वर्षमानलाई थप उपचारको निम्ति चीन लैजान नपर्ने

वर्षमानलाई थप उपचारको निम्ति चीन लैजान नपर्ने

गत साता गृह जिल्लामा बिरामी परेपछि हेलिकोप्टरवास उपचारको निम्ति राजधानी ल्याइएका माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’को अवस्था सामान्यउन्मुख छ । पारिवारिक स्रोतका अनुसार उहाँको पेटमा जमेको पानी हिजो निकालिएपछि थप स्वास्थ्यलाभ भएको छ । 

सिग्लार नाजार सिण्ड्रोम टाइप २ नामको दुर्लभ जण्डिसबाट पीडित पुनले यसअघि दुई पटक चीनमा गएर उपचार गर्नुभएको थियो । बैंककमा समेत निको नभएपछि उहाँ त्यसबेला चीन जानुभएको थियो । करोडौं मानिसमध्ये एकाधलाई हुने दुर्लभ जण्डिसबाट पुन लामो समयदेखि पीडित हुनुहुन्छ ।

‘यसपटक चीन लैजान पर्दैन होला,’ अस्पताल स्रोतको हवाला दिँदै परिवारका सदस्यले बताएका छन् । चीनको पीस एण्ड डेभलपमेन्ट फाउण्डेसनले प्रदान गरेको न्यानो कपडा वितरण गर्न पुन केही दिन अगाडि गृह जिल्ला जानुभएको थियो । सोही क्रममा उहाँ बिरामी परेपछि हेलिकोप्टरमा राजधानी ल्याइएको हो । 

जिल्ला जानुअघि स्वाथ्य परीक्षण गरिएको गर्दा पेटमा पानी भरिएको देखिएको थियो । तर रोल्पा पुगेको बेला पेटमा थप समस्या देखिएपछि तत्काल ल्याइएको हो । सोही क्रममा हिजो ललितपुरको सुमेरु सिटी अस्पतालमा पेटबाट 
पानी निकालिएको छ ।

तर रगतमा जण्डिस बढाउने बिलुरुविनको मात्रा नबढेकाले आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकहरुको भनाइ छ । बिलुरुविनको मात्रा बढेमा शरीरमा जण्डिस देखिन्छ । तर अहिले त्यस्तो कुनै संकेत नरहेको परिवार निकट एक जना नातेदारले बताए ।

टिप्पणीहरू