दुर्घटनाग्रस्त विमानका यात्रुको उद्धारमा सुरक्षाकर्मीहरुले लगाए ज्यानको बाजी

दुर्घटनाग्रस्त विमानका यात्रुको उद्धारमा सुरक्षाकर्मीहरुले लगाए ज्यानको बाजी

आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विमान दुर्घटनाका यात्रुको उद्धारमा सुरक्षाकर्मीहरु निकै साहसका साथ खटिएका छन् । नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै जना तत्काल घटनास्थल पुगेका थिए । 

सेती नदीको खोंचमा खसेको ६८ जना यात्रु र चार जना चालक दलका सदस्य सवार यती एअरलाइन्सको एटीआर विमानका प्रायः सबैको जलेर निधन भएको छ । त्यसमध्ये ३० जनाभन्दा बढीको शव नदीको खोंचबाट जोखिमपूर्ण अवस्थामा माथिल्लो भागमा ल्याइएको छ ।

सशस्त्र प्रहरी बल र नेपाली सेनाका केही जवान शरीरमा डोरी बाँधेर र भर्याङबाट एक सय फीटभन्दा तलको नदीमा पुगेका छन् । भीर र नदीको किनारमा पुगेका अधिकांश यात्रुलाई शरीर आगोले जलेको,कतिपयको अंगभंग भएको र विमानको भग्नावशेषमा च्यापिएको अवस्थामा पाइएको थियो ।

घटनास्थलमा सशस्त्र प्रहरी बलका दुइ सय २७ जनाको टोली खटिएको थियो । सशस्त्रको नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीका गणपति एसपी विजय केसीको कमाण्डमा १५० जना दुर्घटनालगत्तै त्यहाँ पुगेका थिए । त्यसपछि सशस्त्रकै नेपाल विपद तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामपाटनबाट निरीक्षक राजेशकुुमार सिंहको कमाण्डमा ६२ जना पनि पुगेको पाइयो ।

त्यसैगरी नेपाली सेनाको भगवती दल गण फूलबारीबाट प्रमुख सेनानी सञ्जयकुमार खत्रीको कमाण्डमा १९२ जना र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक अजय केसीको कमाण्डमा ३ सय जनाको टोली पनि लगत्तै घटनास्थल पुगेर उद्धार कार्यमा संलग्न भएको थियो । सशस्त्र प्रहरी बलको तर्फबाट बाहिनीपति नायव महानिरीक्षक शम्भु सुवेदीसमेत घटनास्थलको स्थलगत निरीक्षणसँगै प्रत्यक्ष खोज तथा उद्धार कार्यको कमाण्डमा संलग्न भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बलको तर्फबाट तीन जना गोताखोरसहित १५ जनाको विपद व्यवस्थापन तालिमप्राप्त टोली चितवनको कुरिनटारबाट थप मद्दतको निम्ति पोखरा पुगेको बताइएको छ ।
 

टिप्पणीहरू