेलिया गएकी छन् । उनको हिँडडुल छैन । राजनीतिदेखि विरक्तिएका छन् । 

रविन कोइराला प्रदेश सभाको चुनाव हारेपछि चुपचाप बसेका छन् । उनलाई एमाले नेतृत्वले प्रदेशको सभामुख बनाउने भनेर प्रतिनिधिसभा सदस्यमा भएको १ नम्बरको सिफारिसलाई रोकेको थियो । त्यस्तै, प्रदेश कमिटी सदस्य रहेका हरिकुमार रानाले निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभाको टिकटका दावेदार रानालाई पन्छाएर देवराज घिमिरेलाई र ‘प्रदेश सभा २ ख’ चिन्तन पाठकलाई दिइएपछि विद्रोह गरे ।

उनले सो निर्णयविरुद्ध तत्कालीन सत्तारुढ गठबन्धनबाट हँसिया हथौडा चिह्न लिएर चुनावी मैदानमा ओर्लिई तेस्रो मत प्राप्त गरे भने दोस्रो मत खुकुरी चिह्न भएका स्वागत नेपालले ल्याए । राना पनि भुषालको कदमलाई पर्खेर बसेका छन् । महाधिवेशनपूर्व सो क्षेत्रको इञ्चार्ज रहेका रविन कोइरालालाई पछि सहइञ्चार्जमा झारिएको थियो ।

अग्नि खरेल र रविन कोइराला निर्वाचन हारेपछि एमालेभित्र निकै हल्लिखल्ली छ । दुवै जनालाई हराउन अध्यक्ष ओलीनिकटहरू नै अघोषित रूपमा लागेको बताइन्छ । खरेल चुपचापजस्तै देखिन्छन् । बिर्तामोडमा घर किनेर बसेका छन् । झापामा प्रष्ट ओली समर्थकका रूपमा देवराज घिमिरे, चिन्तन पाठक, नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्की र दीपक कार्कीको एक गुट देखिन्छ भने विपक्षमा रविन कोइराला र अग्नि खरेलको अर्को गुट क्रियाशील बन्दै गएको दाबी गरिएको छ । 

टिप्पणीहरू