यस्तो थियो दुर्घटनाअघि विमान र टावरबीचको सम्पर्क

यस्तो थियो दुर्घटनाअघि विमान र टावरबीचको सम्पर्क

काठमाडौंबाट पोखराको लागि उडेको यति एअरलाइन्सको एउटा विमान आज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको छ । एनवाईटी ६९१ कल साइन भएको ९एनएएनसी एटीआर ७२ जहाज काठमाडौंबाट १० बजेर ३२ मीनेटमा उडेको थियो ।

क्याप्टेन कमल केसीले उडाएको उक्त जहाजमा चार जना चालक दलका सदस्य र ६८ जना यात्रु थिए । जहाजको पोखरामा अनुमानित आगमन समय बिहान १० बजेर ५८ मीनेट थियो । 

पोखरा विमानस्थलका अनुसार जहाजका पाइलटले अवतरणअघि ६२ नटिकल माइल टाढा हुँदा आफू १२ हजार ५ सय फिटको उचाइमा रहेको जानकारी दिएका थिए । त्यसपछि ‘मान्का’ भन्ने स्थानबाट ६ हजार ५ सय फीटको लागि अनुमति दिइएको थियो ।

पोखरा विमानस्थलको टावरले जहाजलाई रनवेको ३० बाट अवतरण गर्न अनुमति दिएको बताइन्छ । विमानस्थलको १५ नटिकल माइल टाढाबाट जहाजले रनवे 12 को लागि अनुमति मागेको थियो,त्यतिबेला जहाज ६ हजार ५ सय फिट माथि रहेको जानकारी गराएको हो ।

अवतरण हुन ३ मीनेट बाँकी छँदा १० बजेर ५७ मीनेटमा अवतरण अनुमति दिइएको थियो । तर जहाजले अवतरण अनुमतिको ‘रिडब्याक’ अर्थात जवाफ नदिएको र फाइनल टर्नमा जहाजको अघिल्लो भाग जमिनतर्फ ठाडो हुँदै गएको देखिएको विमानस्थल स्रोतले बताएको छ । लगत्तै विमानस्थलको पश्चिमतर्फको 12नम्बर लेखिएको रनवेको पछाडि धुँवाको मुस्लो देखिएको थियो । त्यतिबेला पोखरा विमानस्थल वरिपरिको मौसमी विवरणअनुसार भिजिबिलिटी ७ किलोमीटर थियो ।

विमानसँग टावरको पहिलो सम्पर्क १० बजेर ३९ मीनेटमा र अन्तिम सम्पर्क १० बजेर ५७ मीनेटमा भएको बताइएको छ ।

टिप्पणीहरू